सरकारकै असहयोगले रसुवागढी–केरुङ नाका सडकको काममा ढिलाइ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ऊर्जा मन्त्रालयबाट ‘नो–अब्जेक्सन लेटर’ पाएका छैनौं : सेना

माघ ९, २०७२- छिटो निर्माण कार्य अघि बढाउन नेपाली सेनालाई जिम्मा दिइएको रसुवागढी–केरूङ नाका जोड्ने बेत्रावती–मैलुङ्ग–स्याफ्रुबेसी खण्ड विस्तार कार्यमा सरकारकै असहयोगका कारण काम अघि बढ्न सकेको छैन । कार्यस्थल र क्याम्प राख्ने स्थान उपलब्ध नहुँदा नेपाली सेनालाई जिम्मेवारी दिइएको उत्तरतर्फको रसुवागढी–केरूङ सिमा–नाका जोड्ने सडक खण्डको काममा ढिलाई भएको हो । पुस २७ बाट कामको थालनी भए पनि सरकारी पक्षबाट सेनालाई आवश्यक पर्ने कार्यस्थल र क्याम्प राख्ने ठाउँको ‘क्लियरेन्स’ (स्वीकृति) दिन ढिलाइ गर्दा निर्माण कार्यमा असर परेको हो ।
सेनाले आवश्यक कागज पत्र नहुँदा नयाँ ट्रयाक खोल्नेका लागि क्याम्प राख्ने र पहिरो हटाउनसमेत पाएको छैन । सेनाले उर्जा मन्त्रालयसँग बेत्रावतीबाट मैलुङ्ग सडक खण्डको पहिरो हटाउन माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक कोरियन कम्पनीबाट आवश्यक ‘नो–अब्जेक्सन लेटर’ माग गरेको थियो । ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मासहितको टोलीले पुस २२ मा संसदको विकास समितिको बैंठकमा सडक विस्तारमा सहयोग गर्न छिटोभन्दा छिटो ‘नो–अब्जेक्सन लेटर’ उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो
बैंठकपछि समितिले सरकारलाई गल्छी–बेत्रावती–मैलुङ्ग–स्याफ्रुवेशीदेखि रसुवागढी नाकासम्मको सडक निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएको थियो । समितिले उक्त सडक खण्ड निर्माणलाई एउटा साधारण प्रोजेक्टको रूपमा नभई संकटकालिन सडक करिडोरको रूपमा घोषणा गरि एक द्वार प्रणाली अनुसार सम्पन्न गर्नु पर्ने भन्दै सरकारलाई त्यहि अनुसार काम अघि बढाउन निर्देशन दिएको थियो ।
नो–अब्जेक्सन लेटर हालसम्म नआईपुग्दा सेनालाई काम अघि बढाउन गाह्रो भएको सेनाका विकास निर्माण निर्देशानालयका निर्देशक तथा सहायक रथी उद्धव विष्टले बताए । ‘उताबाट पत्र नआई हामीले काम थाल्दा झमेला हुन्छ,’ सहायक रथी विष्टले भने,‘हामी पत्रको प्रतिक्षामा छौं ।’
विकास समितिका सभापति रविन्द्र अधिकारीले संसदको समितिबाट पटक–पटक निर्देशन दिंदा पनि काम अघि नबढेकामा रोष प्रकट गरे । उनले भने,‘अहिलेसम्म सेनालाई काम गर्न क्लियरेन्स नदिनु दु:ख लाग्दो कुरा हो ।’
मन्त्रिपरिषदले मंसिर १७ मा बेत्रावती–मैलुङ्ग–स्याफ्रुवेशी सडक निर्माण कार्य दुई वर्ष भित्रमा सक्ने समय अवधि दिदै सेनालाई निर्माणको  जिमेवारी दिएको थियो । लगतै सेनाले सरकारले निर्णय गरे पनि विभिन्न ऐन, कानुन र प्रक्रियाले गर्दा तोकिएको समयमा काम पूरा गर्न नसक्ने प्रष्ट पारेको थियो । लगतै तोकिएको समयमा कसरी निर्माण कार्य गर्न सकिन्छ भनेर पुस २२ मा  विकास समितिको बैंठक बस्यो । उक्त बैंठकमा उक्त सडक निर्माण गर्दा संमन्वय गर्नु पर्दा निकायहरूलाई पनि बोलाइएको थियो । तर बैंठकमा गरे अनुसारको प्रतिबद्धता सम्बन्धित निकायहरूले गरेका छैनन् । अर्थ मन्त्रालयबाट पहिरो चरणमा पहिरो घटाउन सेनाले माग गरेको ५ करोड रूपैंया हालसम्म निकासा भएको छैन ।
सेनाले पुष २७ बाट वेत्राबतीदेखि पहिरो सफा गर्ने कामको थालनी गरिसकेको छ । पहिरोसहित फ्रेस कटिङको कामलाई पनि सेनाले अघि बढाउन थालेको छ । तर नो–अब्जेक्सन लेटर नआइपुग्दा हाकुबेसीमा राख्ने भनिएको तेस्रो क्याप राख्न नसकिएको सहायक रथी विष्टले बताए । हालसम्म सेनाले वेत्रावतीबाट ७ किलो मिटर मैलुङ्गतर्फ सिमले भन्ने ठाँउबाट पहिरो सफा गर्ने काम सुरु भइसकेको छ । पहिरो खोल्दा विष्पोटक पदार्थको प्रयोगको गर्नु परेको सेनाले जनाएको छ । ‘कुनै ठाउँमा ३ सय मिटरमाथि बाट पहिरो आइरहेको छ । तलबाट हटायो भने माथिबाट फेरि आउँछ,’ उक्त सडक खण्ड निर्माणका प्राविधिक प्रमुख तथा सेनानी संजय केशीले भने,‘कतै तल्लो भाग नभएका कारण पर्खा लगाउनु पर्छ ।’
उनले मैलुङ्गसम्म पहिरो खोल्न डेढदेखि २ महिना लाग्ने बताए । मैलुङ्गबाट माथिसम्म पहिरो खोल्नु पर्ने साढे किलो ५ मिटर रहेको छ । ‘त्यसलाई करिब २ महिना लाग्छ,’ सेनानी केशीले भने । साढे ११ किलो मिटर पहिरोपछि घटाई एक लेनको बाटो तयार भएपछि सेनाले सडक विभागलाई हस्तान्तरण गर्ने छ । त्यसपछि सेनाले १० किलो मिटर नयाँ खण्ड सडक खन्ने छ । यो दुई लेनको हो । ६ किलो मिटर त्रिशुली नदीको दाँया पर्छ भने ४ किलो मिटर त्रिशुली नदीको वाँया भागमा पर्छ ।
स्याफ्रुबेसीबाट मैलुङ्गतर्फको आउँदातर्फ सेनाले ११ सय मिटर दोहोरो र ६ सय मिटर एउटा ट्रयाक खोलिसकेको छ । ‘सरकारी तर्फबाट आवश्यक सहयोग समयमै भए, सरकारले दिएको दुई वर्षको समय अवधिभन्दा अघि सक्ने छौं,’ सहायक रथी विष्टले भने,‘नत्र गाह्रो पर्छ ।’  समितिको बैंठकमा रक्षा मन्त्रालयका सचिव जयमुकुन्द खनालले सडक निर्माण गर्दा अन्य मन्त्रालयहरुसँगको समन्वयन गर्ने काम मन्त्रालयको तर्फबाट आफूले जिम्मेवारी लिने र सेनालाई काम गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनले तर्फबाट सोचे अनुसारको पहल भएको छैन ।
सेनाले कामलाई तीब्र गतिमा अघि बढाउन आफूसँग अभाव रहेको विष्पोटक पदार्थसहित इन्धनलाई व्यवस्था गरि विषम परिस्थितीमा काम गरिरहेको छ । माथिल्लो तामाकोशी, त्रिशुली ‘थ्री–ए’ लगायतका जलविद्युत आयोजनाबाट कोहिसँग किन्दै त कोहिबाट सापट लिएर काम गर्दै आइरहेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment