'त्याे ९ वर्ष, नराेएकाे दिन थिएन'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


विदेशबाट फर्किएर पुराना मित्रसँग भेट्दा, संगीतमा घोत्लिँदा कस्तो अनुभव हुन्छ ?
विवेक
‘आफ्नै गाउँ फर्की आएँ’, यो टाइटल नै प्रिय लाग्यो । संयोगले कर्ण र म यही वर्ष लामो समयपछि आयौं । विदेश जाँदा पोखरेली माटो, मन, सुवास बोकेर गएका थियौं । फेवातालमा पानीमात्र अलिकति बदलिएको रहेछ । आधारभूत कुराबाहेक पोखरा उस्तै रहेछ । फेवाताल ,माछापुच्छ«े उस्तै । हामीले जस्तो छोडेर गएका थियौं पोखरेली मन उस्तै रहेछ । पोखरामा जन्म्यौं हुक्र्यौं, गौरवान्वित छौं । पोखरेली माटोलाई नै लिएर सांगीतक जगतमा हिँडिरहेका छौं । आशा गरौं पोखरेली मनको हाम्रो सांगीतिक उपस्थिति फेरि दरिलो हुनेछ । कर्णलाई कस्तो लागिरहेछ ?
 
कर्णदास 
तिनै कुरा हुन् मेरा पनि । नौलो कुरा खासै छैनन् । यत्ति मात्र हो, हाम्रो घरआँगन सबैलाई थाहै छ । हामी सबैको कथा उस्तै हो । लगभग ७०/८० लाख नेपाली बाहिर छन् । अरुका जस्तै मेरा पनि बाआमा बुढा हुनुहुन्छ । जीवनमा धेरै आधारभूत कुरा चाहिन्छन् । त्यसैको टेवाका लागि म विदेश गएको थिएँ । पारिवारिक जिम्मेवारी छन् । जुन कारण हरेक नेपालीमा छ । त्यही कारणलाई उकास्न बाहिर गएको थिएँ । केही समय बसेर फर्किएको छु । अत्यन्तै खुशी छु, मानौं अफ्रिकाको जंगलमा हिँड्ने सिंहजस्तो । हात्तीको बथान घर फर्केजस्तो । हाँसो, रोदन बोकेर आएको छु । त्यही हात्ती, सिंहजस्तो भएको छु । जसले आफ्ना प्रियजन, आफन्तलाई भेट्न पाएको छ । आएपछि सबैको यति मिठो अँगालो पाएको छु । आएको तीन महिनामा कन्सर्ट पाएँ । विवेक, सुनिल, स्यामसुङलगायतका मित्रसँग भेट्दा यति मिठो आत्मियता पाएको छु ।
 
चल्दाचल्दैको, बिक्दाबिक्दैको गायक विदेश गइसकेपछि चैनले बस्न सक्यो होला त त्यो गायक ? विदेश गइसकेपछि के मिसिङ भयो ?
विवेक
मेरो केसमाचाहिँ प्रेमिकाले प्रेमीलाई उडाएको हो । विदेशीनुभन्दा करिब चार वर्षअगाडी गीत बनाएका थियौं, 'विदेशिनु रहेछ कर्मैमा' भन्ने । तर, विदेश जान्छु भन्ने कुनै योजना थिएन । विदेशको माटोलाई अपनत्व बनाएर बसेको, नेपालमा केही हुनेवला छैन भन्ने पारिवारिक पृष्ठभूमी भएको परिवारसँग साइनो गाँसिएको थियो । तर, त्यसमा कसैलाई दोष दिन्न । हामीले नेपाल बस्दा जुन प्रेम पाइरहेका थियौं, त्यो प्रेमको ब्याज धेरै बढिसकेको छ । सावाँसहित ब्याज फर्काउन नेपाल आएको छु । त्यही पुरानो लोकपप शैलीका गीत लिएर कन्दरा फेरि आउँछ । बाँकी दिनहरुमा त्यही माया, प्रेम, सद्भाव पाउँछौं होला । मेरो गीतमाजस्तै ‘विदेशीने कर्म’ पुरा गरेर आएको छु ।
 
संगीतप्रेमीप्रति एकखालको घात भयो होला नि ? घात गरेजस्तो लाग्छ कि लाग्दैन ?
कर्णदास
घातै त होइन । अप्रत्यक्ष्य घात हरेक नेपालीलाई भएको छ । गीतबाटै हो मैले मनको कुरा पोख्ने । म त एक पात्र न परेँ ! साथीहरु पनि यस्ता परे जसले देशको विषम परिस्थितिमा गीत लेख्नुभयो । ‘बिस्तारै छायो आँखामा मेरो आवाज मधुरो’ । अभावैअभाव, अप्ठ्यारैअप्ठ्यारोको बेला थियो त्यो । मैले कसैलाई लाञ्च्छना लगाउन खोजेको होइन । सानो परिवारको एक्लो छोरो हूँ । अभावले होइन, आफ्नै सोचले मलाई पिरोलेको हो । लेखिएका अक्षरहरु, गाइएका गीतहरुको कुनै अर्थ भएन यहाँ । ‘ठूलाठूला महल होइन गाएँ’ ‘परदेशबाट छोरो फर्केन’ गाएँ । तर, मेरै गीतले मलाई हान्यो ।
 
यो अप्रत्यक्ष हनाई आजसम्म पनि हरेक नेपालीमा छ । आज अरबमा कत्राकत्रा दुर्घटना सुन्दा पनि नेपालीहरुमा अरब जानुपर्ने बाध्यता छ । इराकमा १२ नेपाली मार्दा पनि नेपाली गइरहेका छन् । म त भाग्यमानी छु, मलाई सम्मानित हिसाबले अमेरिका बोलाइयो । सम्मानित हिसाबले बसेँ । ५२ वटा देशमा सांगीतिक का मगर्न पाएँ । राम्रो÷नराम्रो काम पनि गरेँ । मलाई नेपाली स्रोताले यति माथिल्लो स्थानमा राखे कि जहाँ गए पनि माया पाएँ । म  जे थिएँ, त्योभन्दा बढी भएर आएको छु । केही सिकेर आएँ । नत्र त यति पनि बोल्न सक्थिन । म त भन्छु, पहाडमा हुर्केको हरेक गोठालो नेपाली जापान, अमेरिका जाओस् । त्यहाँबाट सिकेर आओस् । तर, उसको कलम, कला नरोकियोस् ।
 
विदेशिएपछि देशलाई सम्झेर कुनैबेला रोइयो ? पक्कै रोइयो नि ?
विवेक
आँशुहरु भनेको फगत सुखदुःखमा निस्कने संकेत मात्र हो होजस्तो लाग्छ । आँशुको रुवाईभन्दा हृदयको रुवाई गाह्रो हुन्छ । १२ वर्ष बाहिर बस्दा नौ वर्ष त सांगीतिक कर्मभन्दा बाहिरको काम थियो । त्यो बेला कुनै त्यस्तो दिन थिएन होला जुन दिन मेरो हृदय नरोएको होस् । तर, म मेरो कुण्ठित कुरा यहाँ ल्याउँदिन । सारांशमा भन्दा धेरै नै रोइएको छ । यो मन धेरै रोएको छ ।
पहिलोपटक रोएको कहाँ, कसरी ?
कर्णदास
म अलि कठोर खालको मान्छे परेँ, कुनै काम गर्दा सोचेरै गर्छु । परदेश पनि सोचेरै गएको थिएँ । तर, कहिलेकाहिँ त्यस्ता घटना आउँछन् त्यसले मान्छे रुन्छ । म सानैदेखि आमासँग धेरै नजिक भएँ । आमालाई हस्पताल लगिएको भन्ने सुनेपछि त्यो दिन अति नै रोएको थिएँ । त्यो दिन गएको आठ नौ वर्षयताकै धेरै रोएको थिएँ । काम गर्दागर्दै रोएको थिएँ । त्यो एकदिन मेरो लागि पहाड नै थियो । त्योबाहेक अरु बेला रोइएको छैन ।
 
पोखरासँगको स्मृति 
विवेक
पोखराकै स्मृति त होइन तर, यो पोखरासँग जोडिएको स्मृति हो । हामी कन्दरा समुहका साथीहरु दार्जिलिङ कन्सर्टका लागि गएका थियौं । कार्यक्रम सकेर राती अबेर सुतेका थियौं तर, रातीराती कसले हो ढोका ढ्याकढ्याक ग¥यो । एकदिन ढोका खोलेर कन्दराको गितारिष्ट असिम शेरचनले किन भनेर सोध्नुभयो ? त्यो मान्छेले दाजु घुम्न जाउँ भन्यो । कुरा के रहेछ भने टाइगर हिलबाट बिहानै सुर्योदय, हिमाल, झरना हेर्न मानिस जाँदा रहेछन् । अनि हामीले भन्यौं ‘हामी त पोखराको मान्छे’ ।
कर्णदास
म अलि फरक तरिकाले हुर्कें । खासै डराउँदैनथें । तर, एकजनासँग मात्र डर लाग्थ्यो, बाबासँग । एकपटक बाबाको डरले तीन दिनसम्म घर छोडेर यही पोखरामा हिँडेको छु । तीन दिनसम्म बिनाघरको हुँदा पनि मलाई त्यतिबेला केही डर थिएन । तर, अब डर छ । बाघभालुले खाला भन्ने डर होइन, भोकप्यासको डर होइन । मान्छेको डर । अर्कैकिसिमको डर ।
 
अडियन्सबाट आएको प्रश्न–
विदेश जानु रहर कि बाध्यता, अन्तर्राष्ट्रियस्तरमा नेपाली संगीत पु¥याउन के गर्नुपर्ला, राष्ट्रनिर्माणमा संगीतकर्मीको भूमिका 
विवेक
नेपाली गीतसंगीत त्यति कमजोर छैन । कमी भनेको अन्तर्राष्ट्रियस्तरमा हाम्रा स्रोता छैनन् । यस विषयमा बोल्ने धेरै कुरा छ तर, समय कम छ, त्यसैले धेरै सकिँदैन । नेपाली लोकसंगीत विश्वका अन्य देशका संगतिभन्दा कम छैनन् । 
रहरले कोही पनि विदेश जाँदैन होला । यो सबै बाध्यता हो । 
भूकम्प गएको दुईतीन दिनपछि नेपाल आएर काम ग¥यौं । त्यो बेला विदेश बस्ने नेपाली, कलाकार सबैले उल्लेख्य काम गरे । हामीले कन्दरा फाउण्डेसन स्थापना गरेका छौं । तपाईंहरुको सहयोगी हात रहन्छ भन्ने विश्वास छ । त्योबाहेक राष्ट्रनिर्माणका लागि कुनै पनि प्रोजेक्ट आउँछ भने हामी खुल्ला हृदयले सहयोग गर्छौं ।
अन्तराष्ट्रियस्तरको त कुरै छोडौं राष्ट्रियस्तरकै कुरा गरौं । तपाईंहरुले हाम्रा गीत कपि गरिदिनु भएन । जसरी किताब किनेर पढिन्छ त्यसरी नै सिडी किनेर सुनिदिनुुस् । यसो गर्नुभयो भने हामी कलाकार र प्राविधिक बाँच्न सक्छौं ।
 
कर्णदास
देश बन्न मुख्य चारवटा स्तम्भ बलियो हुन जरुरी छ । सामाजिक, राजनीतिक आर्थिक र धार्मिक । म त नाथे नागरिक मात्र हुँ । मनको भावना कापीमा लेख्छु, संगीत भर्छु, भावना पोख्छु । विवेकले मनोरञ्जन देला, मैले केही सन्देश दिउँला, भावुक बनाउँला । राष्ट्रनिर्माण त देश कसको हातमा छ त्यसले गर्नुपर्ला । सही मानिसलाई सिंहासन दिउँ । अनि अगाडी बढौं । 
म फर्किएर आएपछि फ्रिमा कन्सर्ट गरेँ । यही महिनामा एल्बम निकाल्दैछु ‘एउटा नयाँ आशा’ । तर दुःखद कुरा म कति म्युजिक कम्पनि धाएँ  कुनै पनि म्युजिक कम्पनि एल्बम निकाल्न राजी छैनन् । ‘सिडी बिक्दैन के रिटर्न दिने’ भनेर सोध्छन् । तर, म मेरा स्रोतालाई १० वर्षपछि उपहार दिँदैछु, आफ्नै खर्चले । म जान्दिन, यसपछि निस्केला ननिस्केला । म आफ्नो घरको पैसाले कति खर्च गरौं ? भिख माग्न खोजेको होइन, हाम्रो गीत तपाईंले किनेर सुनिदिनुभयो भने हामी बाँच्छौं । 
 
आर्थिक हिसाबले सिनेमा र संगीत कमजोर अवस्थामा छ । नेपालको मुलप्रवाहको संगीतमा संगीत, रचना, प्रकृतिका हिसाबले कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
विवेक
विदेश बसेपनि नेपाली संगीतबारे हामी अनभिज्ञ छैनौं । अहिलेको समयमा निस्केका गीतहरु आफ्नो ठाउँमा प्रभावशाली छन्, त्यो नकार्न सकिँदैन । संगीतमा पढेर आएका भाइबहिनी छन् । तर, के छ भने पपगीतमा कताकता बढी कोरियन र पश्चिमा प्रभाव पाइन्छ भने सुगम संगीतमा सुफी र कब्बालीको प्रभाव पाउँछौं । यतिबेला हामीलाई लोकशैली बोकेको, विशुद्ध आधुनिक, जतिबेला दीप श्रेष्ठ दाइले गाउनुहुन्थ्यो त्यस्ता गीतको खडेरी छ जस्तो लाग्छ । 
 
कर्णदास
म त आफूलाई आकाशबेली भन्छु किनकी म त गाउँदै सिक्दै आएको छु । तर, अहिले आवाजमा मात्र नभई संगीतका अन्य पक्षमासमेत तालिमप्राप्त संगीतकर्मी आउनुभएको छ । पहिले गायिकाहरु कम थिए, अहिले गायिका धेरै आएका छन् । शब्दमा पनि ‘वेटी’ शब्द आएका छन् । गजललाई शिव परियारले छुट्टै तरिकाले लैजाँदैछन् । धर्मेन्द्र, स्वरुपले धेरै राम्रो गरेका छन् । पशुपति शर्मा कति ट्यालेन्टट हुनुुहुँदो रैछ । लेख्ने, लय भर्ने, गाउने मात्र होइन राम्रो नाच्ने र सबैलाई नचाउन सक्ने । उहाँले गाउने लोकगीत रोमान्टिक छ तर, सन्देशमुलक छ । नेपाली संगीत साँच्चै माझिएर आएको छ । प्रविधिमा पनि नयाँनयाँ उपकरण आएका छन् । तर, आर्थिक रुपमा धेरै कमजोर छौं हामी ।
 
गीत र स्मृति
विवेक
सरुभक्त दाइसँग गीत माग्न जाँदा ठूलाे डायरी दिनुभयो । तर, दाइका गीत गह्रुंगा । कन्दराले सरल शब्दमा मात्र गीत बनाउँथ्यो । सरु दाइको डायरीबाट तीनवटा मात्र सरल शब्द भएको गीत पाइयो । गीत त बन्याे तर 'फाप्रेको डंगुर' भन्ने शब्द कमैलाई थाहा रहेछ । मिडियाका साथीहरुलाई पनि थाहा रहेनछ। 'फाप्रेको डंगुर'भनेकाे हिउँ पनि होइन असिना पनि होइन, बीचको । 
हिउँ त होइन फाप्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र
..........
त्यसैले त थोरैले नि धेरै दुख्छ प्रितिमा 
तिमीले अति ग¥यौ बिना मेरो स्विकृतिमा
आफू उस्तै लाग्छ, अरुको नजरमा, मैलिएछु 
कहीँ नअटाउनेगरी फैलिएछु   
म आफैं धमिलो कहाँ थिएँ र ?
पखाल्दा अरुलाई आफैं पो मैलिएछु 
सबैको मन राखुँभन्दा कहिले नअटाउनेगरी फैलिएछु 
हुन त दोषै नभाको को छ र यो धर्तीमा ?
 
कर्णदास
एउटा सानो भाइ विवेक मल्ल । यति राम्रो लेख्नुभएको छ उहाँले । नेपालगञ्जमा भेट्ने मौका पाएँ । जब यो गीतको भिडियो बन्छ, त्यो भाइलाई पनि देख्न सक्नुहुन्छ । भाइले मेरै लागि भनेर दिएको शब्दको गीत 
हँ ....हो .... आफ्नो लागि होइन, देशको लागि बाँचेर त हेर 
मुटुभरी नेपालको माया साँचेर त हेर 
अनि बल्ल बन्छ अटल बनि बल्ल बन्छ समृद्ध 
नेपाल तिम्रो मेरो हाम्रो नेपाल
पुर्खाले जोडेर चुँडेको माला गाँसेर त हेर 
 
(पोखरामा शुक्रबारदेखि चलिरहेको ‘नेपाल लिटरेचर फेष्टिभल’ को दोस्रो दिन ‘आफ्नै गाउँ फर्की आएँ’ शिर्षकमा मध्यान्ह ब्याण्डका कर्णदास र कन्दरा ब्याण्डका विवेक श्रेष्ठसँग गरिएको छलफलको सम्पादित अंश । छलफलमा पत्रकार नारायण अमृत सहजकर्ता बनेका थिए ।) 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment