घर-घरमा ग्यासको पाइप: बिदेशमा सम्भव, नेपालमा चुनौतीपूर्ण

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



डा. गोविन्द पोखरेल भन्छन्ः प्रधानन्त्रीमाथिको भाषण महत्वाकांक्षी



२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले घरघरमा ग्यासको पाइप पुर्‍याउने भाषण गरेपछि सामाजिक सञ्जालमा त्यसको मजाक उडाउने क्रम जारी छ । ग्यासको अभावमा दाउरा बालेर खाना पकाइरहेका देशबासीलाई प्रधानमन्त्रीको भाषण उटपट्याङजस्तो लागिरहेको छ ।
गत शुक्रबार एमाले कार्यकर्ताका सामु प्रधानमन्त्रीले भनेका थिए, ‘मैले अलिकति समय पाएँ भने सिलिन्डरको फेज नै समाप्त पारिदिन्छु । पाइपबाट घरघरका चुलोमा ग्याँस पुर्‍याइदिन्छु । त्यसपछि सिलिण्डर काँधमा बोकेर हिँड्नै पर्दैन ।
जनतालाई बिजुली र खानेपानीसमेत दिन नसकेको सरकारले खाना पकाउने ग्यास नै घरमा पुर्‍याउला भनेर कसैले विश्वास गरेका छैनन् । यद्यपि, यो विल्कुल असम्भव परिकल्पना भने होइन । विश्वमा थुप्रै देशहरु छन्, जहाँ पाइपबाटै घरघरमा ग्यास पुग्छ र उपभोक्ताले मिटर हेरेर पैसा तिर्छन् । दक्षिण एशियाली देशहरु पाकिस्तान र बंगलादेशले समेत यो प्रविधिको सफल प्रयोग गरिरहेका छन्
प्रधानमन्त्रीले आफ्नो भाषणमा कुन स्रोतबाट ग्यास वितरण गर्ने भन्ने खुलाएनन् । यद्यपि, विज्ञहरुका अनुसार यसका दुई विकल्प हुनसक्छन् । पहिले उपत्यकाको जमिनमुनि रहेको भूमिगत ग्यास उत्खनन गरेर खानेपानी जसैगरी पाइपमार्फत वितरण गर्ने । दोस्रो, विदेशबाट ग्यासको पाइपलाइन ल्याएर वितरण गर्ने । प्रधानमन्त्रीेले जमीनमुनीको ग्याँसको कुरा गरेको उनी निकटस्थहरुले अथ्र्याएका छन् ।
विगतमा उत्खनन गर्दा उपत्यकाका विभिन्न स्थानमा मिथेन ग्यासको खानी देखिएको थियो । काठमाडौंका इमाडोल, टेकु र टिकाथलीमा ग्यासको स्रोत पहिचान भएको पनि यसको विस्तृत अध्ययन हुन सकेको छैन । यद्यपि, खानी तथा भूगर्व विभाग अहिले यसमा अलिकति तातेको छ ।
विभागका निर्देशक सहदेवप्रसाद महतो भन्छन्, ‘२०-२५ वर्ष पहिले अन्वेषण गर्दा एक सय मिटर तल ग्यासको लेयर भेटिएको थियो । तर, त्यो धेरै पुरानो कुरा भएकाले पछिल्लो अवस्थाको विषयमा हामी फेरि अध्ययन गर्दैछौं ।
उनले विस्तृत अध्ययनपछि मात्रै यसको पर्याप्तता र सम्भावित लागतका विषयमा भन्न सकिने उल्लेख गरे । यसका लागि स्वदेशमा प्राविधिक जनशक्ति र स्रोत-साधनको अभाव रहेको भन्दै महतोले विदेशी कम्पनी भित्र्याउनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए ।
महत्वाकांक्षी भाषणः डा. पोखरेल

 
जमिनमुनिको ग्यास उत्खनन गरेर पाइपमार्फत घर-घर पुर्‍याउने काम सम्भव भए पनि प्रधानमन्त्रीले जति सजिलोसित घोषणा गरे, त्यति सजिलो भने छैन ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा उर्जाविद डा. गोविन्द पोखरेल प्रधानमन्त्रीले बोलेका कुरा प्राविधिकरुपमा सम्भव भए पनि अहिलेको परिवेशमा अत्यन्त चुनौतिपूर्ण रहेको विश्लेषण गर्छन् ।
पाइपमार्फत ग्यास वितरण गर्ने कुरा विश्वमा नौलो होइन र नेपालमा पनि गर्न नसकिने भन्ने छैन,’ उनले भने, ‘तर अहिलेको परिवेशमा हेर्दा यो अत्यन्त महत्वाकांक्षी सुनिन्छ । विगतदेखि हाम्रो काम गराईको तौरतरिकाले गर्दा पनि प्रधानमन्त्रीको भनाई विश्वासिलो बन्न नसकेको हो ।एउटा खोलामा पुल बन्न १० वर्ष लाग्ने देशमा यो काम सानो प्रयासले सम्भव नहुने उनको निश्कर्ष छ ।
कुनै विदेशी कम्पनी ल्याएर ३ महिनाभित्र अन्वेषण गराएर आर्थिक रुपमा पनि सम्भाव्य देखिएको खण्डमा सेनालाई लगाएर रातारात काम गर्न सकिने डा. पोखरेलले बताए । उनले भने, ‘आफ्नै देशको स्रोत प्रयोग गरेर यदि ग्यास निकाल्न सकिन्छ भने त्यो नराम्रो कुरा हुँदै होइन, तर यसनिम्ति ठूलो प्रतिवद्धता र लगानीसमेत चाहिन्छ ।
डा. पोखरेलले काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोरबाट ग्यास निकाल्नु तुलनात्मक रुपमा सहज विकल्प भएको औंल्याएका छन् । एउटा घरबाट निस्कने फोहोरले उक्त घरको १५ प्रतिशत ग्यास खपत पूर्ति गर्ने भन्दै उनले आमरुपमा प्रयोग गरिएको खण्डमा एलपिजी ग्यासको खपत न्यूनिकरण गर्न सकिने उल्लेख गरे ।
अलि ठूलो परिमाणमा फोहोर थुपारेको ठाउँबाट वरिपरीका घरलाई हुने गरी ग्यास उत्पादन गर्दा पनि राजधानीमा हजारौं घरहरु लाभान्वित हुन्छन्,’ उनले भने । फोहोरबाट ग्यास उत्पादन गर्न गृहस्थहरुलाई प्रोत्साहन गर्नका निम्ति सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने डा. पोखरेलको सुझाव छ । विगतमा १० हजार अनुदान दिने व्यवस्था भए पनि अहिले हटाइएको छ ।
किन भयो आलोचना ?

घरघरमा पाइपबाट ग्यास पुर्‍याउने प्रधानमन्त्रीको घोषणालाई किन हाँसोमा उडाईंदै छ त ? यसको प्रमुख कारण भनेको देशको विद्यमान संकटपूर्ण अवस्था हो । ग्यास अभावमा घरघरमा चुल्हो निभिरहेको र विजुलीसमेत नपाएर जनता अन्धकारमा बस्नुपरेको अवस्था अहिले छ ।
यस्तो परिवेशमा पाइपबाट ग्यास वितरण गर्ने र मिटर हेरेर बिल तिर्नेकुरालाई मानिसहरुले मजाकका रुपमा लिनु अस्वभाविक होइन । योजना आयोगका पूर्वउपाध्यक्ष डा. पोखरेल देशको प्रधानमन्त्रीमाथि यसरी हँसिमजाकको अवस्था आउनु राम्रो नभएको बताउँछन् ।
प्रधानमन्त्री भनेको व्यक्ति मात्रै होइन, संस्था हो, जुन संस्थासित देशकै मर्यादा जोडिएको हुन्छ,’ उनी भन्छन्, ‘एउटा गरीमामय संस्था हँसिमजाकको विषय बन्नु चिन्ताको विषय हो ।प्रधानमन्त्रीले बोलेको प्राविधिक हिसाबले प्रट्याएर जनमानसमा भ्रम चिर्ने जिम्मेवारी सल्लाहकार र विज्ञहरुको रहेको उनको भनाइ छ ।
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले भिजनका आधारमा बोलेको र यसलाई कार्यान्वयन गर्न सक्ने क्षमता रहेको दावी गर्छन् ।
उहाँले हचुवामा बोल्नुभएको होइन भन्ने कुराको व्यवहारिक पुष्टि हुनेछ,’ उनले भने, ‘केहि समय धैर्य गरौं ।उनले प्रधानमन्त्रीको आलोचना दुई किसिमले भएको बताए । एकथरीले पाइपबाट सोझै ग्यास वितरण हुन सक्छ भन्ने ज्ञानको अभावमा उडाएका छन् भने जान्नेबुझ्नेहरु प्रधानमन्त्री र एमालेप्रतिको पूर्वाग्रहका कारण आलोचना गरेका छन्,’ उनले भने ।
प्रधानमन्त्रीले भिजन दिनुभएको हो

विष्णु रिमाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

 
प्रधानमन्त्री भनेको एउटा राजनीतिज्ञ हो । राजनीतिज्ञसित भिजन हुन्छ । त्यहि भिजनका आधारमा उसले देश विकासका सपना देखेको हुन्छ । यसलाई कार्यान्वयन गर्ने काम प्राविधिकको हो भने सहजीकरण गर्ने काम प्रशासनयन्त्रको हो ।
प्रधानमन्त्री ओलीले बोल्नुभएको कुरालाई हाँसो ठट्टाको विषय बनाइनु दुर्भाग्यपूर्ण छ । उहाँले जे बोल्नुभयो, आफ्नो सुझवुझका आधारमा र भिजनका आधारमा बोल्नुभयो । कसैसित परामर्श नगरी मुखमा जे आयो त्यहि बोल्नुभएको होइन । सम्वन्धित निकायहरुसित उहाँले आवश्यक परामर्श र तयारी गर्नुभएको छ । ती सबै कुराहरु बाहिर ल्याउन सम्भव हुन्न ।
प्रधानमन्त्रीले लोडसेडिङ घटनाउन हावाबाट विजुली निकाल्ने कुरा गर्दा पनि धेरैले हावा भने । हावा पेटबाट आउँछ ?’ भन्ने ढंगका प्रश्नहरु गरिए । घामबाट विजुली निकाल्ने कुरा गर्दा एमालेको चुनाव चिन्हसित जोडेर व्यंग्य गरियो । जबकि हावा र घामबाट विजुली निकाल्ने काम नेपालमै सफल रुपमा भइरहेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचनाका दुई कारण रहेको पाएको छु । पहिलो कारण, जानकारीको अभाव हो । जसलाई सोझै पाइपबाट घरघरमा ग्यास पुग्नसक्छ भन्ने थाहा छैन, उनीहरुले यसलाई काल्पनिक कुरा सम्झेर उडाएका छन् । अलि जानेबुझेकाहरु चाहिँ एमाले र प्रधानमन्त्रीप्रतिको पूर्वाग्रहले गर्दा आलोचनामा उत्रेका छन् ।
यस्ता आलोचनाबाट प्रधानमन्त्री डग्मगाउनुभएको छैन । आफूले वेठीक कुरा नबोलेकोमा उहाँ विश्वस्त हुनुहुन्छ । बरु अहिले भइरहेका आलोचनाले आफ्नो परिकल्पना साकार पार्न उहाँलाई थप दवाव महसुस भएको छ ।
विगतमा कृष्णप्रसाद भट्टराईले मेलम्चिबाट पानी ल्याएर काठमाडौंवासीको तिर्खा मेट्ने कुरा गर्दा काठमाडौंका पर्खालमा कस्ता नारा लेखिएका थिए भन्ने मलाई याद छ । काठमाडौंमा मुख धुने पानी छैन, सडक धुने फुर्ति । के सन्त तन्त्रमन्त्र, जनता ढाँट्ने जुक्तिभनेर लेखिएका अहिले पनि मेटिएका छैनन् होला । तर, मेलम्चीबाट पानी आउन सक्छ भनेर अहिले सबै विश्वासमा छन् नी । ढिलाई हुनु आफ्नो ठाउँमा छ ।
प्रधानमन्त्रीले केहि समय पाएको खण्डमा पक्कै पनि आफ्नो भिजनप्रति जनतालाई विश्वासमा लिन सफल हुनुहुनेछ । नचाहिँदा कुराहरु उछालेर प्रधानमन्त्रीलाई असफल बनाउन खोज्ने तत्वहरु आफैं असफल हुनेछन् । मेरो सबैसँग आग्रह के छ भने प्रधानमन्त्रीले दिएको विकासको भिजनमा साथ दिनुस, यदी साथ दिन सक्नुहुन्न भने पनि विरोधको धुलो उडाएर नहिँड्नुस् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment