प्रचण्डको पछि लागेर ल्हाक्र्याल किन पुगे बैंकक ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


सीता र प्रकाश पार्टीको खर्चमा बैंकक गएका होइनन्ः प्रवक्ता 

Prachanda With Lharkyal
प्रचण्डका साथमा प्रकाश दाहाल (१) र ल्हाक्र्याल लामा (२) 

२३ पुस, काठमाडौं । एमाओवादी सचिव वर्षमान पुनको उपचारमा खर्च अभाव भएको गुनासो परिवारबाट आइरहेका बेला अध्यक्ष प्रचण्ड पत्नी र छोरालाईसमेत लिएर बैंकक पुगे । प्रचण्ड स-परिवार बैंकक गएकोमा सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।
सभामुख ओनसरी घर्ती आफ्नो श्रीमान गम्भीर अवस्थामा भएका बेला बैंकक जानु आवश्यक थियो । पार्टी अध्यक्ष भएका हिसाबले अभिभावकत्व प्रदर्शन गर्न र वर्षमानको स्थिति बुझ्नका निम्ति अध्यक्ष प्रचण्ड बैंकक पुग्नु राम्रै हो ।
तर, प्रचण्डकी पत्नी सीता दाहाल र छोरा प्रकाश सँगसँगै किन बैंकक गए ? वर्षमानको उपचार खर्चसम्बन्धी अनलाइनखबरमा प्रकाशित समाचारमा एक पाठकले यस्तो कमेन्ट लेखेका छन्- ‘उनीहरु त्यहाँसम्म आउजाउ गर्ने पैसा बिरामीको उपचारमा लगाएको भए राम्रो हुन्थ्यो कि ? प्रचण्ड बिरामी हेर्न गएका हुन् कि परिवार घुमाउन ?’
प्रचण्डपत्नी सीता र प्रकाश बैंकक आउजाउ गर्न लाग्ने हवाइ टिकट र त्यहाँ तीन दिन बस्दाखेरिको खर्च वर्षमानको उपचारमा लगाएको भए अर्थपूर्ण हुन्थ्यो भन्ने पाठकको आशय देखिन्छ ।
ट्राभल एजेन्सीले दिएको जानकारीअनुसार बैंकक जान-आउन एक जनाको हवाइ टिकटमा ४९ हजार ८ सय रुपैयाँ लाग्छ । सीता र प्रकाश दाहाल बैंक नगएको भए टिकमा मात्रै करिब १ लाख रुपैयाँ बच्ने थियो । त्यहाँ रहँदाको होटल खर्च बेग्लै हो ।
प्रवक्ता शर्मा भन्छन्- उहाँहरु पार्टीको खर्चमा जानुभएको होइन
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रचण्ड परिवारको बैंकक यात्रा ‘समाचार बनाउने विषय नभएको’ प्रतिक्रिया दिए । शर्माले भने, ‘उहाँहरु आफ्नो खर्चमा बैंकक पुगेर आउने हैसियत नभएको व्यक्ति होइन, यसलाई समाचार बनाइरहनु आवश्यक छैन ।’
प्रवक्ता शर्माले प्रचण्ड परिवार पार्टीको खर्चमा बैंकक नगएको दाबी गरे ।
ल्हाक्र्याल पनि सँगसँगै ?
प्रचण्डको अघिपछि लागेर ल्हाक्र्याल लामा पनि बैंकक पुगेका छन् । दुई वर्षअघि मात्रै एमाओवादीमा प्रवेश गरेका ल्हाक्र्याल व्यक्तिगतरुपमा वर्षमानका निकट होइनन् ।
एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्य मन्त्री बनाइएका लामाले दोहोरो नागरिकताको विवादमा परेपछि राजीनामा दिएका थिए । ०७० साल कात्तिक ५ गते एमाओवादीमा प्रवेश गरेका लामा दोस्रो संविधानसभा चुनावपछि समानुपातिक सभासद बन्न सफल भएका हुन् ।
लामा पैसाको बलमा समासद बनेको आरोप हालै एमाओवादी छाडेका नेता हेमन्तप्रकाश ओलीले लगाएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डका निजी सचिव जोखबहादुर महराले भने ल्हाक्र्याल र प्रचण्ड परिवार बैंकक सँगै नगएको बताए । ‘संयोगले एउटै प्लेन परेछ,’ महराले भने, ‘तर आ-आफ्नो हिसाबले छुट्टाछुट्टै जानुभएको हो ।’
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले पनि ल्हाक्र्याल आफ्नै खर्चमा बैंकक गएकाले प्रचण्डसित जोडेर नहेर्न आग्रह गरेका छन् । उनले प्रश्न गरे- ‘ल्हाक्र्याल लामा आफ्नो खर्चमा बैंकक पुगेर आउन नसक्ने व्यक्ति हो र ?’
निजी सचिव महराका अनुसार प्रचण्डका परिवार शुक्रबार नेपाल फर्किने कार्यक्रम छ । सभामुख तथा वर्षमान पत्नी ओनसरी घर्ती भने केही दिन उतै बस्ने भएकी छिन् । ल्हाक्र्याल कहिले फर्किन्छन् भन्ने विषयमा भने महराले बताउन चाहेनन् ।
खर्च समस्या छैन
एमाओवादी प्रवक्ता शर्माले वर्षमानको उपचारका लागि खर्चको व्यवस्थापन पार्टीले गरिरहेको बताए । पुनको उपचारका लागि भनेर अहिलेसम्म सहयोग संकलन कतै नगरिएको र सरकारबाट पनि सहयोग नभएको शर्माको भनाइ छ ।
‘पार्टीको र परिवारको तर्फबाट खर्चको व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘परिवारले यसमा कुनै गुनासो गरेको छैन’ पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसित सल्लाह गरेरै बैंकक लगिएको भए पनि सरकारसित अहिलेसम्म सहयोग नमागिएको उनले जानकारी दिए ।
यसैवीच प्रचण्डपुत्र प्रकाश दाहालले बैंककको ‘बाङ साङ बिच’ मा घुमघाम गरेको पारिवारिक फोटो फेसबुकमा पोष्ट गरेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment