अहिलेका नायिकालाई रिप्लेस गर्न सक्छु: वर्षा सिवाकोटी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ममा लुक्स र अभिनय छ, कसैले घमण्डी भन्छ भने भनोस्
वर्षा सिवाकोटी

‘नाइँ नभन्नु ल’ को सिक्वेलमा काम गर्ने आशा छ । छोटो भूमिका भए पनि मैले ‘नाइँ नभन्नु ल- २’ बाट राम्रै चर्चा पाएँ । कथाअनुसारको भूमिका नभएकाले पनि होला, यसपछिका दुई सिक्वेलमा मलाई अफर आएन ।
यसको आगामी सिक्वेलमा निर्देशक विकास आचार्यले मलाई सम्झनुहुन्छ भन्ने आशा छ । मलाई ‘नाइँ नभन्नु ल- २’ मा जसरी देखाइएको थियो, ३ मा आश्माको ठाउँमा म भएको भए अझ दर्शकलाई मेरो भूमिका अधुरो लाग्न सक्थ्यो ।

भिडियोमा गुटबन्दी धेरै
मैले अहिले म्युजिक भिडियोमा काम गर्न कम गरेकी हुँ । यसको पछाडि धेरै कारण छन् । मुख्यतः पढाइलाई पनि अगाडि बढाउनुपर्ने मेरो बाध्यता छ । मलाई ठूलो पर्दामा काम गर्न मन छ । कुन क्षेत्रमा काम गर्ने भन्ने कलाकारको स्वतन्त्रताको कुरा हो नि । चलचित्र रिलिजको समयमा जस्तो हाइट म्युजिक भिडियोमा पाइँदैन । कतिपय भिडियो त आएको र गएको नै पत्तो हुँदैन । भिडियोमा काम गर्दा खासै नोटिस नहुने रहेछ, म भिडियोमा नै आउँछु भनेर आएकी पनि होइन ।
म्युजिक भिडियोमा काम गर्दा ‘राम्राभन्दा हाम्रा मान्छे’मा फोकस गरिएको मलाई अनुभव भयो । कसले राम्रो काम गर्छ भनेर उहाँहरुले नसोचेको मैले पाएँ । एउटा कलाकारले चलचित्रमा धेरै खालका भूमिका गर्न पाउँछ । तर, म्युजिक भिडियोमा यस्तो नहुँदो रहेछ । भिडियोमा त जति धेरैमा काम गर्‍यो, त्यति नै हिट भन्ने सोच राख्ने मानिस हाबी रहेको मैले पाएँ ।
भिडियोमा राम्राभन्दा हाम्रा मान्छे हाबी भएको पाउँछु म, यसैले भिडियोको बजार बढे पनि गुणस्तर खस्किएको छ । कुनै कलाकारले स्टारको स्टाटस देखायो भने, उसले काम नै नपाउने रहेछ । धेरै भिडियोमा त फिट नहुने मान्छे नै राखेको पाएकी छु मैले ।

भिडियोले फेस भ्यालु घटाउँछ

अब म पनि यो सोचमा पुगेकी छु कि, भिडियो धेरै गर्दा फेस भ्यालु घट्छ । यहाँ धेरै नायक-नायिका टीभीमा बढी देखिँदा चल्न सकेका छैनन् । कलाकार भएपछि स्टारडम मेन्टेन गर्नुपर्छ, आफ्नो फेस भ्यालु घटाउनु हुँदैन । बाहिर पनि जता पायो त्यता गएर बस्नु हुँदैन, दर्शकका लागि सधैँ कौतुहलतामा रहनुपर्छ भन्ने ठान्छु म । यसैले पनि अब म केही चुजी भएकी हुँ । सेलेक्सन गरेर काम नगर्ने हो भने त्यसले करिअरमा नै घाटा लाग्छ ।

मलाई घमण्डी भन्छन्
कुनै पनि क्षेत्रमा कस्तो व्यवहार देखाउने भन्ने कुरा आफूमा भरपर्छ । चलचित्र, भिडियोमा काम गर्दा मलाई अहिलेसम्म नकारात्मक प्रपोज आएको छैन । यो त आफूले कस्तो व्यवहार देखाइन्छ, त्यसले फरक पार्ने कुरा हो । किनकि, मानिसलाई आफू माथि खेल्ने ठाउँ दिनु हुँदैन भन्ने ठान्छु म । म कम खुल्ने भएकाले पनि होला, धेरैले घमण्डी भन्छन् । म फाल्तु गफ गरेर पनि बस्दिनँ । मेरो यो बानी नै हो, कसैले घमण्डी भन्छ भने मेरो भन्नु केही छैन ।
सायद, यस्तै कुरामा चित्त नबुझेकाले पनि मैले कम भिडियो खेल्ने सोच बनाएकी हुँ । यहाँ नयाँ र पुराना सबैलाई एउटै खालको व्यवहार गरिन्छ, यो राम्रो होइन ।

दुई वर्षमा मान्छे चिन्ने मौका पाएँ
जीवनका केही गल्तीमा मैले प्रेम गरेर पनि गल्ती गरेँ । अहिले सम्झदा त्यो गल्ती थियो भन्ने लागेको छ । करिब दुई वर्षमा मैले मान्छे चिन्ने मौका पाएकी छु । मानिसको दुःख देख्नेबित्तिकै मलाई माया लागेर आउँछ । यही कारणले पनि केही गल्ती जीवनमा भएका छन्, तर म पश्चाताप गर्दिनँ । किनकि, आफूले जे सोचेको हो, त्योभन्दा फरक पाउँदा दुःख त लाग्छ । तर, मान्छे चिन्ने मौका पाएकोमा खुसी पनि ।

नकारात्मक कुरालाई सुन्नै छाडेँ
कलाकार भइसकेपछि नकारात्मक र सकारात्मक दुवै टिप्पणी हुन्छन् नै । तर, नकारात्मक कुरालाई मैले इग्नोर गर्न थालेकी छु । जति धेरै रियाक्सन गर्‍यो, त्यति नै त्यो कुरा तन्कने रहेछ । मेराबारे जसले नकारात्मक कुरा गरेका थिए, ती अहिले मसँग काम गर्न थालेका छन् । कसैले मेरो चरित्रमाथि नै प्रश्न उठायो भने, किन यस्तो कुरा आयो भनेर बुझ्ने कोसिस त गर्छु । अब जसले जे भने पनि आफू 
सही मार्गमा हिँड्नुपर्छ भन्ने लाग्न थालेको छ ।

स्टार बन्ने सोच पलाएको छ
कता-कता ममा स्टार बन्नुपर्छ भन्ने सोच आउन थालेको छ । म आफ्नो प्रतिभामा विश्वास गर्छु । त्यसैले मलाई विश्वास छ, म आफ्नो सोचमा सफल हुन्छु । अहिले फेरि स्टारडमभन्दा पनि राम्रो कथामा चलचित्र चल्छ भन्ने देखिएको छ । म यस्तै खालका चलचित्र गर्छु भन्ने सोचाइमा छु । म, सोपिस भएर कुनै चलचित्र त गर्दै गर्दिनँ । मलाई अभिनयका आधारमा हिट हुनु छ न कि गसिप र चर्चाले ।
अन्य कलाकारको काम हेरेर मलाई कुनै डाह छैन । किनकि, म कुनै नायक र नायिकासँग नजिक नै छैन । मलाई कुनै चलचित्रको प्रिमियरमा कुनै नायिकाको साथी भएर जानु पनि छैन । मैले राम्रो काम गर्छु भने त खोजी-खोजी आउने पनि हुन्छन् । म रिजर्भ खालकी युवती हुँ, मलाई उत्ताउलोपनमा विश्वास छैन । यहाँ मैले धेरै भेेटेकी छु, जसको स्वभाव देखावटी छ । यस्ता, फेक मानिसका कारण पनि म साथी बनाउने कुरामा सुरक्षित महसुस गर्दिनँ ।

ममा अहिलेका नायिकालाई रिप्लेस गर्ने खुबी छ
मलाई थाहा छ, नायिकाको करिअर त्यति लामो हुँदैन । यसैले एकले अर्कोलाई विस्थापित गरेका हुन्छन् । म पनि सकारात्मक तरिकाले अहिलेका नायिकालाई रिप्लेस गरेर त्यो स्थानमा बस्न सक्छु भन्ने ठान्छु । ममा विस्थापित गर्ने खुबी र चाहना दुवै छ, तर सकारात्मक अर्थमा । मेरो लुक्स र अभिनयले मलाई यो आत्मविश्वास बढाइदिएको छ ।

गुटबाट टाढा बस्छु
चलचित्र क्षेत्रमा पनि गुटबन्दी हुने गर्छ । यसैले पनि मैले कम साथी बनाएकी हुँ । जसले गु्रपिज्ममा बस्नुपर्छ बन्ने सोच्छ, उसले सम्झौता गर्ने हो । कसैले राम्रो चलचित्र बनाउँछ भन्दैमा त्यसकै पछाडि दौडनुपर्ने, त्योसँग बस्नु नै पर्ने, उसैसँग घुम्नैपर्छ भन्ने छैन । राम्रो तरिकाले व्यवहार गर्न सकिन्छ । गु्रपिज्मलाई महत्त्व दिने काम मबाट हुन्न ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment