चीनसँग पोखरा विमानस्थलको ऋण सम्झौता हुने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रधानमन्त्रीको चीन भ्रमणका बेला सम्झैता गर्ने तयारी 
Pokhara Airport
१५ माघ, काठमाडौं । चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ऋण सम्झौता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरेर बसेको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला विमानस्थलको ऋण सम्झौता गर्ने तयारी छ ।
चीनको एक्स्पोर्ट (इम्पोर्ट -एक्जिम) बैंकको सहुलियत ऋणमा पोखरा नजिकैको डाँडामा विमानस्थल निर्माण गर्न थालिएको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा हुँदा पनि चिनियाँ पक्षको ढिलाइका कारण ऋण सम्झौता हुन नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
प्रधानमन्त्री ओली आगामी मार्चमा चीन भ्रमणमा जाँदैछन् । ओलीको भ्रमणका बेलामा ठूलो सम्झौता भएको सन्देश दिन चीनले पर्खिएर बसिरहेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा सोहीबेलामा विमानस्थलको ऋण सम्झौता गर्न पाएमा ठूलै उपलब्धि देखिने चीनको विश्वास रहेको स्रोतले बतायो ।
विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग ०७१ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता नेपाल सरकारले सोही वर्षको कार्तिक १० गते स्वीकृत गरेपछि विमानस्थल निर्माणका लागि बाटो खुल्ला भएको थियो ।
सीएएमसी कम्पनीसँग ठेक्का सम्झौता हुँदा चार महिनाभित्र एक्जिम बैंकसँग ऋण सम्झौता गर्ने लक्ष्य राखिएको भए पनि झण्डै डेढ वर्ष पुगिसक्दा समेत सम्झौता हुन सकेको छैन ।
पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यो रकम एक्जिम बैंकसँग ८.२५ प्रतिशत ब्याजदरमा ऋणस्वरुप लिएर विमानस्थल निर्माण गरिनेछ ।
‘सधैं हाम्रो पक्षबाट ढिलाइ हुन्थ्यो, विदेशी दाताले घच्याउनुपथ्र्यो’ मन्त्रालय स्रोतले भन्यो- ‘तर, अहिले अवस्था उल्टो देखिएको छ, हाम्रो तर्फबाट सबै काम पूरा भइसकेको छ । ऋण सम्झौताका लागि अहिले हामीले चीनलाई दबाव दिइरहनुपरेको छ ।’
ऋण सम्झौता प्रधानमन्त्रीको चीन भ्रमणअघि नै गर्न खोजिएको थियो । तर, यसमा पनि चीन तयार नहुनुलाई प्रधानमन्त्रीको भ्रमण नै कुरेर बसेको स्पष्ट हुने मन्त्रालयका अधिकारी बताउँछन् ।
प्रधानमन्त्री ओली पहिलो भ्रमणका लागि फेब्रुअरीमा भारत जाँदैछन् । भारत भ्रमणपछि चीन जाने कार्यक्रम छ ।
सम्झौता नहुँदा काम ठप्प
ठेक्का सम्झौता भएको लामो समयसम्म पनि ऋण सम्झौता हुन नसक्दा थप काम अगाडि बढ्न सकेको छैन । प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको थियो । तर, समयमा काम सुरु हुन नसक्दा समय बढ्ने निश्चित देखिएको छ ।
चीनसँग ऋण सम्झौता हुनासाथ निर्माण कार्य अगाडि बढाइहाल्ने प्राधिकरणको तयारी छ । टेन्डर अनुसार विमानस्थलमा धावनमार्ग धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगर लगायत निर्माण गर्नुपर्छ ।
प्राधिकरणका अनुसार सुरुमा ‘४ डी’ स्तरमा विमानस्थल बनाउने गरी टेन्डर आहृवान गरे पनि चिनियाँ पक्षले भने ‘४ ई’ बुझेका थिए । ‘४ डी’ भनेको बोइङ ७५७ सिरिज (२ सय सिट क्षमता) का जहाज उडान-अवतरण गर्न मिल्ने स्तरको विमानस्थल हो । ‘४ डी’ भनेको त्यसभन्दा ठूला आकारका जहाज उडान-अवतरण गर्न मिल्ने खालको विमानस्थल हो ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७५७ आकारसम्मका जहाज उडान-अवतरण गर्न मिल्ने छ ।
अहिले आन्तरिक उडानमात्र
अहिले पोखरामा आन्तरिक उडानमात्र हुँदै आएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीहरुले ठूलो दबाब दिँदै आएका छन् ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएपछि यहाँको पर्यटन उद्योगको विकाशमा निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । खासगरी चिनियाँ पर्यटक पोखरा आउन रुचाउने हुँदा विमानस्थल सञ्चालनसँगै चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।
सरकारले भैरहवामा पनि क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको छ । तराई आन्दोलन र नाकाबन्दीका बाबजुद पनि भैरहवा विमानस्थल निर्माण कार्य जारी छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment