पूर्वअर्थमन्त्री महतको उत्कृष्ट अवार्ड कति भ्रम कति यथार्थ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले गत मंगलवार लण्डनमा उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थापेको कुराले संसारभरका नेपालीलाई बहसमा उतारी दियो। सामजिक संजालदेखि पत्रपत्रिकामा प्रकाशित आलेखसम्म उनले यो पुरस्कार पाउनु उचित निर्णय थियो वा थिएन भन्नेबारे छलफल चल्यो।
 
कसैले नेपालजस्तो देशको सकारात्मक चिनारी भएकोमा सन्तोष व्यक्त गरे त कतिपयले वर्तमान आर्थिक दुरावस्थाको हवाला दिँदै बैंकरको लज्जास्पद निर्णयसमेत भने। कसैले त गरिब मुलुकको आरक्षण कोटामा पारेर दिइएको होला भन्नेसम्मको टिप्पणी गरेको पाइयो। प्रजातन्त्र बहालीपश्चात् धेरै समय अर्थमन्त्री बनेको व्यक्ति नेपालको वर्तमान आर्थिक कमजोरीको जेम्मेवारी बहनमा भागीदार ठह¥याउँदै उनी यसको लागि योग्य नभएको आलोचना छरपष्टिए।
 
महतलाई बेलायतको वित्तीय पत्रिका फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकरले गत वैशाखको  विनाशकारी भूकम्पपछि उद्दार तथा  पुनर्निर्माणमा  अन्तर्राष्ट्रिय सहयोग जुटाउन तत्कालीन अवस्थामा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको थियो।
 
डा. महतलाई ग्लोबल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ को उपाधीस्वरूप अवार्ड दिइएको हो।
 
यहाँनेर  बुझ्नुपर्ने एउटा मुख्य कुरा के हो भने उनी  संसारभरमा उत्कृष्ट अर्थमन्त्री चुनिएका होइनन्। महाभूकम्पजस्तो कठिन परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन खेलेको निश्चित भूमिकाको कदर गर्दै अवार्ड प्रदान गरिएको हो। महतको आर्थिक नीतिको कारणले नेपालको कायापलट भएको भन्दै पुरस्कार प्रदान गरिएको पनि होइन र त्यो भएको पनि छैन। अवार्डको टाइटल (फाइनान्स मिनिस्टर अफ द इयर) को नेपाली उल्थामा ’वर्ष अर्थमन्त्री’लाई उत्कृष्ट भनिएको हो जुन स्वाभाविक छ तर त्यसैमा एसिया प्यासिफिकलाई जोडेर हेरे अझै छर्लंग हुन्छ।
 
यस वर्ष महतले पाएजस्तै अवार्ड गत वर्षको ग्लोबल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ताईवानका अर्थमन्त्री चाङ सेङ फोर्डलाई प्रदान गरिएको थियो। उनलाई आयकर नीतिको उल्लेख्य परिवर्तन तथा वेल्थ पुनर्वितरणमा खेलेको भूमिकाको कदर गर्दै दिइएको थियो। संसारमा उनी भन्दा राम्रा मान्छे अर्थमन्त्री छैनन् भनेर अथवा उनकै कारणले ताईवान युरोपियन मुलुक भन्दा आर्थिकरुपमा सक्षम बन्यो भनेर उक्त अवार्ड दिइएको थिएन।
 
अर्को कुरा, फाइनान्स मिनिस्टर अफ द इयर एसिया प्यासिफिक क्षेत्रको मात्रै होइन फाइनान्स मिनिस्टर अफ द इयर युरोप, अमेरिकाज (नर्थ एण्ड साउथ), मिडल ईष्ट, अफ्रिका गरेर छुट्टाछुट्टै क्षेत्रगत क्याटेगोरीमा उक्त अवार्ड प्रदान गरिन्छ। यति कुराबाटै प्रष्ट हुन्छ कि अवार्ड केको आधारमा, केको लागि र कुन परिधीअन्तर्गत प्रदान गरिएको थियो।
 
डा. महतको अवार्डलाई यथार्थबाट तोडमतोड़ गर्दै मिडियाबाजी गरियो भन्ने गुनासो पनि सुन्नमा आएको पाइयो। उनको अवार्डको चर्चा नेपाली मात्रै होइन केही अन्तर्राष्ट्रिय मिडियाले पनि गरेका थिए भलै त्यसको सीमितता आफ्नो ठाउँमा थियो। नेपाल एउटा राष्ट्रको रुपमा र हामी एक नेपालीको रुपमा नेपालका पूर्वअर्थमन्त्रीले एउटा अन्तर्राष्ट्रिय पुरस्कार पाउनु इज्जतकै कुरा हो।
 
एउटा नेता र पूर्वअर्थमन्त्रीको रुपमा उनको आलोचना गर्ने प्रशस्तै आधार हुँदाहँुदै पनि एउटा अन्तर्राष्ट्रिय संस्थाको यो रिकग्निशनमा खुशी नमान्नुपर्ने कुनै कारण छैन भन्नेहरूका तर्कमा त्यति सारो कुतर्क भने देखिँदैन।
 
आजको नेपालको सामाजिक, आर्थिक अवस्थालाई मध्यनजर गर्दा धेरै नेपालीले देशले के काँचुली फे¥यो र अर्थमन्त्रीलाई पुरस्कार दिने भन्ने आवेगपूर्ण प्रतिक्रियामा दरिलो दम छ भन्नेको जमात ठुलो छ।
 
देशमा रोजगारीको अवसरबाट बन्चित भएर विदेशिएका तीसाँै लाख युवाले पठाएको रेमिटान्सबाट तुर्लुंग झुण्डिएको देशको अर्थतन्त्रमा उद्योगधन्दा, कलकारखाना, ब्यापार व्यवसाय, सबै धरासायी छन्। यस्तो अवस्थामा देशमा लामो समय वित्तीय नेतृत्व तहमा रहेको व्यक्तिले यो सबै दुरावस्थाको अपजस बोक्नुपर्ने बेलामा पुरस्कार पाउँदा त्यही देशका समस्याग्रस्त जनतालाई हाँस्यास्पद लाग्नु स्वाभाविकै हो।
 
अवार्ड पाएपछि लन्डनमा आयोजित कार्यक्रममा बोल्दै महतले भने नेपालको विषम परिस्थितिमा पनि आफूले ठूलो भूमिका खेलेको भन्दै राम्रै फुर्ती लगाए। उनले संकेत गरेको आफ्नो योगदान अवार्ड पाएको परिधिभन्दा धेरै अगाडिका वर्षतर्फ समेत लक्षित थियो। उनले २०४८ देखि अहिलेसम्मका आर्थिक नीतिमार्फत्का परिवर्तनहरुको ठुलै भजनकीर्तन त गरे तर तथ्यगतरुपमा आउटकम प्रस्तुत गर्न भने सकेनन्।
 
आफ्नो मन्तव्यमा उदार अर्थनीतिका फाइदाहरु क्याम्पसमा लेक्चररले पढाएजसरी बताइरहँदा हुनुपर्ने जति विकास नहुनुका कारक तत्वमा उनले माओवादी द्वन्द्व, दैवी प्रकोप, आन्दोलन, हड्ताल र पटके सरकार परिवर्तनलाई सूचिकृत गरेर उम्किए।
एउटा प्रश्नको उत्तरमा त उनको ’एक दशक लामो कथित् जनयुद्ध, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, अनुशासनहीनता म अर्थमन्त्रीका कारण भएका हुन्?’ भन्ने   ठाडो जवाफ स्वाभाविक भए पनि  कर्णप्रिय भने  थिएन।
 
उनले अर्थतन्त्र चौपट हुनुमा राजनीतिकरणलाई दोष त दिए तर त्यही राजनीतिकरणको एउटा पाटो आफू भएको स्वीकारोक्ती भने झल्काउन सकेनन्। नेपाको राजस्व १३ अरवबाट पाँच सय अरब पु¥यायौँ त भने तर त्यो राजस्वको प्रतिफल कता लटरम्म भएको छ? परिणामतर्फ औला तेस्र्याउन सकेनन्। उनले नेपालको आर्थिक शक्ति बढेको छ परनिर्भरता घटेको छ भने तर अहिलेको नाकाबन्दीले उदाङ्गो पारेको परनिर्भरताले उनका कुरालाई गफसाबित गरिदियो।
 
डा.महतले ७५ प्रतिशत घरमा तार झुन्ड्याएर बिजुली पुगेको सगर्व सुनाए तर १२ देखि १८ घण्टासम्मको लोडसेडिङको भोगाइबारे मौन रहे। उनले बहुराष्ट्रिय कम्पनीहरु नेपालमा भित्रिएको, बैंकिङ सेक्टरले फड्को मारेको, हाइड्रोमा लगानी बढेको, टेक्नोलोजी, कम्युनिकेशन, उद्योग कारखाना, कलेज, हस्पिटललगायतको  प्राइभेटाइजेशन, विदेशी लगानीजस्ता वित्तीय सूचकांकका आधार खडा गरेको बखान गरे। तर प्रतिव्यक्ति आयको बृद्धिदर, आर्थिक सूचांकको खुड्किलो कुल ग्राह्यस्थ उत्पादन (जीडीपी)को बृद्धिदरजस्ता तथ्य पस्कन नसक्दा उनको सम्बोधन भाषणमै सीमित थियो।
 
उनका कुरा सुनेर लट्ठिएका कार्यक्रमका एक दर्शकले उनको काम गर्ने बोल्ने शैलीको भन्दा अंग्रेजी भाषा र इकोनोमिक टर्मका शब्दको दक्षताको प्रसंसा गरे। ’कमसेकम यो तहका नेतालाई विदेश आउँदा दोभाषे नचाहिनुलाई पनि सकारात्मक मान्नु पर्छ’, उनको तर्क प्राज्ञिक योग्यतातर्फ लक्षित थियो।
 
बेलायतमै पनि महतको यो अवार्ड आगमन आलोचनामुक्त भने रहन सकेन। राजनैतिक मात्र नभएर कतिपय   सामाजिक व्यक्तिसमेत उनको अवार्ड समारोह तथा तत्पश्चात्को कार्यक्रममा देशको आर्थिक अवस्थाको हवाला दिँदै नैतिक कारण देखाएर उपस्थित हुन नचाहेको उल्लेख गरेका थिए।
 
देशमा आर्थिक सामाजिकरुपमा कुनै उल्लेख्य परिवर्तनको आभास नपाएर विदेशिएका डायस्पोराका नेपालीमाझ आफ्नो अवार्ड बुझ्न लन्डन आउँदा जतिसुकै नेपालमा गरेको परिवर्तनको गफ गरे पनि ज्यूँ का त्यूँ देश देखेका सबैलाई कुनै ठुलो अर्थ भने राखेको पाइएन।
 
घरको अवस्था जस्तोसुकै भए पनि बाहिर कुनै एउटा  कुरामा भए पनि उत्कृष्टताको अवार्ड नेपालले पाउनुमा भने खुशी मान्नु स्वाभाविकै देखिन्छ भने अन्तर्राष्ट्रियरुपमा नेपालको छविमा यो चिनारीले केही राहत पु¥याउने छ।
न महतले पाएको यो अवार्डको एक्जाजरेट गरी उफ्रनु जरुरी छ न त उनले पाउन नहुने पुरस्कार पाए भन्दै कोकोहोलो मच्चाउन नै जरुरी भनी उनकै कार्यक्रममा उपस्थित एकजना विज्ञको भनाइ सान्दर्भिक लाग्यो।

“हाम्रो देशमा पानीमाथिको ओभानो पनि कोही छैन, उनको यो  अवार्ड  केही भ्रम केही यथार्थ  दुवै हो,“, उनैले थपे।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment