साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

८ पुस, साउदी अरब । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् ।
साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रु्प कम्पनी (एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ ।
पीडित नेपालीहरूले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारी गराएको भएपनि दूतावासले सुनुवाइ नगरेको बताएका छन् । रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा नेपाली कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन् ।
उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरिएपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गर्नुभयो । दूतावासमा सम्र्पक गर्दा हप्ता दिनमा भइहाल्छ भन्छन्, तर हप्ता दिन भन्दाभन्दै महिनौँ बितिसक्यो, हाम्रो उद्धार हुन सकेको छैन–पीडित पौडेलले बताए ।
दूतावासले हामीलाई यहाँबाट स्वदेश फर्कने कानुनी व्यवस्था मात्र मिलाइदिए हुन्छ, सरसापट गरेर भएपनि टिकटको व्यवस्था बरु हामी आफैं गर्छौँ । पौडेलका अनुसार हालसम्म दूतावासको पहलमा तीन जना नेपालीलाई मात्र उद्धार गरी स्वदेश पठाइएको छ ।
बन्दी जीवन बिताइरहेका नेपालीको पीडाको विषयमा राससले डेढ महिनाअघि समाचार प्रकाशन तथा प्रशारण गरेपछि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा स्वयं उक्त कम्पनीमा पुगेर एक महिनाभित्रै उद्धार गर्ने आश्वासन दिएको भएपनि हालसम्म उद्धार हुन नसकेको पीडितको गुनासो छ ।
बन्धक बनाएर राखिएका पीडित नेपालीले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् । आवास अनुमतिपत्र अकमाको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । गैरकानुनी तबरबाट बसेका आप्रवासी कामदारलाई यहाँको प्रहरीले जुनसुकै बेला पक्राउ गरी सिधै जेल चलान गर्ने यहाँको नियम छ ।
काम गरेको तलबसमेत नदिएर लामो समयदेखि कम्पनीले यसरी बन्धक बनाएर राख्दा पनि दूतावासले उद्धार गर्न पहल नगरेको झापाका प्रेमबहादुर तामाङले दुःखेसो गर्नुभयो । तलब नपाएको पीडाभन्दा बन्धक भएर बस्नुपरेकामा बढी पीडित छौँ, तामाङले भने, “जसरी भएपनि हामीलाई घर फर्कने व्यवस्था मिलाई दिनुपर्यो ।
यता कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा दूतावासले पहल गरिरहेको भएपनि रोजगारदाता कम्पनीकै गलत नियतका कारण उद्धारमा ढिलाइ भएको बताए ।
बन्धक बनाइएका नेपाली कामदारको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौँ, कार्यवाहक राजदूत शर्माले भने, नेपाली कामदारको उद्धार र स्वदेश फिर्तीका लागि पटकपटक रोजगारदातासँग आग्रह गरेका हौँ । तर अब धेरै ढिलाई भइसकेकाले श्रम अदालत र यहाँको प्रहरी प्रशासनको सहयोगमा जतिसक्दो छिटो उद्धार गरिने शर्माले बताए । रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment