'कमरेड! अब गाई दुहुन जानु छ।'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'कमरेड! अब गाई दुहुन जानु छ।'
एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीमा निक्कै चर्चित छ यो वाक्य। एकाथरीले मजाक गरेर यो वाक्य सुनाउँछन् तर अनेरास्ववियु सुनसरीका अध्यक्ष एकराज दाहाल भने सगौरव भन्छन्,'कमरेड अब गाई दुहुन जानु छ!'
दिउँसोको समय संगठनलाई दिन्छन्। सभा, भेला, सम्मेलन र संगठन बिस्तारका काममा धाउँछन् । जहाँ पुगेपनि साँझ गाईगोठ फर्किन्छन् गाई दुहुन। उनी दैनिक १५ लिटरभन्दा बढि दूध सुन्दरदुलारी नगरपालिका मोरङबाट सुनसरिको इटहरी उपमहानगरपालिकामा रहेको दुग्ध सहकारीमा पुर्‍याएर बिक्री गर्छन्। जिल्ला अदालत मोरङमा काम गर्ने सरकारी जागिरे बाबुका एक्ला छोरा एकराज राजनिती गर्न चाहिने खर्चको जोहो दूध बेचेरै गर्ने बताउँछन्। उनी भन्छन्, 'जागिर खाँदा चाहिएको समयमा बिदा नपाइने भएकोले गाई पालन नै मैले उपयुक्त देखेँ।'
पुर्ख्यौली  थलो खोटाङबाटै गाइबस्तु पालनको अनुभव लिएको बताउने दहाल आफूले गाई दुहेर बजारमा बेच्दै हिड्दा थुप्रै साथीहरुले मजाकमा उडाएका क्षणहरु पनि सम्झन्छन्। 'साथीहरु मलाई ग्वाला कमरेड भनेर जिस्क्याउँछन्,' ट्यामिभरि दूध बोकेर इटहरीतर्फ हुइकिँदै गर्दा दाहालले भने, 'सथीहरुले मलाई जिस्क्याउँदा उनीहरु आफैंले आफैंलाई जिस्क्याएकोजस्तो लाग्छ।'
स्वभाविक कम्युनिस्ट लवजमा गफिँदै दाहाल भन्छन् ,'सहयोद्धा कामरेडहरुले समेत ग्वाला कामरेड भनेर बिल्ला हान्छन् तर क्यास चाँहिदा मैसँग माग्छन्। त्यो सम्झिँदा आनन्द आउँछ।' 
  विद्यार्थी रजनितिलाई  पछि देश चलाउने नर्सरी भनेर व्याख्या गर्ने दाहाल विद्यार्थीहरुमा श्रमप्रति विकर्षण आउनु घातक भएको विचार राख्छन्। 'मैले आफ्नै घरमा आफैंले पालेका गाई दुहेर बजारमा बेच्दा त यहाँ बिल्ला हान्छन् सथीहरु। झन् अर्काकोमा मजदुरी गर्ने सथीहरुलाई के भन्लान्?' दाहाल प्रश्न गर्छन्। युवाहरु गाईपालन, कुखुरापालन, बाख्रापालन, मौरीपालन जस्ता कृषिकर्ममा अब क्रमशः आउनथाले पनि नेताहरु आउन नसक्नु नराम्रो भएको दाहालको तर्क छ। भन्छन् , 'हामी आर्थिक क्रान्ति र कृषि क्रान्तीको नारा घन्काउँछौं तर आफूभने केहिकुराको सुरुवात गर्दैनौँ।' स्वरोजगारका गतिविधिमा युवा तथा विद्यार्थी नेताहरु आफैं रोलमोडेल बन्नु पर्ने उनको तर्क छ। 'सरकार र संस्थाहरुको अनुदान खानकै लागि भने कृषिमा आउने प्रवृत्तिको आलोचना गर्ने दाहाल आफ्नो लामो दाह्री मिलाउँदै भन्छन् ,'बरु सहरमा सैलुन खोल्नु अथवा सब्जी पसल मनैदेखि चलाउनु राम्रो कृषि अनुदान खानुभन्दा।'
 
पेशेवर विद्यार्थी राजनीति गर्नेहरुलाई पार्ट–टाइम कामले पटक्कै असर नगर्ने उनको अनुभव छ। विद्यार्थी राजनीति चौबिस घण्टे जागिर नभएको बताउने उनी भन्छन्, 'संगठन गर्नु, आर्थिक उपार्जनका आयमहरुमा आबद्ध हुनु विद्यार्थी राजनीति नै हो।'
'आफ्नो पढाइको निरन्तरता र केहि न केहि जिविकोपार्जनको बाटो आत्मसाथ गर्नु हरेक विद्यार्थी नेताहरुको अनिवार्य शर्त हो', दाहालको राय छ, 'बेलाबेलाका आन्दोलन, चक्काजाम, जुलुसहरु र सांगठानिक सभा, भेला, गठन–पुनर्गठन मात्रै विद्यार्थी रजनीतिका कृयाकलाप हैनन्।' आफूले चार माउ गाई पालेर दैनिक बजारमा दूध बेच्नु यसको सुरुवात र प्रयास मात्रै हो, दाहाल भन्छन्।
अनेरास्ववियुका सुनसरी अध्यक्ष सँगै राष्ट्रिय प्रतिनिधी परिषद सदस्य र नेकपा एमालेको सुनसरी क्षेत्र नं २ क्षेत्रिय कमिटी सदस्य समेत हुन् उनी। आउने माघ अन्ति साता काठमाडौंमा हुने बाइसौँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने तयारीमा रहेका दाहाल भन्छन्, 'जिते ठिकै छ, हारेँ भने तीनवटा गाई थप्छु।'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment