को–को हुन् बाबुरामका ३५ सारथी ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १०, २०७२- एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘नयाँ शक्ति, नेपाल’को अन्तरिम केन्द्रीय परिषद् सार्वजनिक गरेका छन् । भट्टराईको नयाँ शक्ति, नेपालको अन्तरिम केन्द्रीय परिषदमा विभिन्न दल आबद्ध नेताहरु, पूर्वप्रशासक, अवकाशप्राप्त सुरक्षा निकायका पूर्वअधिकारी, कलाकारलगायत छन् । उनले परित्याग गरेको एमाओवादीबाट भने दुई जनामात्रै परेका छन् ।

सुरुमै पूर्वमाओवादीबाट धेरै सहभागिता गराउँदा नराकात्मक सन्देश जाने भन्दै नयाँ शक्तिमा प्रतिनिधित्वमात्रै गराइएको छ । भट्टराईले केन्द्रीय समिति २६५ सदस्यीय बनाइने जानकारी दिए । ‘नयाँ संघीय संरचना मोटामोटी २६५ हुने भनिएको छ,’ उनले काठमाडौंमा आइतबार पत्रकार सम्मेलनमा भने, ‘हाम्रो पार्टीको केन्द्रीय नेतृत्व पनि सोहीअनुसार बनाइनेछ ।’

भट्टराईले केन्द्रीय परिषदका अन्य नामहरु क्रमश: सार्वजनिक गर्दै जाने जानकारी दिए । उनले पहिलो चरणको प्रचारात्मक अभियानपछि पार्टी निर्माण चरण सुरु भएको उल्लेख गरे । ‘अन्तरिम परिषदले पार्टीका दस्तावेजहरु तयार गर्नेछ,’ उनको भनाइ थियो, ‘निश्चत अवधिभित्र बृहत् राष्ट्रिय भेला आयोजना गरी सम्मेलन/महाधिवेशन तयारी समिति निर्माण गर्नेछ ।’

काठमाडौंमा नयाँ शक्तिका नयाँ अनुहार चिनाउन गरिएको पत्रकार सम्मेलनमा पाँच जना उपस्थित थिएनन् ।

नयाँ शक्तिमा पूर्व सचिवहरु रामेश्वर खनाल, डा. प्रविण मिश्र, हरेराम कोइराला र नत्थुप्रसाद चौधरी छन् । चारैजना भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री भएकाबेला उनीसँगै काम गरेका पूर्वप्रशासक हुन् ।
भट्टराई अर्थमन्त्री हुँदा खनाल अर्थसचिव थिए भने प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार भएका थिए । खनाल कांग्रेसको समानुपातिकतर्फ सभासद सूचीमा भए पनि अन्तिममा परेनन् । कांग्रेस सरकारले उनलाई राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्यक्ष बनाएको थियो ।

मिश्र पूर्व स्वास्थ्य सचिव, कोइराला पूर्व ऊर्जा सचिव र चौधरी पूर्व कृषि सचिव हुन् । औषधि खरिद प्रकरणमा मुछिएका मिश्रलाई अख्तियारले सचेत गराएको थियो । कोइराला उर्जा सचिव तथा विद्युत् प्राधिकरण संचालक समितिको अध्यक्ष हुँदा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री एको क्षमता ६० बाट ९० मेगावाट पुर्‍याउने विवादस्पद निर्णय गरिएको थियो । विरोधपछि निर्णय फिर्ता भएको थियो । यो निर्णयको चर्को निर्णय गर्नेमा रामेश्वर खनाल पनि थिए ।

नयाँ शक्तिमा पूर्वप्रहरी अधिकारीहरु गणेशराज राई, ऋषवदेव भट्टराई र नारायण पाण्डे छन् । राईले आफ्नो कार्यकालमा सुरु गरेको मापसे अभियान र काठमाडौंको सडक चौडा बनाउने काममा भट्टराईको साथ सहयोगले आफू प्रभावित भएको बताए । तर, राईमाथि नगदी रसिद, टाइम कार्ड, प्रदूषण स्टिकर जथाभावी छपाइ तथा वितरण गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । एआईजीबाट उनी गत माघ ३ गतेमात्रै रिटायर्ड भएका थिए ।

भट्टराईमाथि भने लेबनानमा शान्ति सेनामा छँदा प्यालेस्टिनीलाई गोली बेचेको आरोप लागेको थियो । रिटायर्ड भएपछि उनी चितवनमै बसेका छन् । तत्कालीन भट्टराई सरकारले नै उनलाई सशस्त्रको एआईजी बनाएको थियो ।

नयाँ शक्तिमा तीन फिल्म कलाकार पनि छन् । अभिनेता सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर तथा निर्माता, वितरक तथा कलाकार अशोक शर्मा पनि छन् । खनाल लामो समय अमेरिका बसेर फर्किएका हुन् भने मानन्धर नेपाली फिल्म क्षेत्रमा लामो समय टिकेकी अभिनेत्री हुन् । उनी पनि केही समय अमेरिका भासिएकी थिइन् । उनीहरु यसअघि कुनै पनि दलमा देखिएनन् । शर्मा भने पञ्चायतकालमा पञ्चायतमा र पछि माले, एमाले र एमाओवादीसँग नजिक थिए । उनले भने आफू भट्टराईसँग ०४६ सालदेखि नै निकट रहेको बताए ।

भट्टराईको नयाँ शक्तिमा सामाजिक लोकतान्त्रिक पार्टी विलय भएको छ । त्यस पार्टीबाट डा. चैतन्य सुब्बा, दलमर्दन कामी, पासाङ शेर्पा, विसन राई, टिका गौचनलगायत अन्तरिम केन्द्रीय परिषदमा सहभागी छन् ।

शेर्पाले पार्टीको पूरै केन्द्रीय समिति र ३७ जिल्ला कार्य समिति मिसिएको जानकारी दिए । ताप्लेजुङका सुब्बा यसअघि राष्ट्रिय योजना आयोगमा काम गरेका हुन् भने शेर्पा पहिलो संविधानसभामा एमालेका सभासद् थिए ।

पहिलो संविधानसभाका सभासद् रहेका नेपा: राष्ट्रिय पार्टीका डा. केशवमान शाक्य पनि नयाँ शक्तिमा आएका छन् । शाक्य भट्टराई सरकारमा विज्ञान तथा प्रविधि मन्त्री भएका थिए । उनले पार्टी छोडेको विलय गरेको नभनी ‘नेपा: राष्ट्रिय पार्टीले मलाई नयाँ शक्तिमा आबद्ध हुन पठाएको छ’ भने ।
नयाँ शक्तिमा पहिलो संविधानसभामा नेकपा मालेबाट सभासद् भएका तथा हाल नेपाल कम्युनिष्ट पार्टीका महासचिव रहेका तिलक थापामगर पनि सहभागी छन् ।

इटहरीमा लामो समय अभियान नेपाल नामक एनजीओ चलाएका केशव दाहाल पनि नयाँ शक्तिमा समाहित भएका छन् । पछिल्लो समय राजनीतिक विश्लेषकका रुपमा परिचित दाहाल एमाले निकट हुन् । एमालेकै राजनीति गरेका सुनसरीका डम्बर खतिवडा पनि नयाँ शक्तिमा छन् । एनजीओ/ आईएनजीओमा काम गरेका डा. सुरेन्द्र चौधरी पनि नयाँ शक्तिमा छन् ।

नयाँ शक्तिमा निजी कलेज सञ्चालक डा. राजेन्द्र केसीदेखि डा. जितेन्द्र महासेठ, एकल महिला संगठनकी लिली थापा, अधिकारकर्मी दुर्गा सोव, अपाङ्ता भएकी कमला हेम्चुरी, सञ्चारकर्मी मुमाराम खनाल, डा. मुक्ति रिजाल, रामेछापका मनप्रसाद सुनुवार, उद्यमी मोहनी महर्जन, डा. रामकेवल साह र धनुषाका बज्रकिशोर यादव पनि छन् ।

ट्विटर मुमाराममय
भट्टराईको नयाँ शक्तिमा पूर्वमाओवादी मुमाराम खनालको प्रवेशले भने सामाजिक सञ्जाल रंगिएका छन् । उनले भट्टराईविरुद्ध गरेका केही ट्विटलाई रिट्विट गर्दै ठट्टाको विषय पनि बनाइएको छ । युद्धकालमा माओवादीको राजनीति गरेका खनालले पछिल्लो समय स्वतन्त्र राजनीतिक विश्लेषकको परिचय बनाएका थिए । उनी एक दैनिक पत्रिकामा केही समय ‘ओ–पेड चिफ’ थिए ।

एमाओवादीका दुई परे, अरु बाहिरै
एमाओवादीबाट नयाँ शक्तिमा आएका रामचन्द्र झा र देवेन्द्र पौडेल प्रारम्भिक परिषदमै परेका छन् । झा एमालेबाट मन्त्री, प्रमुख सचेतक भइसकेका थिए । पहिलो संविधानसभा विघटनलगत्तै उनी एमाओवादी प्रवेश गरे । धनुषाका झा भट्टराईको नयाँ शक्तिमा सुरुमै लागेका थिए ।

पौडेल भने भट्टराईका अति निकट नेता हुन् । भट्टराई प्रधानमन्त्री छँदा राजनीतिक सल्लाहकार भएका बागलुङका पौडेल दोस्रो संविधानसभामा काठमाडौंबाट पराजित भएका थिए ।

प्रारम्भिक कार्यसमितिमा नपरे पनि पत्रकार सम्मेलनमा गंगा श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ, खिमलाल देवकोटा, रामकुमार शर्मा, महेन्द्र पासवान, कल्पना धमलालगायतका नेता उपस्थित थिए ।

दर्शकदीर्घामा विनोद चौधरी
पत्रकार सम्मेलनमा नेपालका एकमात्र अर्बपति विनोद चौधरी पनि उपस्थित थिए । एमालेबाट सांसद भइसकेका चौधरीले भने भट्टराईको विकास अवधारणाले आफूलाई प्रभावित बनाएको बताए । ‘बाबुरामजीको मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने अवधारणाले प्रभावित बनाएको छ,’ चौधरीले संक्षिप्त मन्तव्यमा भने, ‘तर यो नठान्नुस् कि म नयाँ शक्तिमा समाहित भएँ ।’
नयाँ शक्तिमा को-को? कसले के भने?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment