बेलायतमा कार्यरत नेपाली नर्सहरुलाई लाइसेन्स पो जाने हो कि भन्ने पिर भइरहेको

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


बेलायतमा कार्यरत नेपाली नर्सहरु अप्रिलदेखि लागू हुन लागेको नयां वाध्यकारी नियमले त्रसित देखिएका छन् । नर्स तथा मिडवाइफहरुको नियमन तथा लाइसेन्स दिने निकाय नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल (एनएमसी) ले रजिष्टर्ड नर्सहरुमाथि नयाँ नियम ल्याउन लागेपछि सन्त्रास थपिएको हो ।

एनएमसीले अप्रिलदेखि नर्स र मिडवाइफहरुलाई प्रत्येक तीन वर्षमा रिभ्यालिडेसन (योग्य भए नभएको जाँच्ने) गर्दा थप नियम ल्याउन लागेको छ । यसअघि रिभ्यालिडेसनमा ४ सय ५० घण्टा प्राक्टिस आवरमात्र भरेर पठाए हुनेमा अब त्यो सहित ३५ घण्टा प्रोफेशनल डेभलप्मेन्ट कोर्स (सीपीडी)अनिवार्य गरेको हुनुपर्ने, आफ्नो दक्षता वृद्धि झल्कने ५ वटा अनुभव (रिफ्लेक्टिभ अकाउन्ट) र काम सम्बन्धि बिरामी, बिरामीका आफन्त, समकक्षी, व्यवस्थापक आदिसँगको ५ वटा प्रतिक्रिया पेश गर्न अनिवार्य गराइँदैछ ।

फ्रान्सिस् छानविन प्रतिवेदनले सन् २०१३ मा बेलायतस्थित एउटा अस्पतालमा विरामीको हेरचाह, सुरक्षा र नेतृत्व तहमा भएको कमी कमजोरी औंल्याएसँगै यस क्षेत्रमा सुधार गर्न आउँदो अप्रिल २०१६ देखि यो नियम ल्याउन लागिएको हो ।

‘नयाँ नियमले म आफैं चिन्तित छु’, नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुशीला कार्कीले भनिन्, ‘म जस्ता अन्य कयौं नेपाली नर्सहरु यसबाट अन्यौल र चिन्तित भएको पाएको छु । पेपर वर्क गर्दा केही छुटपुट भएर लाइसेन्स पो जाने हो कि भन्ने पिर भइरहेको छ ।’

एनएमसीबाट पिन नम्बर लिएका नर्सहरुमात्र यहां योग्य रजिष्टर्ड मानिन्छ । उनीहरुलाई प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्न जरुरी छ ।

‘जति नै सिनियर नर्स भए पनि हामीलाई नयाँ कोर्स नगरी सुख छैन्’, कार्की भन्छिन्, ‘संवेदनशील कामको चाप, पारिवारिक प्रतिवद्धताबाहेक आफूलाई नियमित अपग्रेड गरिराख्नुपर्दा यो पेशा थप चुनौतीपूर्ण बन्दै गएको छ ।’

तर, लन्डन प्याडिङटनस्थित सेन्टमेरिज हस्पिटल, लिन्डो वीङमा कार्यरत नर्स
गंगा साम्पाङ भने नयां नियमले झन् व्यवसायिक दक्षता वृद्धि गराउने विश्वास व्यक्त गर्छिन् । ‘बरु नयाँ आवश्यकताले सेफर प्राक्टिस्मा सहयोग पुग्ने मेरो बुझाइ छ’, उनले भनिन्, ‘यसले नर्सिङ करिअरमा फड्को मार्न थप सघाउँछ जस्तो लाग्छ ।’

नयाँ नियमलाई मध्यनजर राख्दै नेपलिज नर्सिङ एसोसिएसन यूकेले आगामी फेब्रुअरी ६ मा विशेषज्ञ बोलाएर लन्डनमा एक सेमिनार राखेको छ । रोयल कलेज अफ
नर्सिङबाट प्रशिक्षक झिकाएर नेपाली नर्सहरुलाई नयाँ नियमबारे जानकारी दिन लागिएको हो । उक्त सेमिनारमा नयाँ नियम र यसको प्रभावबारे अध्यापन गराई अध्ययन सामाग्री वितरण गर्ने योजना एसोसिएसनको छ ।

बेलायतमा एनएमसीमा दर्ता भएका नेपाली नर्सहरुको संख्या २ हजार ८ सय छ । तर, एसोसिएसनले नेपाली मुलका बेलायती नर्स यसमा सामेल नगराइएकाले कुल संख्या ५ हजार हाराहारी हुने जनाएको छ ।

सरकार पनि कठोर
बेलायत सरकारले नर्सहरुमाथि यस अघि गरेको कडाइमा केही पुनर्विचार गरे पनि उसको कडाइ यथावतै छ । नर्सहरुलाई सर्टेज अकुपेशन लिष्टमा
राखिएपनि युरोपेली युनियन बाहेकका वर्क परमिटमा हुने नर्सले वार्षिक ३५ हजार पाउण्ड कमाउनु पर्ने प्रावधान छ । तर, कार्कीले आइएलटिएसको प्रत्येक ब्याण्डमा ७ स्कोर ल्याउन सके बेलायतमा नर्सलाई राम्रो अवसर समेत भएको दावी गरिन् ।

‘सम्वन्धित देशको सरकारले मान्यता दिएको कलेजबाट नर्सिङ कोर्स गरेर आइएलटिएसको प्रत्येक ब्याण्डमा ७ ल्याए यहां दशदिन भित्र जागिर पाइन्छ’, कार्की भन्छिन्, ‘यसबाट नेपालमा रहेका नर्सहरु पनि लाभान्वित हुनेछन् । यदि ७ स्कोर आएको छ भने त्यसको जानकारी एनएमसीलाई दिए उसैले जागिर खोजिदिन्छ ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment