स्मार्टकार्ड लाइसेन्स वितरणमा ढिलाइ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Smart License
माघ १०, २०७२- धादिङ बटारका रमेश श्रेष्ठले मोटरसाइकलको लाइसेन्स लिन लिखित र ट्रायल पास गरेको महिना बित्न लागिसक्यो । तर पनि उनले स्मार्टकार्डवाला लाइसेन्स पाउन सकेका छैनन् । 
लाइसेन्स लिनकै लागि जागिरबाट केही दिन छुट्टी लिएर आएका उनलाई घर फर्कन हतार भइसकेको छ । ‘दुई सातादेखि लाइसेन्स लिन एकान्तकुनास्थित यातायात कार्यालयमा धाइरहेको छु,’ उनले भने, ‘शुक्रबार पनि पाउन सकिनँ ।’ जहिले आउँदा पनि कर्मचारीले कार्ड आएको छैन मात्र भन्ने गरेको श्रेष्ठले बताए । ‘कार्यालय धाउँदा धाउँदै हैरान भइसकेको छु,’ उनले भने, ‘कर्मचारीसँग सोध्दा झर्केर बोल्ने गर्छन् ।’

कार्यविनायक नगरपालिकाका सुमन थापाको पनि उस्तै हालत छ । कर्मचारीसँग लाइसेन्स नआउनुको कारणबारे बुझ्दा विभागमा गएर बुझ्न सुझाव दिइने गरिएको थापाले बताए । ‘भोलि भोलि भन्दै दुई साता भइसक्यो,’ उनले भने, ‘स्मार्टकार्ड वितरण कक्षमा बस्ने कर्मचारीले पनि स्पष्ट जवाफ दिने गरेका छैनन् ।’

एकान्तकुनास्थित यातायात कार्यालयमा लाइसेन्स लिन दैनिक आएका हजारांै सर्वसाधारण त्यसै फर्कन बाध्य छन् । विभागले स्मार्टकार्ड उपलब्ध नगराएका कारण वितरण गर्न नसकेको कार्यालयको दाबी छ । अहिलेलाई ४ हजारभन्दा बढी स्मार्टकार्ड आवश्यक भए पनि विभागले २ हजारबाहेक उपलब्ध गराउन नसकेको कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले बताए ।
‘स्मार्टकार्ड चाँडै ल्याउन पटक–पटक विभागमा अनुरोध गर्दा पनि चासो दिइएको छैन,’ उनले भने, ‘हामीले दर्ता भएकाहरूको सम्पूर्ण रेकर्डमात्र विभागलाई उपलब्ध गराउने हो । स्मार्टकार्ड छाप्ने काम विभागको हो ।’ उनले दैनिक ४/५ सय सर्वसाधारण कार्यालयमा आएर झगडा गर्ने गरेको बताए । ‘उनीहरूलाई हामीले विभागमा जान अनुरोध गर्ने गरेका छौं,’ रेग्मीले भने, ‘सम्पूर्ण कुरा विभागले हेरिरहेको छ ।’

ठेक्का पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले पर्याप्त स्मार्टकार्ड वितरण गर्न २ वटा प्रिन्टर विभागमा पठाइसकेको छ । तर लोडसेडिङ र प्रिन्टर अपुग भएकाले स्मार्टकार्ड प्रिन्ट गर्न ढिलाइ भइरहेको यातायात व्यवस्था विभागले दाबी गरेको छ । त्यस्तै अत्यधिक क्षमता भएको स्मार्टकार्डको सर्भर ‘इडीएलयूआरएस’ सिस्टममा आएको प्राविधिक समस्याका कारण देशभर नै सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा ३ दिनदेखि ठप्प छ ।
मुलुकभरको सवारी चालक अनुमतिपत्रको विवरण भएको सर्भर डाउन हुँदा देशैभरिका यातायात कार्यालयहरूको कामसमेत प्रभावित भएको छ । पुरानो सर्भरमा पटक–पटक आउने समस्या समाधान हुने विभागले जनाए पनि सर्भर डाउन हुनेक्रम नरोकिंदा सर्वसाधारण हैरान छन् । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी वसन्त अधिकारीले एकान्तकुनास्थित यातायात कार्यालयमा मात्रै ५ प्रिन्टर आवश्यक रहेको बताए । ‘प्रिन्टर चलाउन विभागमा भएका इन्भर्टरले पनि धान्न सकेनन्,’ उनले भने, ‘सफ्टवेयरमा फोटो, वर्ग नदेख्ने र बिलिङ लगायतका समस्या देखा पनि परेको छ ।’ उनले स्मार्टकार्डको सिस्टम सुरु गरेको डेढ महिनामात्रै भएकाले पनि केही समस्या आउनु स्वाभाविक रहेको बताए ।
‘सफ्टवेयर सञ्चालनबारे कर्मचारीलाई प्रशिक्षण दिन नेटवर्किङ गर्ने कार्य भइरहेको छ,’ उनले भने । अधिकारीका अनुसार ३ हजार ८ सय स्मार्ट कार्डको माग भएको छ । अहिलेसम्म २ हजार २ सयवटा स्मार्टकार्ड वितरण भइसकेका छन् । ‘१ हजार ६ सय वितरण क्रममा छन्,’ उनले भने । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment