जुनार अहिलेसम्मकै महँगो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



माघ १, २०७२- जुनारको पकेट क्षेत्रका रूपमा चिनिएको जिल्लामा यो वर्ष उपभोक्ता महँगोमा जुनार उपभोग गर्न बाध्य छन् । बिचौलीयाका कारण यो वर्ष उपभोक्ताहरू महँगो मूल्य तिरेर उपभोग गर्न बाध्य भएका हुन् ।
उपभोक्ताका अनुसार अहिले बजारमा जुनारको मूल्य प्रतिदाना १० रुपैयाँदेखि १२ सम्म रहेको छ । बीचका व्यापारी (बिचौलिया) ले भने सिधै बगैंचाबाट कृषकहरूसँग प्रतिदाना तीन रुपैयाँदेखि चार रुपैयाँसम्म हालेर खरिद गरी तेब्बर मूल्यभन्दा बढीमा उपभोक्तालाई जुनार बिक्री गर्ने गरेका छन् ।
‘गत वर्ष जुनारको मूल्य यतिखेर प्रतिकेजी ३०/३५ रुपैयाँ रहेकामा यो वर्ष मुख्य सिजनमा समेत प्रतिकेजी ५५/६० रुपैयाँभन्दा तल झरेन, सदरमुकामका उपभोक्ता नीलहरि दाहालले भने, ‘दु:ख गरेर जुनार फलाउने कृषकले प्रतिदाना चार रुपैयाँसम्म पाउँछन् ।’
बिचौलियासँग हामीले खरिद गर्दा प्रतिदाना १२ रुपैयाँसम्म पर्न जान्छ ।’ रतनचुरा खनियाखर्क बजारमा त झन प्रतिकिलो ६० भन्दा तल बिक्री भएको छैन । जुनारको बोटबाट पाँच सय मिटरको दूरीमा नै उपभोक्ता ठग्ने काम भएको छ ।
यस्तो कालोबजारी गरी उपभोक्तालाई ठग्नेलाई कडा कारबाही हुनुपर्ने उनको माग छ । भन्छन्, ‘कि त हामीले तिरेको मूल्य कृषकले पाएको भए उसले दु:ख गरेको थियो, मूल्य लियो भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो, हैन भने बीचका व्यापारीलाई त्यत्रो नाफा खान किन दिनु ? आफ्नै जिल्लामा उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीसँग खरिद गरेर खानुपर्ने ?’
व्यापारीले सिधै कृषकसँग सम्पर्क गरी जुनार खरिद गर्नाले बिक्रीका लागि कृषकलाई सुविधा पुगे पनि आफूहरूलाई मर्का परेको उपभोक्ताहरूको गुनासो छ । जुनार स्वादिलो र रसिलो भएकाले स्थानीय बासिन्दाले महँगो मूल्य तिरेर भए पनि बाहिरी जिल्लामा बसेका आफन्तलाई कोसेलीस्वरूप पठाउने गरेका छन् । सिजनको फल भएकाले मूल्य माहँगिए पनि अहिले जुनारको निर्यात बढेको छ ।
जिल्लामा उत्पादन हुने जुनार बढी मात्रमा कोसेलीस्वरूप निर्यात हुने गरेको छ । अहिले दिनहुँ सिन्धुलीबाट बाहिरिने गाडीका छत जुनारले भरिने गरेको व्यावसायीहरू बताउँछन् । बाशेश्वर–६ का जुनार कृषक हस्तबहादुर मगर आफ्नो बगैंचामा उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले गुणस्तर हेरेर प्रतिदाना चार रुपैयाँसम्म हालेर सिधै रूखबाट टिपेर लगेका बताउँछन् । ‘अहिले हामीले गाँउघरमा खरिद गर्नुपर्‍यो भने पनि प्रतिदाना चार/पाँच रुपैयाँ तिर्नुपर्छ,’ उनले भने ।
जिल्लामा जुनार उत्पादन हुने अधिकांश क्षेत्रमा सडक सुविधा पुगेकोले उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैंचाबाटै खरिद गरेर लाने गरेको उनको भनाइ छ । उपभोक्ता मञ्चका अध्यक्ष अच्यूतम ढकालका अनुसार महँगो मूल्यमा जुनार उपभोक्ताले खरिद गर्नुपरेकोमा चिन्ता व्यक्त गर्छन् । ढुवानीका कारण देखाएर महँगो मूल्यमा जुनार बिक्री गरेको व्यापारीहरूले दाबी गरेको उनको भनाइ छ । जुनार विकास संघ सिन्धुलीका अनुसार एक नगरपालिकासहित ५३ गाविस रहेको यस जिल्लामा यतिखेर झन्डै १ हजार ५ सय हेक्टर जमिन जुनार खेतीले ढाकेको छ । वार्षिक करिब १५ हजार टन जिल्लामा जुनार उत्पादन हुँदै आएको छ ।
ग्रामीण क्षेत्रमा उत्पादन हुने जुनारको मुख्य बजार सदरमुकाम सिन्धुलीमाढी रहेको संघका उपाध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन् । जिल्लाका झन्डै ४५ गाविसमा जुनार खेतीको सम्भावना रहेको बताइन्छ । तर, अहिले रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा गाविस जुनार खेतीका लागि पकेट क्षेत्र रहेको उनको भनाइ छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment