युके इमिग्रेसन कडाइको चपेटामा नेपाली

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


बिस्तारामा होम अफिसको रेड,थैट दिमाग खराब भयो!', बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले आफ्नो गुनासो पोखे। के भयो भन्ने जिज्ञासामा उनले आफू बस्ने घरमा कोही मान्छे बिना भिसा  गैरकानुनीरुपमा बसेको छ भन्ने सूचनाको आधारमा होम अफिसका अधिकारीहरुले घरमा छापा मारेको बताए। तर उक्त घरमा सबै कानुनीरुपमै बसेको पाएपछि उनीहरुले क्षमा मागेर फर्किए।
 
बेलायतमा गैरकानुनीरुपमा बसेकाहरुमाथि इमिग्रेसनको निसाना परेसंगै विद्यार्थी लगायतको हैसियतमा कानुनीरुपमै रहेकाहरुलाई समेत सास्ती झेल्नु पर्ने अवस्था अाएको छ। उसो त पछिल्लो समयमा सयौँ कलेजहरु बन्द गरेर उनीहरुकै भनाईमा "जेन्यूईन" बाहेकका विद्यार्थीहरुलार्इ विस्थापित गर्न बेलायत सरकार सफल प्राय भइसकेको छ। जसमा धेरै नेपाली विद्यार्थीहरु समेत परेका छन्। अहिले  निश्चित  समयावधिपछि भिसा एक्सटेन्सन समेत गर्न नपाउने भएपछि सबैजसो नेपाली विद्यार्थीहरु समेत लाखा पाखा लागि सकेका छन्।
 
'अब भिसा बढ्ने आशा हरायो, यसै केही समय झुल्नको लागि एफ एल आर (फर्दर लीभ टु रिमेन) मा एप्लिकेसन हालेर बसेका छौँ, अब नेपालतिरै फर्किने हो, एक विद्यार्थीको जोडीले भने।'
बेलायतमा अहिले कतिपय नेपाली विद्यार्थीहरु नेपाल फर्किने उपयुक्त समयको पर्खाइमा  यहि क्याटेगोरीमा समय कटाइरहेका छन्। तर उनीहरुकै भनाईमा यसरी भिसा थपिने भनेको एक  झिनो आशा मात्रै हो । यसरी भिसा थप्न पठाउनेहरुलाई पनि तुरुन्तै रिजेक्ट गर्ने र घरबाटै पक्राउ गरेर डिपोर्ट गर्ने सम्मका आप्रवासीहरुमा नेपालीहरु पनि थुप्रै परेका छन्।
 
बेलायतमै कानुनी व्यवसायमा संलग्न सोलिसिटर राजु थापाका अनुसार एफ एल आर (फर्दर लीभ टु रिमेन) मा एप्लाई गर्नु भनेको भिसा थपिने आशाले नभएर एउटा अन्तिम विकल्पको अस्त्र मात्रै हो। 'यो क्याटेगोरीको निवेदन खासै सफल भएको  छैन र हुँदैन पनि थापाले भने।' उनका अनुसार  विरामी भएर फर्किन नसक्नु जस्ता विषम परिस्थितिको यो क्याटेगोरीको थ्रेशहोल्ड नै अप्ठ्यारो रहेको छ।  भिसा नथपिएका विद्यार्थीहरु अब फर्किनुको बिकल्प नभएको समेत उनले प्रष्ट्याए।
 
विगतकै वर्षदेखि विद्यार्थी र वर्क परमिटमा भिसामा हुनेहरुलाई समेत विभिन्न चेक जाँचको बहानामा अध्यागमनले सास्ती दिएको थियो। तर हालैका दिनमा अध्यागमन अधिकारीहरु  घरमै आएर समेत धर पकड गरी समात्ने घटनाहरु बढ्न थालेका छन्। कतिपयलाई त डिपोर्ट पनि नगरेर डिटेन्सन सेन्टरमा राखिएको छ। ओभर स्टे बस्नेहरुलाई जेलसम्मको सजायको प्रावधान सरकारले गरिसकेको छ। 
 
बिना भिसा गैरकानुनीरुपमा बस्ने नेपालीको संख्या न्यून रहेको बताइएपनि कडाइको चपेटामा नेपाली विद्यार्थीहरु पर्ने गरेका छन्। 'उनीहरु निहुँ खोज्ने बाहनामात्र खोजिरहेका हुन्छन्, कहिले कामको कुरा उठाउँछन् त कहिले अध्ययनमा प्रगति गर्न नसकेको, विद्यार्थी हैसियतमै रहेका एक नेपालीको भनाई थियो।
 
पुरानो ठेगानाको आधारमा भिसा सकिएर पनि देश नछाडेकाहरुलाई होम अफिसले खोज्दै आउने गर्दा अन्य मान्छेहरु समेत फन्दामा पर्ने गरेका छन्। बेलायतमा घरमा मात्रै होइन आजकाल ट्रेन स्टेसन लगायतका पब्लिक स्थानहरुमा समेत इमिग्रेसन क्रस चेक गर्न थालिएको छ । कुनै घटनामा संलग्न हुना साथ पहिलो चेक जाँच इमिग्रेसन कै गर्ने गरिन्छ। 
 
घरमै छापा मारेर भिसा बाँकी रहेकाहरुलाई समेत अनेकन प्रश्न प्रतिप्रश्न गर्ने, कागज पत्रहरु केलायर हेर्ने अनि कतै कुनै छिद्र फेला पर्योक भने त्यसमै निहुँ खोजेर समात्ने जस्ता क्रियाकलापलाई कसैले बेलायती अध्यागमन नीतिको पाराकाष्ठा बताउँछन्। तर अध्यागमन नियन्त्रणको लागि विद्यार्थी भिसाको दुरुपयोगलाई ठहर गर्दै आँखा चिम्लिएर लागि परेको सरकारले उक्त आंकडामा परिवर्तन समेत ल्याइसकेको छ।
'मलाई त बिस्ताराको कपडामै केरकार गरे, मेरो सबै ठिक थियो र फुत्कें तर दुईजना नेपाली साथीहरुलाई डिपोर्ट गर्यो, डेढ महिना अगाडि घरमा परेको अध्यागमन छापाबारे एक नेपाली विद्यार्थीले भने।'उनका साथीहरु भने काम गर्ने अनुमति नहुँदा नहुँदै काम गरेको कागजात फेला परेपछि समातिएका थिए। अहिलेको परिवर्तित नियम अनुसार युनिभर्सिटी बाहेकका  कलेज पढने विद्यार्थीहरुलाई  पार्ट टाइम काममा समेत प्रतिवन्ध लगाइएको छ।
 
कतिपय नेपाली विद्यार्थीहरु  भिसाको बाटो साँघुरिदै गएपछि  गत वर्षदेखि नै विद्यार्थीहरु वर्क परमिटतर्फ स्विच गर्नेमा लागेका थिए। तर अहिले आएर होम अफिसले  वर्क परमिट निकाल्न व्यवसायलाई उतिखेर दिइएको लाइसेन्स भकाभक खारेज  थालेपछि पैसा खर्चिएर परमिट निकाल्नेहरु समेत बिलखवन्दमा पर्न थालेका छन्। खास गरेर रेस्टुरेन्ट व्यवसायबाट विभिन्न पेशामा वर्क परमिट निकाल्नेहरुलाई पनि सानो तिनो बाहनामा लाइसेन्स खारेज गरिनुले एकातिर कामदारहरु अप्ठ्यारोमा परेका छन् भने अर्कोतर्फ  व्यवसायीहरु पनि ठूलो मर्कामा परेको बताउँछन्। 
 
'यति लामो समय यता बसेर अन्तिममा यता न उता भइयो,  पीआरको लागि क्वालीफाई हुन जम्मा ६ महिना बाँकी हुँदा आफूले काम गर्ने रेस्टुरेन्टको स्पुन्सरशिप रद्द भएपछिको दुखेसो एकजनाले यसरी पोखे।' अहिलेसम्मको नियम अनुसार वर्क परमिटमा पाँच वर्ष बिताउनेहरुले पीआर पाउने गरेकोमा अब आम्दानीको रेसियो बढाएर वार्षिक ३५ हजार पाउण्ड बनाइएको  छ। 'असम्भव प्राय आम्दानि हुनुपर्ने प्रावधान राख्ने भनेको सिधै दिँदैनौ भनेको जस्तै हो, नियममाथिको आक्रोस एकजनाले यसरी पोखे ।'
 
देश छोडेर लामो समय विदेशमा बिताएकाहरुलाई अब आफ्नो करियर कता शुरु भन्ने चिन्ता सामान्यतया देखिन्छ। कतिपय विद्यार्थीहरु स्वदेश फर्किएर आफ्नो क्षेत्रमा लाग्ने प्रणमा छन् तर देशले गति लिन नसकेर रोकिएका अवसरहरुलाई नियाल्दै फेरि विदेशकै चक्करमा लाग्नेहरुको सख्या पनि कम छैन।
 
बिना भिसा गैर कानुनीरुपमा बस्नेहरुको लागि त बेलायत केही वर्ष पहिले देखिनै गन्तव्यको आकर्षणमा थिएन। गैर कानुनी कामदारलाई काम दिएको पाएमा काम दिने व्यक्ति वा व्यवसायलाई हजारौँ पाउण्ड जरिवाना र जेल सजायसम्मका प्रावधानहरु राखेपछि यो अध्यायको अन्त्य भइसकेको छ। त्यसमाथि गैरकानुनी आप्रवासीलाई घर भाडामा दिने घरमुलीलाई समेत कारवाही गर्ने व्यवस्था समेत नयाँ नियममा गरिएको छ ।
 
नेपालबाट वैदेशिक अध्ययनको लागि राम्रो गन्तब्य मानिने बेलायतमा विद्यार्थीहरुले पाउने सुबिधा पनि कटौती हुन थालेपछि तेस्रो मुलुकबाट आउने विद्यार्थीहरु अन्य देशतर्फ डाइभर्ट भएको भन्दै यहाँका युनिभर्सिटी तथा विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्ने गरेका छन्। बेलायत सरकारले अध्यागमन कडाइको नीतिलाई अझै प्रभावकारी बनाउँदै लैजादा यसको चपेटामा अन्य देशका आप्रवासी जस्तै नेपालीहरु समेत परेका छन्। बेलायतमा एक लाख भन्दा बढी नेपालीहरू स्थायीरुपमा सेटलमेन्ट लिएर बसेका छन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment