नाकाबन्दीले उद्योग धराशायी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २४, २०७२- मधेसी मोर्चाको अवरोध र भारतीय नाकाबन्दीपछि विनायक फुड इन्डस्ट्रिज करिब डेढ महिना बन्द भयो । यहाँ काम गर्दै आएका १८ मजदुरको रोजगारी गुम्यो । उनीहरू पेस्की लिएर परिवार पाल्न बाध्य भए ।
उद्योग सञ्चालक मीनेश मास्केमाथि आर्थिक भार थपियो । उत्पादन भइसकेका खाद्यवस्तु महिना दिनसम्म गोदाममै थन्किएपछि बिग्रिए । जसका कारण लाखौंको क्षति ब्यहोर्नुपर्‍यो ।

०६४ मा उद्योग स्थापना गरेयता यस्तो असहज अवस्था मास्केले झेलेका थिएनन् । राजनीतिक परिवर्तनसँगै भारतीय नाकाबन्दीले पहिलोपल्ट उद्योग बन्द भएको हो ।
बैंकबाट ऋण लिएर आधा करोड लगानीमा नेपालगन्जस्थित औद्यागिकी क्षेत्रमा स्थापना गरिएको उद्योगले भुजा, चिउरा, भटमासको मस्यौरा (सोयाबिन) उत्पादन गर्दै आएको छ ।
‘५० लाख लगानी गरेको उद्योग डेढ महिनासम्म बन्द भएपछि मजदुरहरू बेरोजगार भए । लाखौंको घाटा बेहोर्नुपरेको छ । कारोबार चौपट भएको छ,’ सञ्चालक मास्केको भने, ‘पहिलेको अवस्थामा आउन अझै धेरै समय लाग्न सक्छ । भारतबाट आयात गरिने खाद्यवस्तु र केमिकलको मूल्य एकाएक बढेको छ । त्यसको असर उपभोक्तामा परेको छ ।’
मस्यौरा, भुजा र चिउरा उत्पादनका लागि आवश्यक पर्ने केमिकल, भटमास, धान र चामल भारतबाट ल्याउने गरिएको छ । महिनामा ४ सय क्विन्टल भुजा र ५६ टन भटमासको मस्यौरा उत्पादन हुने गरेको छ । मासिक करिब ३ लाख रुपैयाँको कारोबार उक्त उद्योगले गर्दै आएको छ ।
‘डेढ महिनामा चार/पाँच लाख रुपैयाँ नोक्सान भयो । उत्पादन भइसकेको माल बिग्रिएर दोहोरो घाटा भयो । बैंकको ब्याज तिर्न निकै सास्ती भइरहेको छ,’ मास्केले भने, ‘उद्योग बन्द भए पनि खान दिनैपर्‍यो । परिवार पाल्न पेस्की दिएको छु । व्यवसाय नै धराप परिसक्यो ।’
भारतबाट केमिकल र खाद्यन्न बोकेका मालवाहक गाडी नाकामा रोकिँदा दैनिक ३ हजार भारु अतिरिक्त तिर्नुपरेको उनको गुनासो छ । उद्योगका लागि मगाइएका वस्तु बोकेका मालवाहक गाडी नाकाबन्दीका कारण एक सातासम्म पारि रुपैडिहामा फसेका थिए । त्यसले पनि आर्थिक नोक्सानी थपेको थियो ।
पछिल्लो समयमा नेपालगन्ज नाका सहज भएपछि उद्योग सञ्चालनमा आएको छ । मजदुरहरू काममा फर्किएका छन् । तर, सञ्चालक मास्के भने सन्तुष्ट छैनन् । भारतबाट खाद्य वस्तु आयात गर्दा ढुवानी खर्च बढेको छ ।
उपभोक्तासम्म उत्पादन गरिएका वस्तु पुर्‍याउन उस्तै महँगो भाडा तिर्नुपरेको छ । इन्धन अभाव भएका कारण भनेका बेला माल पुर्‍याउन मुस्किल भएको छ । ‘अझै पनि पहिलेजस्तो सहज अवस्था बनिसकेको छैन । त्यसैले उद्योग सञ्चालनमा समस्या भइरहेको छ,’ मास्के भन्छन्, ‘निर्वाध रूपमा काम गर्न सक्ने अवस्था छैन ।’
भारतबाट मगाउने केमिकल र खाद्य वस्तुमा महँगी बढेपछि उद्योगले पनि मूल्य बढाएको छ । ६० रुपैयाँ किलो बिक्री हुने भुजाको मूल्य ६७ रुपैयाँ पुर्‍याइएको छ । सोयाबिन प्रतिकिलो ८० बाट ८७ रुपैयाँ बढाइएको छ । यसले उपभोक्ताहरूको ढाड सेकेको छ ।
तर, उद्योगले भने बाध्यताबस मूल्य बढाउनुपरेको दाबी गरेको छ । उद्योग सञ्चालनमा आएपछि मजदुरहरू खुसी भएका छन् । उनीहरू आफ्नै काममा फर्किएका छन् । दैनिक ज्यालादारी र मासिक तलब बुझ्न पाएका छन् ।
‘नाकाबन्दीपछि उद्योग बन्द भयो । डेढ महिनासम्म बेरोजगार हुनुपर्‍यो । काम नभएपछि परिवार पाल्न निकै समस्या भयो,’ भुजा प्याक गर्दै आएकी मीना शर्माले भनिन्, ‘उद्योग चल्न थालेपछि केही राहत मिलेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment