भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
राज दरबार हत्याकाण्ड भएको १४ वर्ष बढी भइसकेको छ । तर पनि तत्कालीन राजपुरोहित डाक्टर शेखर पण्डितलाई त्यो कालो दिन सम्झिँदा आज पनि शरीर जिरिङ्ग हुन्छ, मन झस्किन्छ अनि त्यो पीडा फेरि बल्झेर आउँछ ।
दरबारमा पुजारी बन्ने उनको सपना थिएन र उनले सोचेको 'करीयर' पनि होइन । मान्छेको जीवनमा नसोचेकै धेरैकुरा भइपरी आउँछन । यस्तै संजोगले उनी राजदरबारका पुरोहित बनेका थिए । २०५८ सालमा दरबारमा भएको घटनासँगै उनीभित्र पनि राजदरबारमा पूजा गर्ने पूजा गर्ने इच्छा मरेर गयो र, उनले देश छाडे। उनी भन्छन् : "माटो पो छाडेँ, कर्म छाडन कहाँ सकिन्छ र?"
राजदरबारमा आफ्नो जीवनका ३२ वर्ष बिताएका पण्डित हाल अमेरिकाको टेक्सासस्थित डालस सहरमा नेपालीहरूद्वारा सञ्चालन गरिएको हिन्दु मन्दिरमा मुख्य पूजारीका रूपमा कार्यरत छन् ।
राजपुरोहितका रूपमा पण्डितलाई बिरेन्द्र र ऐश्वर्यसहित युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रूतीको सानिध्यमा रहेर पूजा गर्ने र गराउने अवसर प्राप्त भयो: 'महारानी ऐश्वर्य अति नै दयालु होइबक्सन्थ्यो, हरेक हप्ताजस्तो हुने भेटमा मेरो परिवारका बारेमा समेत सोधनी हुन्थ्यो', उनले पुराना दिन सम्झिए।
तनहुँको तनहुसुर गाविस सिम्खानी टोलमा जन्मेका शेखर पण्डितको राजपुरोहित बन्ने सपना थिएन, तर पनि उनको भाग्यले पहिलो जागिरका रूपमा मुखिया पदमा राजदरबारमा नै स्थापित गरायो । राजा बिरेन्द्रको पूजा कोठामा झन्डै आठ वर्ष मुखियाका रूपमा बिताउने क्रममा पण्डितले बाल्मिकी क्याम्पसमा अध्यन गरी प्राचार्यको पदवी प्राप्त गरे । मुखियामा कार्यरत पण्डितलाई एकै पटक राज पुरोहित बनाउँदा रानी ऐश्वर्यको 'कृपा' प्राप्त भएको स्मरण गर्दै उनी भन्छन्, 'महारानीबाट मेरो फाइल नजर भयो, अनि एकै पटक दुई पद माथि बढुवा गर्न आदेश दिइबक्सियो।'
राजदरबारका ११ पुरोहित मध्ये मर्यादाक्रममा तेस्रो स्थानमा थिए उनी। राजदरबारमा हुने नित्य पूजादेखि हरेक महिना र वर्ष दिनमा हुने ग्रहदान आदि सबै गर्ने जिम्मा पण्डित सहितको टोलीलाई थियो । राजपरिवारका सदस्यहरूको न्वारन, व्रतबन्ध र विवाहको काम पनि पण्डितकै भागमा थियो ।
दरबारमा बिताएका बत्तिस वर्षमा आफ्नो सबै भन्दा पिडादायी क्षण राजकुमार निराजनको अन्त्यष्टी रहेको पण्डितको भोगाइ छ। "आफैंले न्वारन र व्रतबन्ध गरेका राजकुमारको अन्त्यष्टी समेत गर्नु एक पुरोहितका लागि अभिशाप हो' आँखाभरि आंशु बनाएर उनले भने।
दरबार हत्याकाण्डमा तत्कालीन युवराज दिपेन्द्रको नै भूमिका रहेको विश्वास पण्डितको छ। पशुपति शम्सेरकी पुत्री देवयानीसँग प्रेममा रहेका दिपेन्द्रले आफ्ना माता पिता सँग विवाहका विषयमा धेरै पटक विवाद गरेको पण्डितले सुनेका थिए। 'आफूले भनेको कन्यासँग विवाह गर्न नपाउँदा आत्मग्लानी भएर दिपेन्द्र सरकारबाट नै यो घटना भएको हो भन्ने मेरो बुझाई छ,' पण्डितले भने।
'नारायणहिटी राजदरबारको सांस्कृतिक परम्परा' विषयमा प्राचार्य गरेका शेखर पण्डितका विचारमा आज नेपालीहरूमा राजतन्त्रको विरोध नभई राजा ज्ञानेन्द्र प्रतिको रोष देखिएको छ। राज पुरोहितहरुमा पनि राजा ज्ञानेन्द्रको नामले सातो लिन्थ्यो। पूर्व राजाहरु विरेन्द्र र ज्ञानेन्द्रबीचको आफ्नो अनुभव पण्डितले यसरि सुनाए 'बिरेन्द्र सरकार पूजामा केही सामग्री नपुगे वा कहीँ केही कमजोरी भए शान्त स्वरमा समय दिएर सुधार गर्न आदेश दिइबक्सिन्थ्यो, तर ज्ञानेन्द्र सरकार भने केही कमजोरी भए अति नै रिसानी होइबक्सिन्थ्यो ।' नेपाललाई आज पनि राज संस्थाको आवश्यकता भएको मत राख्ने पण्डितले जनताले नै राजसंस्था पुनस्थापना गर्ने दाबी गरे।
'राजा भनेको कुनै अलौकिक दिव्य पुरुष हुनुहुँदैन, खेतमा हलो जोतिरहेको गरिब किसानसँग आत्मियताको हात मिलाउन सक्ने, दीनदुखीका पीरमर्का बुझ्नसक्ने अनि एक कुशल अभिभावकको रूपमा आफूलाई सधैँ प्रस्तुत गर्न सक्ने राजा नेपालीले सधैँ खोजेका छन्" उनले आफ्नो तर्क सुनाए।
२०६३ सालमा राजतन्त्र अन्त्य भएपछि राजदरबारका सम्पूर्ण कर्मचारीहरूलाई नेपाल सरकारले सामन्य प्रशासन मन्त्रालयमा पठायो, त्यही क्रममा नै शेखर पण्डितको सरुवा दरबारबाहिर भयो । राजा बिरेन्द्रको वंशविनाससँगै क्रमस राजपुरोहित पदप्रति हराउँदै गएको पण्डितको रुची यो प्रशासनिक परिवर्तनसँगै एकाएक हरायो र उनी अमेरिका आए।
विगत पाँच वर्षदेखि नेपाली मन्दिर, डालसमा संलग्न रहेका पण्डित भन्छन्, 'अन्तिम धोको नेपाल मै जाने छ, आफ्नो देशको माया र स्नेहले मलाई उतै तानेको छ।'
0 comments:
Post a Comment