पृथ्वीनारायणको शालिक ढाल्ने, जुद्धशम्शेरको परिक्रमा गर्ने ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पंक्तिकार साउदीमा कार्यरत रहँदा एक जना सादगी पत्रकार थिए । साउदीका ९० प्रतिशत नागरिक आफ्नै निजी मोटरमा यात्रा गर्छन् । अधिकांश नागरिक चुरोटका पारखी छन् । एक वा सो भन्दा बढी मोबाइल लिने मान्छे बाक्लै भेटिन्छन् । यी सुविधा र लत नभएका ती सादगी पत्रकार मूलतः नेपाली श्रमिकप्रति बढ्ता नरम भाव राख्थे ।
सप्ताहन्तमा नेपाली श्रमिक जम्मा हुने स्थान दम्माम गार्डेनमा बिहानै आइपुग्थे । सेन्सर गरिएका पत्रपत्रिका र नेपाली लोक भाकाका सीडी क्यासेट नेपाली श्रमिकलाई बाँड्थे । कलाकारमा बिमाकुमारी दुरा र नेतामा गिरिजाप्रसाद कोइरालाको नाम हमेशी उच्चारण गर्थे ।
यसको निश्चित कारण छ, दुराका लोकभाका समेटिएका सीडी क्यासेट नेपालीको बढ्ता रोजाइमा पर्थे । आफ्नो रिपोर्टिंगका शब्द कोइरालाका विषयमा बढ्ता खर्चेका उनले नाम त धेरैको लिन्थे तर, प्रचण्ड/बाबुरामको नाम लिँदा दायाँबायाँ हेरेर सावधानीपूर्वक लिन्थे ।
त्यहाँ नेपाली सबै बुद्व धर्मावलम्बी हुन भन्ने भ्रम छ । बुद्व दर्शनका उनी सामान्य जानकार हुन । पृथ्वीनारायण शाहको एकीकरण अभियान, सन् १८१६ को सुगौली सन्धि, दासढुंगा दुर्घटना र दरवार हत्याकाण्डको बिषयमा आफ्नो पेशालाई चाहिने जानकारी उनमा थियो ।
राजसंस्थाप्रति त्यहाँका नागरिकमा ठूलो सम्मान छ । पत्रपत्रिकामा पृथ्वीनारायण शाहको तस्वीर देख्नासाथ एकप्रति मेरा लागि सुरक्षित गर्थे । नारायण नारायण बृथ्वीनारायण ! भन्थे र मलाईं थमाउँथे । अरबीयन भाषामा ‘प’ उच्चारण हुँदैन त्यसैले हाम्रा पृथ्वीनारायण अरबीयनका बृथ्वीनारायण !
सन्दर्भ २९४ औं पृथ्वी जयन्ती
ती पत्रकारले साउदीमा नेपालीलाई त्यस्ता पुस्तक थमाउँदा यता नेपालमा पृथ्वी जयन्ती मनाउन छाडिसकिएको थियो । वि.स. १७७९ पौष २७ गते तत्कालिन गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मेका सुरबीर यी सन्तान आधुनिक नेपालका अधिष्ठाता हुन । वि.स. १८२५ बाट गणना हुने आधुनिक राजनीतिक नेपालका पिता हुन् ।
एकीकरणको विश्व इतिहास हामीले हाम्रा छिमेकी राष्ट्रतर्फ हेर्यौं भने यस्तो विरासत इतिहास बोकेको व्यक्ति भेटिँदैन । हिन्दुस्तानलाई एकीकरण गर्ने बेलायत हो । गान्धीलाई हिन्दुस्तान बेलायतको औपनिवेशिक पञ्जाबाट मुक्त गरेको योगदान स्वरूप भारतमा मात्र होइन, विश्वमै मानिन्छ । बेलायतको औपनेवेशिक अभिष्ट फैलिने क्रमले नेपाल प्रवेश गर्न किन पाएन ? इतिहासको निर्मम अध्ययन समकालीन नेपाली समाजले गरोस् ।

PrithviNarayanShah

पूर्व टिष्टा पश्चिममा किल्ला काँगडा देशको आधुनिक सीमाना पढेर शिक्षित भएका हामी धेरै छौं । छोटो समयको अन्तरालमा यो सीमाना किन खुम्चियो ? उनको पुस्ता गिर्वाण बिक्रमसम्मले धानेको एकीकरण अभियानमा बहादुर शाहको मुख्य भूमिका छ । यद्यपि, एकीकरण अभियानका अभियन्ता पृथ्वीनारायण नै हुन् ।
यस्तो मौलिक एकीकरण अभियानबाट सिंगो राष्ट्र बनेका विश्वका १७ प्राचिन देशमध्ये नेपाल एक हो । हामीलाई नै पटक-पटक दुःख दिने भारत हामीभन्दा झन्डै दुई सय वर्ष कान्छो देश हो । राष्ट्र एकीकरणको काम लिच्छवीकालीन र मल्लकालीन समयमा पनि भएका छन् । तर, देशको स्वामित्व सिमित परिवारमा निहित गर्ने अभिष्टले यो एकीकरण अभियानसँग त्यो एकीकरण अभियानले समान हैसियत राख्दैन् ।
हामी पृथ्वी जयन्ती मनाउने कि नमनाउने द्विविधामा छौं । अहिलेजस्तै नेतृत्वको अभाव त्योबेलामा हुन्थ्यो भने सायदै यो सानो भूपरिवेष्ठित भू-खण्डलाई एक स्वतन्त्र हिमाली राज्य भनेर कमै विश्वले चिन्थ्यो । महाभारत वनपर्वमा नेपाललाई जिल्लाको रुपमा वर्णन गरिएको छ । पृथ्वीनारायण शाहको एकीकरण साकार नहुनञ्जेलसम्म जिल्लाको परिचय साना-साना थुम-टाकुरे राज्यले ओगटेका थिए ।
पृथ्वीनारायणले त्यो शून्यताबाट उठेर नेतृत्व गरेका हुन् । एक स्वतन्त्र सार्वभौम राष्ट्रको नागरिक हामी त्यतिखेरै भयौं जतिखेर पृथ्वीनारायणले चन्द्रगिरीको डाँडाबाट देखिएको काठमाडौं उपत्यकालाई एकीकृत नेपालको राजधानी बनाउने महत्वकांक्षा वि.स. १८२५ मा पुरा गरे ।
पृथ्वीनारायणलाई बिर्सने कस्तो क्रान्ति ?
इमान्दार भएर कसैले भन्छ भने नेपालमा अहिलेसम्म जे भएको छ यात युद्व, यात सशस्त्रयुद्व वा हिंसात्मक झडप भएका छन् । यात सफल आन्दोलन भएका छन् । फ्रान्समा जस्तो क्रान्ति भयो त्यस्तो क्रान्ति भएकै छैन । क्रान्ति होइन, भ्रान्ति बढी भएको छ ।
पृथ्वीनारायणको शालिक ढालेर खुशीले बुर्कुसी मार्दै जुद्व शम्शेरको शालिक तीन फन्का परिक्रमा गर्ने अन्धो क्रान्तिले पृथ्वीनारायणलाई बिर्सनु स्वाभविक हो ।
नेपालमा पहिलो बैंक स्थापनाको योगदानमा सीमित जुद्वशम्शेरको शालिक सुरक्षित हुँदा पृथ्वीनारायणको शालिक सामन्ती र जातीय कबिलाका नाइके भनेर ढालिन्छ ।
पृथ्वीनारायण तिनै राजा हुन् जसले नेपालका निश्चित जातिलाई किपट जग्गा प्रदान गरे । त्यो वापत केही सम्झौता पक्कै भएका थिए होलान् । ०२१ सालमा भूमिसुधार ऐन लागुभएपछि यस्तो जग्गा रैकरमा बेच्न पाउने व्यवस्था भएको हो ।
दोस्रो प्युनिक युद्वपछाडि रोम साम्राज्यका आम नागरिकको अवस्था मूल्यांकन गर्नुहोस् । अहिलेको समयलाई हेरेर आजभन्दा २ सय ५० वर्ष अघिको कामलाई सराप्ने काम पूर्णतः निन्दनीय छ । जनकपुर जानकी मन्दिरका सन्त-महन्तलाई कुश बिर्ता दिँदा मैथली भाषामा लालमोहर लगाएर भाषाको सम्मान गरेका छन् । यो चिनारीको व्यक्ति कसरी कबिलाको नाइके हुन्छ ?
पृथ्वीनारायण शाहको मृत्यु र अझै बाँचेको कुटनैतिक क्षमताः-
इतिहास भन्छ, वि.स. १८३१ मंसिरमा काठमाडौंको जाडो छल्न नुवाकोट गएका उनी त्यहींको दरबारमा थला परे । त्रिकालदर्शी, भविश्यवेत्ता र अत्यन्तै पराक्रमी राजा आफ्नो प्रतिकूल बन्दै गएको स्वास्थ्यले बच्ने आशा गुमाइएको अवस्थामा त्रिशुली र तादी नदीको संगमस्थल देवीघाटमा ल्याइपुर्‍याइए ।
वि.स. १८३१ माघेसंक्रान्तिको दिन तिनको त्यहीं नै निधन भयो । देहावसान पूर्व उनले व्यक्त गरेका सन्देश दिव्योपदेशका रुपमा इतिहासले सुरक्षित गरेको छ ।
‘पाँडेको ढाल बस्न्यातको तरवार’ भन्ने दिव्योपदेशले दुई शक्तिसम्पन्न परिवार वीचको पारिवारिक सम्बन्ध स्थापनालाई बुझाउँछ । यसो गर्न सकेमा राष्ट्रको आन्तरिक क्षमता र सम्बन्ध मजबुत हुने उनको बुझाइ थियो । अहिलेको पार्टी-पार्टी, अन्तरपार्टी विग्रहले थला परेको मुलुकमा यो दिव्योपदेश फलदायी हुने कि नहुने ? ‘दक्षिणको बादशाह महाचतुर रहेछ’ भन्ने अभिव्यक्ति त्यतिखेरको दक्षिण अहिलेको भारतमा तत्कालीन समयमा औपनिवेशिकता जमाएर बसेको इस्ट इण्डिया कम्पनी हो । त्यहीँ सीमानामा जोडिएको छिमेकी राष्ट्र एक भूपरिवेष्ठित स्वाधीन राष्ट्रमाथि कदम-कदममा चतुरता स्थापित गर्न खोज्दै छ ।
कहाँ चुकेका रहेछन् पृथ्वीनारायण खोजी गरौँ न ? अहिले मन्त्रिमण्डलको घन्टौं लामो बैठकले टुंगो लगाउन नसक्ने मुद्दा हो र यो ? चाहे जुनसुकै पारिवारिक र संस्थागत पृष्ठभूमिका हुन उनको अद्वितीय क्षमताको अनुशरण हुनैपर्छ ।
‘देशको सुरक्षामा संलग्न जवानलाई जीवन र परिवार निर्वाहका लागि पुग्ने धनदौलत दिनु तर, अन्य प्रकारले धन आर्जन गर्ने अवसर बर्जित गरिदिनु’ भनेका छन् । उनको दिव्योपदेशले राष्ट्रको दायित्व निर्वाहमा खलल पुग्छ कि भन्ने पूर्वानुमानलाई धेरै टाढा जानुपर्दैन भर्खर एकाध घण्टामा करोडौं रुपैयाँ धरौटी रकम बुझाएर फुकुवा भएका जवानले देश, जनता र राष्ट्रका लागि के गरेका रहेछन् प्रष्ट हुँदैन र ?
‘नेपाल दुई ढुंगा वीचको तरुल हो’ । आफ्नो मौलिक संविधानमा हाम्रो माग मुद्दा सम्वोधन हुनुपर्छ भनेर हामीले भोग्दै आएको छिमेकी साखल्य कुटनैतिक अर्घेल्याइँ र उत्तरी सीमाना अवस्थित छिमेकीको मौन कुटनीतिले देशको भूराजनीतिक अवस्थालाई पृथ्वीनारायणको आँखाले आजभन्दा २७० वर्ष पहिले नै देखेको रहेछ भनेर मान्ने कि नमान्ने ?
सम्झनयोग्य दिन हो पुस २७
ती सादगी पत्रकारसँग अहिले सम्पर्क टुटेको छ । सायद, त्यो कर्म उनले टुटाएका छैनन् होला । एउटा स्वतन्त्र राज्यको मान्यता पाएको भर्खर शताब्दी मनाएको ती राष्ट्रका नागरिकले २३ सेप्टेम्बरलाई राष्ट्रिय दिवसका रुपमा मनाउँछन् । सप्ताहन्त वा पर्व विदा बाहेक छुट्टी हुने एक मात्र दिन यही हो । व्यक्ति पूजा मेरो पनि रोजाइमा पर्दैन । तर, पृथ्वीनारायणलाई बिर्साउने योगदान उनको सिंगो इतिहास हुँदै होइन ।
ख्याल गर्नुपर्छ, बि.स. १८२५ मै स्वतन्त्र राष्ट्रको नागरिक भएका हामी अहिलेसम्म किन परनिर्भर अर्थतन्त्रमा छौं ? यी वीचमा भएका राजनीतिक परिवर्तनले यी पेचिलो मुद्दा किन सम्वोधन गर्न सकेन ?
आफ्नो मौलिक इतिहास सुरक्षित गर्ने परम्परा पृथ्वीनारायणले नै शुरु गरेका हुन् । यो शृंखलाले वि.स. १८२५ देखि आजसम्म र अर्को २ सय ५० वर्षसम्मको इतिहास पनि सुरक्षित गर्नेछ । जिज्ञासु पाठकले पृथ्वीनारायणले शुरु गरेको आधुनिक नेपालको योगदान र यो अत्याधुनिक, नव-आधुनिक नयाँ नेपालका लागि योगदान खर्चिनेको भूमिका तौलिने छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment