प्रचण्डको दाबीः बाबुरामजी बाहिर हुनुभो, अब पार्टी बन्छ !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



'मधेसमा माओवादी हिलेको छैन, म सिराहा जान्छु'

११ माघ, काठमाडौं । प्रदेशहरुको पार्टी प्रशिक्षणका क्रममा देश दौडाहा सकेर काठमाडौं फर्केका एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले अबको दुई वर्षमा आफ्नो पार्टी पहिलो ठूलो दल बन्ने दाबी गरेका छन् । बाबुराम भट्टराई पार्टीबाट बाहिरिएपछि अब पार्टी मजबुत बन्ने प्रचण्डको तर्क छ ।
आफूले विभिन्न जिल्लामा पुगेर कार्यकर्तालाई भेट गर्दा उनीहरुमा उत्साह देखिएको प्रचण्डले अनलाइनखबरलाई बताए । प्रशिक्षणबाट फर्केपछि माओवादी कार्यकर्ताले गाउँ गाउँमा हुँकार गर्न थालेको आफूलाई कांग्रेस र एमालेका नेताहरुले सुनाएको उनले बताए ।
एमाओवादी पार्टी कसरी अबको दुई वर्षमा पहिलो दल बन्ला ? यसका पछाडि दुईवटा आधारहरु रहेको प्रचण्डको विश्लेषण छ । एक त राष्ट्रिय राजनीतिमा पार्टी नेतृत्वले खेलेको भूमिकाका कारण माओवादीको साख बढेको र दोस्रो, फुटेका माओवादीवीच पार्टी एकता गर्ने तयारी भइरहेकाले अब पार्टी पहिलो दल बन्ने उनले विश्वास व्यक्त गरे ।
केही वर्ष यता संविधान बनाउन व्यस्त हुँदा संगठन निर्माणमा ध्यान दिन नपाएकाले अब त्यता ध्यान दिने उनले बताए ।
मधेसमा बाबुराम भट्टराईप्रति सहानुभूति बढेको तर्कप्रति प्रचण्डले सोझै असहमति जनाए । रामचन्द्र झा र रामकुमार शर्माहरु केही पाउनलाई एमाओवादीमा आएका र नपाएपछि गएको भन्दै प्रचण्डले मधेसमा माओवादीको जनाधार एकरत्ति पनि नहल्लिएको दाबी गरे ।
दुई वर्षमा एमाओवादीलाई पहिलो दल बनाउने आधारहरुबारे प्रचण्डले अनलाइनखबरसँग यसरी कुराकानी गरे :
Prachanda
हाम्रो पार्टीमा फ्रस्टेसन त केही समयदेखि बढेकै हो । यो सबैले बुझेकै कुरा हो । केही विचलन र केही खालका विकृतिहरु पनि ठाउँ-ठाउँमा देखा नपरेका होइनन् ।
तर, अहिले खासगरी यो संविधान निर्माण प्रक्रिया भन्नोस्, सरकार निर्माण भन्नोस् या नाकाबन्दीको स्थितिको सामना गर्ने प्रतिवद्धता भन्नोस्, या भूकम्पपछि हामीले जे भूमिका खेल्यौं नि, मैले नै पार्टी अध्यक्षको नाताले सदन बोलाएर, संकल्प प्रस्ताव पास गर्न लगाएर राष्ट्रिय एकता यतिबेलाको आवश्यकता हो, हामी पार्टी पार्टी झगडा गर्यौं भने बर्बाद हुन्छ भन्ने यी सबै कामहरुबाट राजनीतिक साख चाँहि माओवादीको अलिकति बढेकै छ ।
अब संगठन बनाउने हो । किनभने डेढ-दुईवर्षदेखि संगठन बनाउनेतिर ध्यान केन्द्रित गर्न पाइएन । हामी संविधान जसरी पनि बनाउने भन्नेतिर बढी केन्द्रित भइयो । सडकबाट दबाव दिएर हुन्छ कि, सदनभित्रै संघर्ष गरेर हुन्छ कि वा वार्ताको टेबुलबाट हुन्छ भनेर संविधानलाई पहिलो प्राथमिकता दिइयो । संविधान घोषणा भइसकेपछि देशको राष्ट्रिय राजनीतिमा माओवादी पार्टीले खेलेको भूमिकाबाट आम जनतामा पनि अब फेरि नयाँ आशाको रक्तसञ्चार भएकै देखै मैले देशभरि घुम्दा ।
कार्यकर्तामा पनि पार्टीप्रति र लिडरसिपप्रति विश्वास जो वीचमा खस्केकै थियो, त्यो फेरि एकचोटि माथि उठेको महसुस पनि मैले गरें । र, अहिले हामीले केन्द्रीय समितिमा जे निर्णय गरेर गयौं, त्यो निर्णय गरेर गइसकेपछि र त्यसको व्याख्या गर्दा एउटा नयाँ आत्मविश्वास र नयाँ उत्साह आएको छ ।
“मैले दुई वर्षमा एक नम्बर पार्टी बनाउने भनेको छु,बनाउन सकिन्छ भन्ने विश्वास पनि छ”
साथीहरु अहिले धेरैले भन्छन् । अहिले एमालेकाले पनि र कांग्रेसकाले पनि भन्छन्, अहिले त माओवादी कार्यकर्ता प्रशिक्षण सकिएर गाउँमा गएपपछि त तिनीहरु त हुँकार गर्दै पो आएका छन् भनेर कांग्रेस एमालेका साथीहरुले पनि भने । त्यसैले फेरि एकचोटि अब गइन्छ, अब जितिन्छ भन्ने भएको छ ।
मैले दुई वर्षमा एक नम्बर पार्टी बनाउने भनेको छु । मलाई बनाउन सकिन्छ भन्ने विश्वास पनि छ ।
त्यसको आधार के हो भने एउटा त हामीले राष्ट्रिय राजनीतिमा देशको पक्षमा, जनताको पक्षमा खेलेको भूमिका र विगतका गल्ती कमजोरी सच्याउन गरेको प्रतिवद्धता हो ।
दोस्रो, माओवादीलाई फेरि एकतावद्ध गर्ने लाइनतिर जान हामी बल गर्दैछौं । विभाजित भएर केही हुँदोरहेनछ भन्ने जनताले पनि बुझे, कार्यकर्ताले पनि बुझे र नेताहरुले बुझे । त्यसकारण अब फेरि एकतातिर जाओस् भन्ने चाहना छ अहिले । यो कारणले पनि जनतामा विश्वास बढेको छ र एक नम्बर पार्टी बनाउन सकिन्छ भन्ने मलाई लागेको छ ।
त्यसकारण अहिलेको स्थिति हेर्नुहुन्छ भने अव सकारात्मक दिशातिर मोडियो । अब हामीले ध्यान कता केन्द्रित गर्‍यौं भने अब संविधान बन्यो, सरकार बन्यो, अब पार्टी बनाउनेतर्फ केन्द्रित छौं ।
एकजना साथीले भन्नुभएको थियो क्या केन्द्रीय समितिमा । यो मेरो भनाइ होइन है, एकजना साथीले भनेको कुरा हो । उहाँले के भन्नुभो भने वैद्यजी भइराखेको भए संविधान बन्नु दिनुहुन्थेन, बाबुरामजी भैराखेको भए पार्टी बन्न दिनुहुन्थेन । त्यसो भएकाले वैद्यजी बाहिर हुँदा संविधान बन्यो, बाबुरामजी बाहिर हुनुभो अब पार्टी बन्छ । यसभित्र एउटा मर्म छ ।
मधेसमा माओवादी हिलेको छैन, म सिराहा जान्छु
मधेसमा बाबुरामजीतिर बढी प्रभाव छ भनेर जति प्रचार गरे पनि त्यो हुनेवाला छैन । जति गरे पनि । पहिलो कुरा त हाम्रो जो रामचन्द्र झा, रामकुमार शर्मा कोही तमलोपाबाट, कोही एमालेबाट केही समय पहिला आएका मान्छेहरु हुन् । उनीहरु केही पाउनका लागि आएका थिए, नपाएपछि गए । मधेसको हाम्रो रियल माओवादी पार्टी, माओवादी जनाधार भन्नुहुन्छ भने कोही हिलेको (हल्लिएको) छैन । तपाई सांसद हेर्नोस् कि राजनीतिक नेता हेर्नोस् । पहिलेका माओवादीको ९९ भन्छु म, ९९ इन्ट्याक्ट छ अहिले पनि । त्यसकारण माओवादीको कोही गएको छैन ।
Ramchandra jha
जहाँसम्म म सिराहा गइँन भन्ने आरोप छ, पार्टीका साथीहरुले जाने कार्यक्रम बनाउनुभयो भने म जान्छु । मैले स्थानीय विकास मन्त्रालयलाई के भनेको थिएँ भने यो ‘जनताको संविधान, जनताको माझमा’ भन्ने कार्यक्रममा सिराहा जान्छु भनेको थिएँ । कुनै पनि दिन भन्नोस् म जुन दिन पनि सिराहा जान तयार छु भनेको छु ।
मलाई सिराहा जान केही गाह्रो छैन, उहाँहरुले नै कार्यक्रम बनाउन हिच्किचाइरहनुभएको छ । मैले त बरु किन कार्यक्रम नबनाएको भनेर सोधें । उहाँहरुले एक महिना थपियो त्यसो भएर बनाउँला भन्नुभो । म त जतिबेला पनि जान तयार छु । उहाँहरुले लान आँट गर्नुभएको छैन, न जतिबेला पनि जान तयार छु ।
एकचोटि गएर मधेसी जनताको वीचमा मेरो आफ्नो निर्वाचन क्षेत्रमा उभिएँ भने ठीक हुन्छ विश्वास छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment