बढेका बढ्यै भूकम्पपीडितको घर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २६, २०७२- वास्तविक घरधुरीभन्दा बढी घर पूर्ण क्षति भएका केही भूकम्प प्रभावित जिल्लामा थप परिवारले आंशिक क्षति भएको भन्दै प्रमाणित गरेको भेटिएको छ । आंशिक क्षति भएको संख्या जोड्दा वास्तविकको तुलनामा पीडित परिवारको संख्या निकै बढी हुन्छ ।
दोलखाको जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पबाट पूर्ण क्षति भएका घरको संख्या ८४ हजार ८ सय ४८ रहेको अद्यावधिक गरेको छ । यो संख्या २०६८ को जनगणनाभन्दा झन्डै ३६ हजारले बढी हो । त्यसमा पनि थप ३ हजार १ सय २० जनाले घर आंशिक क्षति भएको भनेर प्रमाणीकरण गरेको भेटिएको छ । आंशिक र पूर्ण रूपले क्षति भएका घरको विवरण जोड्दा दोलखामा कुल घरसंख्या ८७ हजार ९ सय ६८ हुन्छ ।
रामेछापमा भूकम्पले पूर्ण क्षति भएको घरसंख्या ५२ हजार ९५ पुगिसकेको छ । त्यसमा आंशिक क्षति भएका घरसमेत जोड्दा ६५ हजार २ सय ६८ हुन्छ । अघिल्लो जनगणनामा भने कुल घरसंख्या करिब ४४ हजार मात्रै थियो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले ८३ हजार ५३० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमाणित गरिसकेको छ, जसमा आंशिक क्षतिग्रस्त घर २३ हजार ७ सय १४ छन् । यो संख्या अघिल्लो जनगणनाभन्दा २७ हजारले बढी हो । कुल घरभन्दा बढी पूर्ण क्षतिग्रस्त घरको विवरण प्रमाणित गरेका अन्य जिल्लाहरूमा पनि आंशिक क्षतिग्रस्त घर पनि उत्तिकै भेटिएका छन् । यसले भूकम्प प्रभावित क्षेत्रमा संकलन गरिएको क्षतिको विवरण यथार्थपरक नभएको देखाउँछ ।
त्रिभुवन विश्वविद्यालयको जनसंख्या केन्द्रीय विभागका प्रमुख रामशरण पाठकले भूकम्पप्रभावित कतिपय क्षेत्रको तथ्यांक यथार्थपरक हुन नसकेको बताए । ‘जिल्ला प्रशासन कार्यालयमा प्रमाणित भइसकेका कतिपय तथ्यांक सही छैनन्,’ उनले कान्तिपुरसित भने, ‘हामीले पनि केही ठाउँमा स्थलगत अध्ययन गर्दा निकै कमी–कमजोरी भेटियो ।’ हाल भूकम्प प्रभावित केही जिल्लाको जनसांख्यिक अध्ययनमा व्यस्त पाठकका अनुसार राजनीतिक प्रभावलगायत कारणले गैरपीडितहरूले पनि नामावलीमा आफूलाई समावेश गरेको भेटिएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले वैशाख १२ को भूकम्पले आंशिक क्षतिग्रस्त भएका घर पनि २९ गतेको ठूलो कम्पनले पूर्ण क्षतिग्रस्त भएको भेटिएको बताए । ‘कतिपय विवरण यसरी पनि फेरबदल भएका छन्,’ उनले भने, ‘घर बनाउन अनुदान दिनुअघि फेरि एकपटक स्थलगत प्रमाणीकरण आवश्यक छ ।’ तर उनले आंशिक क्षतिग्रस्त घरको संख्या ७ सय ४७ मात्रै रहेको दाबी गरे । धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले पनि पूर्ण क्षतिग्रस्त घरको संख्या केही बढेर अद्यावधिक भए पनि आंशिक क्षतिग्रस्त घरको विवरण पुरानै रहेको बताए ।
गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखा तथा विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले अख्तियारको स्थलगत अध्ययन टोलीलाई बुझाएको विवरण र एक महिनायता अद्यावधिक भएको विवरण हेर्दा भूकम्पले पूर्ण रूपमा क्षति घरको संख्या नाटकीय रूपमा बढेको देखिन्छ । जनगणनाकै तुलनामा बढी रहेको पूर्ण क्षति घरसंख्यामा आंशिक क्षति भएका घरको विवरणसमेत जोड्दा तयार हुने विवरण अपत्यारिलो देखिन्छ ।
तथ्यांक विभागका उपमहानिर्देशक रुद्र सुवालले भूकम्पलगत्तै आपतकालीन राहत र पुनर्वासको प्रयोजनका लागि तथ्यांक संकलन भएकाले यसअघिको विवरण संकलनमा केही समस्या भएको हुनसक्ने बताए । ‘तत्कालीन राहतको प्रयोजनका क्रममा त्यतिबेला हतारहतार विवरण संकलन गरिएको थियो,’ उनले भने, ‘तथ्यांकशास्त्रीसहितको टोलीले नै अब घरधुरी सर्वेक्षण गरिरहेको छ । अब भने यथार्थ तथ्यांक नै आउँछ ।’
जानकारहरूका अनुसार, केही जिल्लाबाहेक अधिकांशमा आंशिक क्षतिग्रस्त घरको विवरण घटेको छैन । तर, पूर्ण क्षतिग्रस्त घरको विवरण भने बढिरहेको छ । गृह मन्त्रालयले दुई महिनाअघि तयार पारेको विवरणमा ३ लाख ३६ हजार घर आंशिक क्षतिग्रस्त रहेको उल्लेख छ । उनीहरूका लागि ३ हजारका दरले एक अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ ।
घर आंशिक क्षति भएकाहरूका लागि अन्य राहतको घोषणा नभएका कारण स्थानीय तहमा आंशिकभन्दा पनि पूर्ण क्षतिग्रस्त घरको परिचयपत्रका लागि निवेदन दिने क्रम बढदो छ । पूर्ण क्षतिग्रस्त घरसंख्या भने बढेर ७ लाख ७० हजार पुगेको छ । उनीहरूका लागि १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यसबाहेक न्यानो कपडाका लागि निकासा भएको बजेट अलग्गै हो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment