पासपोर्ट फारम अब घरमै बसेर अनलाइनबाट भर्न पाइने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

कहाँ पुग्यो ई–पासपोर्टको तयारी ?

नयाँ पासपोर्ट (एमआरपी) बनाउनका लागि अब सर्वसाधारणले घरमै बसेर आफैले अनलाइनबाट फारम भर्न पाउने भएका छन्।
 
राहदानी व्यवस्था विभागले केही हप्तामै आफ्नो वेबसाइटमा सर्वसाधारणले भर्न सक्नेगरी फारम उपलव्ध गराउने तयारी गरिरहेको छ। वेबसाइटमा उपलव्ध हुने फारम डाउनलोड गरी विवरणहरु भरेर इन्टरनेटबाटै सर्वसाधारणले पठाउन सक्नेछन्। 
 
यो व्यवस्था लागू भइसकेपछि आफ्नो विवरण अरुलाई भनेर फारम भर्नुपर्ने र त्यसबापतको शुल्क तिर्नुपर्ने अहिलेको बाध्यात्मक अवस्था अन्त्य हुनेछ। राहदानी व्यवस्था विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार फारम भर्न र दर्तालाई व्यवस्थित एवं. सहज गर्ने उद्देश्यले विभागले यस्तो तयारी थालेको हो। 
 
केही हप्तामै सर्वसाधारणले घरमै बसेर अनलाइनमार्फत पासपोर्टका लागि फारम भर्न सक्नेगरी अहिले गृहकार्य भइरहेको उनले बताए। ‘प्राविधिक रुपमा हामी सक्षम छौँ तर आवेदकलाई सुविधा हुनेगरी र फारमको दुरुपयोग नहुनेगरी अघि बढाउने तयारीमा छौँ’ सेतोपाटीसितको कुराकानीमा थापाले भने। 
 
उनका अनुसार भरेको फारम स्वीकृत भइसकेपछि एउटा ‘भर्पाई’ प्राप्त हुन्छ। जसमा विशेष कोड नं. र दर्ताका लागि समयावधि समेत छुट्याइएको हुन्छ। तोकिएको समयमा ‘लाइभ इनरोलमेन्ट सिस्टम’ मार्फत फोटो, हस्ताक्षर र औंठाछाप उपलव्ध गराएपछि फारमको दर्ता प्रक्रिया पुरा हुनेछ। यसका लागि आवेदकले भरेको फारमको विशेष कोड नं. भएको भर्पाई लिएर दर्ताका लागि तोकिएको समयमा दर्ता केन्द्रहरुमा पुग्नुपर्नेछ। 
 
महानिर्देशक थापाका अनुसार अनलाइनबाट फारम भरेपछि भर्पाईमा प्राप्त हुने समयमा आवेदक केन्द्रमा गई दर्ता गर्नुपर्ने छ। ‘एउटै समयमा केन्द्रमा भीड नहोस् र सहज रुपमा काम गर्न सकियोस् भन्ने उद्देश्यले यसरी अघि बढ्न लागिएको हो’ उनले भने। 
 
अहिले कुनै दिन दर्ता केन्द्रमा अत्याधिक भीड हुने गरेको र कुनै दिन कर्मचारी फुर्सदिला हुने गरेका छन्। यसमा एकरुपता ल्याउनका लागि पनि अनलाइनको फारम उपयुक्त हुने विभागको ठम्याई छ।   
 
यसअघि विभागले केही सातादेखि ‘लाइभ इनरोलमेन्ट सिस्टम’ अर्थात प्रत्येक्ष दर्ता प्रणाली विधि अवलम्वन गर्दै आएको छ। यस विधिअनुसार आवेदकले छुट्टै फोटो खिचाउनुपर्ने र औंठाछापका लागि औंलाई मसीमा चोब्नुपर्ने अवस्था अन्त्य भएको छ। यद्यपी कतिपय केन्द्रहरुमा भने साधारण र प्रत्येक्ष दुवै प्रणाली लागू गरिएको छ।  प्रत्येक्ष दर्ता प्रणालीमा एकै पटक भीड नहोस् भन्ने उद्देश्यले दुवै प्रणाली अवलम्वन भइरहेको थापाले बताए।  केही हप्तापछि पूर्ण रुपमा प्रत्येक्ष दर्ता प्रणाली मात्रै अवलम्वन हुने उनको भनाई छ। 
 
 
कहाँ पुग्यो ई– पासपोर्टको तयारी ?
विभागले अहिले ई पासपोर्टको तयारी पनि गरिरहेको छ। २ वर्षभित्रै ई– पासपोर्टमा जानेगरी गृहकार्य भइरहेको थापाले बताए। अहिले विभिन्न देशहरुमा अवलम्वन गरिएको ई–पासपोर्टको नमुनाहरु अध्ययन भइरहेको र अध्ययनपछि उपयुक्त नमुना छनौट गरेर ग्लोबल टेण्डर आह्वान गरिने उनले बताए।
 

‘लागत, सर्वसाधारणको क्षमता, सुरक्षा, टिकाउपन आदि कुराहरु अध्ययन गरिरहेका छौँ’ खल्तीमा रहेका केही नमुना पासपोर्टहरु देखाउँदै उनले भने ‘यी नमुनाका सम्वन्धमा मन्त्रालयसँग छलफल चलिरहेको छ ।’ 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment