सागर थापाको बयानमा स्पोर्टर्‍याडरको आपत्ति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'१० वर्षदेखि म्याच फिक्सिङ जारी थियो'
१२ माघ, काठमाडौं । म्याच फिक्सिङमा मुछिएका पूर्वफुटबल कप्तान सागर थापाले लगाएको आरोपहरुमाथि स्पोट्र्स र्‍याडरले कडा प्रतिक्रिया जनाएको छ । स्पोर्टर्‍याडर खेलकुदसम्वन्धि सूचना संकलन तथा अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय निकाय हो, जसको प्रतिवेदनमा आधारित रहेर एएफसीले सागरसहितका खेलाडीहरुमाथि आजीवन प्रतिवन्ध लगाएको थियो ।
सागरले अनलाइनखबरलाई दिएको अन्तरर्वार्तामा स्पोर्टर्‍याडरका कर्मचारी विप्लव गौतमले आफूलाई म्याच फिक्सिङमा फसाएको आरोप लगाएका थिए । यसलाई खण्डन गर्दै स्पोर्टर्‍याडर सञ्चार अधिकृत एलेक्स इन्ग्लोटले विप्लवले त्यहाँ काम सुरु गर्नु अगावै नेपालमा म्याच फिक्सिङको अनुसन्धान जारी रहेको उल्लेख गरेका छन् ।
‘थुप्रै सूचना विश्लेषक तथा गुप्तचर विश्लेषक संलग्न रहेको स्पोर्टर्‍याडर सेक्युरिटी सर्भिसको ५२ सदस्यीय अन्तर्राष्ट्रिय टोलीले गरेको अनुसन्धान हो यो । विप्लवले ज्वाइन गर्नुभन्दा धेरै महिना अघिदेखि अनुसन्धान भइरहेको थियो ।’ अनलाइनखबरसँगको सम्बादमा उनले भने ।
यसैगरी स्पोर्टर्‍याडर सेक्युरिटी सर्भिसका प्रवन्ध निर्देशक एन्डि्रयास क्रान्निचले एक विज्ञप्ति जारी गरी सागरको अन्तरवार्तार्मा लगाइएका आरोप, अनुमान तथा षडयन्त्रका सूत्रहरु अनुचित र चिन्ताको विषय रहेको जनाएका छन् । सागरसहितका खेलाडीहरु १० वर्षदेखि म्याच फिक्सिङमा संलग्न रहेको स्पोर्टर्‍याडरको अनुसन्धानले पुष्टी  गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘सागर थापा र अन्य प्रतिवादीहरुमाथिको अनुसन्धान एउटा वृहद र वस्तुगत प्रक्रिया थियो, जून पूरा हुन एक वर्ष लाग्यो । यसमा एएफसी -एशियाली फुटबल महासंघ), नेपालको महानगरीय अपराध शाखा, यूइएफए -यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन) र स्पोर्टर्‍याडर सेक्युरिटी सर्भिसेज टिमको समन्वय रहेको थियो ।’
‘सोही अनुसन्धानबाट ती खेलाडी तथा प्रशिक्षकहरुले विगत १० वर्षयता थुप्रै -म फेरि जोड दिएर भन्छु, थुप्रै) फुटबल खेलहरुको नतिजा प्रभावित बनाउन भूमिका खेलेको देखिएपछि उनीहरुलाई आजीवन प्रतिवन्ध लगाइएको हो,’ विज्ञप्तिमा अगाडी भनिएको छ ।
‘धम्की’ का विषयमा गम्भीर
अनलाइनखबरसँगको अन्तरवार्तामा सागरले विप्लवलाई घुमाउरो ‘धम्की’ दिएको भन्दै यो विषयलाई एकदमै गम्भीरताका साथ लिइएको पनि क्रान्निचले जनाएका छन् । अन्तरवार्तामा सागरले म्याच फिक्सिङको आरोपमा आफूहरु निर्दोष पाइए विप्लवलाई नछाड्ने आशय व्यक्त गरेका थिए ।
‘विप्लवले मलाई यो अवस्थामा पुर्‍याएको हो । मैले उसलाई भनेको छु, यदि मेरो म्याच फिक्सिङ पुष्टि भयो भने म मर्छु, पुष्टि भएन भने पनि चुप लागेर बस्दिन,’ उनले भनेका थिए ।
क्रान्निचले लेखेका छन्, ‘हाम्रा कुनै पनि कर्मचारीको सुरक्षामाथि आउने धम्की (सार्वजनिक धम्की मात्र होइन) लाई अत्यन्तै गम्भीरताका साथ लिन्छौं र यसबारे नेपालमा हामीलाई कस्तो कानूनी व्यवस्था उपलब्ध छ भनेर खोजविन गरिरहेका छौं ।’
‘अन्तरवार्तामा उल्लेखित एक-एक गल्तिहरुमा आफू जान चाहन्न, किनकि यो निकै लामो हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
के हो स्पोर्टर्‍याडर ?
स्पोर्टर्‍याडर एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वव्यापीरुपमा खेलकुदका तथ्यांंक विश्लेषण, सूचना संकलन तथा खोज-अनुसन्धान गर्दछ ।
एफएफसी र फिफाले टेक्निकल पार्टनरका रुपमा स्पोर्टर्‍याडरको सहयोग लिँदै आएका छन् । विश्वका ८० देशका आठ सय कम्पनीहरुले आफूसित सहकार्य गरिरहेको संस्थाको वेवसाइटमा उल्लेख छ ।
स्पोर्टर्‍याडर सेक्युरिटी सर्भिसेजले विशेषगरी बाजीमा आधारित म्याच फिक्सिङका विरुद्धमा लड्नका लागि विभिन्न खेलकुद महासंघ तथा क्लवहरुलाई सहयोग गर्दै आएको छ । एएफसीको अनुरोधमा यसले नेपालको म्याच फिक्सिङका विषयमा एक वर्षभन्दा अगाडीदेखि अनुसन्धान गर्दै आएको थियो । उसले जुटाएका प्रमाण एएफसीका प्रतिनीधिहरु नेपालमा आएर प्रहरीलाई उपलब्ध गराएका थिए ।
फिक्सिङबारे विप्लवको व्लग
आफ्नो वेवसाइट रंगशाला डटकममा शुक्रबार मात्रै उनले नेपालको म्याच फिक्सिङका विषयमा ब्लग लेखेका छन् । अंग्रेजीमा लेखिएको ब्लगको सार यस्तो छ :
सन् २००८ को अक्टोबरमा मलेसियाको साह अलाम रंगशालामा म मण्डेका कप अन्तरगत नेपाल र सियरा लियोनको म्याच हेर्न पुगेको थिएँ । त्यतिबेला म एएफसीको क्वालालम्पुर कार्यालयमा काम गर्थेँ । रंगशालामा उक्त म्याच हेर्न आठ सयदेखि एक हजार नेपाली फ्यानहरु पुगेका थिए, जसमध्ये धेरै श्रमिकहरु थिए । उनीहरु रंगशालामा आफ्ना हिरोहरुको हौसला बढाउन नेपाली झण्डा फहराइरहेका थिए ।
यदि कहलिएका म्याच फिक्सर विल्सन राज पेरुमलको भनाई विश्वास गर्ने हो भने उक्त म्याच पहिल्यै ‘फिक्स’ गरिएको थियो । हालै नेपालका ५ खेलाडीहरुलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएको र एएफसीले उनीहरुलाई आजीवन प्रतिवन्ध गरेको सन्दर्भलाई  जोड्ने हो भने उनको भनाईलाई विश्वास गर्न करै लाग्छ । नेपाली श्रमिकहरुले जसलाई हिरो ठानेका थिए, उनीहरु वास्तवमा भिलेन रहेछन् ।
आफ्नो किताबमा पेरुमलले विस्तृत विवरणसहित सियरा लियोनको यू-२० टिमविरुद्धको म्याच हार्नका लागि नेपाली टिमलाई आफूले पैसा दिएको दावी गरेका छन् ।
फुटबलमा एकदमै कमजोर अफ्रिकन देशको युवा टिमसित नेपालको बलियो राष्ट्रिय टिम हार्न पुगेको थियो । त्यो पनि सियरालियोनका एक खेलाडी रेडकार्ड खाएर सुरुमै मैदानबाट बाहिरिएको अवस्थामा । नेपालले १-३ ले नतिजा सुम्पदा दुई गोल खेलको अन्त्यमा खाएको थियो । पेरुमलले ती दुवै गोल जानाजान खाएको दावी गरेका छन् । यसरी म्याच फिक्स गर्ने नेपाली खेलाडीहरुले पैसा पाए भने फ्यानहरुले निराशा ।
केहि व्यक्तिहरुले म्याच फिक्सिङ गर्ने खेलाडीहरुप्रति सहानुभूति दर्शाउदै उनीहरुको सेवा-सुविधा राम्रो नभएकाले आफ्नो परिवार पाल्नका लागि यस्तो काम गर्न वाध्य हुनुपरेको तर्क पनि गरिरहेका छन् । यो एउटा विकृत सोचाई मात्रै हो । पैसा छैन भन्दैमा अपराध गर्न कसैलाई छुट हुँदैन । त्यसमाथि यो त देशविरुद्ध गद्दारीको कुरा हो । यी खेलाडीहरुले विश्वभरी रहेका नेपाली फुटबलका फ्यानहरुसित माफी माग्नुपर्छ ।
को हुन् विप्लव गौतम ?
राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमका छोरा विप्लव गौतम नेपाली मूलका अमेरिकी नागरिक हुन् । हाल उनी सिंगापुरमा बस्छन् ।
सन् २०१४ देर्खिदेखि स्पोर्टर्‍याडरमा काम गर्न थालेका विप्लव केहि वर्षअघि एएफसीमा डेभलपमेन्ट अफिसर थिए । उनले भारत, बहराइन, इरान, ओमान, फिलिपिन्स र स्पेनमा फुटबल विकास परियोजनाहरुको समन्वय गरेका थिए । अहिले एएफसी र स्पोर्टर्‍याडरबीच समन्वयको जिम्मेवारी उनलाई छ ।
त्यो भन्दा पहिले उनी नेपालको मच्छिन्द्र फुटबल क्लवमा मार्केर्टिङ डाइरेक्टर थिए । त्यतिबेला मच्छिन्द्रलाई रेलिगेसनबाट बचाउन उनले विभिन्न चलखेल गरेको चर्चा चलेको थियो । उनी सन् २०१३ मा फिफा अवार्डको जुरीमासमेत थिए । उनलाई नेपालको खेलकुदमा योगदान पुर्‍याएको भनेर एनआरएनएले सन् २०१४ मा सम्मानित गरेको थियो ।
विप्लवमाथि सागर थापाले दुई आरोप लगाएका छन् । पहिलो, मच्छिन्द्र क्लवमा रहँदा म्याच फिक्सिङका लागि महेन्द्र पुलिस क्लवका खेलाडीलाई पैसा अफर गरेको र दोस्रो गणेश थापासितको दुश्मनीका कारण आफूलाई म्याच फिक्सिङमा फसाएको । दुवै विषयमा उनको धारणा जान्न अनलाइनखबरले इमेलमार्फत् अनुरोध गरेको भए पनि उनले जवाफ पठाएनन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment