विमानस्थल पूर्वाधारमा बजेटको १२ प्रतिशत मात्र खर्च

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्दै यसका विकासमा आक्रामक देखिए पनि खर्चमा भने अत्यन्त सुस्त देखिएको छ । 
सरकारले गत आर्थिक वर्ष पोखरा, लुम्बिनी, बारा र काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निमार्ण/सुधारमा ठूलो रकम विनियोजन गरे पनि नागरिक उड्डयन प्राधिकरणले १२ प्रतिशत मात्र खर्च गर्न सक्यो । यसबाट बढो पर्यटक चापलाई प्राधिकरणले समयमै व्यवस्थापन गर्न असमर्थ हुने देखिएको छ ।

प्राधिकरणका अनुसार गत वर्ष १३ अर्ब ३२ करोड पुँजीगत खर्च शीर्षकमा विनियोजन भएको थियो । त्यसमध्ये १ अर्ब ६४ करोड ७० लाख मात्रै खर्च गर्न सक्यो । प्राधिकरणले पुँजीगत खर्च कम हुनुमा ‘जग्गा अधिकरण समस्या, भूकम्प, बन्द, ठेकेदारको लापरबाही, स्थानीयको अवरोध, डेडिकेटेड फिडर लाइन जडान नहुनु, ढुंगा, बालुवा, गिट्टी माटोलगायत निर्माण सामग्री अभाव, बजेट विनियोजनमा ढिलाइ, अध्ययन परामर्श छनोटमा अल्झन, ऐनकानुनको अभाव लगायतको अवरोध’ भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारी दिएको छ । ‘मधेस आन्दोलन र भारतीय नाकाबन्दीले समेत असर गर्‍यो,’ प्राधिकरणका महानिर्देशक संजीव गौतमले भने, ‘खर्च मात्र हैन, आम्दानी पनि घट्ने छ ।’

प्राधिकरणले निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतम बुद्ध विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, हवाई क्षमता अभिवृद्धि आयोजना लगायतमा ठूला आयोजना सञ्चालन गरिरहेको छ । यी आयोजनाका लागि गत आर्थिक वर्ष विनियोजन गरेभन्दा चालू आर्थिक वर्ष ४६ प्रतिशत बढीले (१९ अर्ब रुपैयाँ) रकम छुट्याइएको छ ।
तर, आर्थिक वर्ष सुरु भएलगत्तै मुलुकमा भएको नाकाबन्दीका कारण प्राधिकरणले काम अघि बढाउन सकेको छैन । पहिलो चौमासिकमा पोखराबाहेक अरू आयोजनाको प्रगति सन्तोषजनक नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पोखराले ४ सय ५१ रोपनी जमिनमध्ये २ सय ७५ रोपनीको मुअब्जा वितरण गरेको छ । यसबाट पहिलो चौमासिकमा ६० प्रतिशत प्रगति भएको देखिन्छ । यो परियोजनाको चीन सरकारसँग ऋण सम्झौता मात्रै हुन बाँकी छ ।

चालू वर्ष प्राधिकरणले कुल बजेट २५ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ (चालू र पुँजीगत गरी) प्रक्षेपण गरेको छ । यो वर्ष विमानस्थल विकास शुल्कबाट १ अर्ब ५३ करोड तथा एरोनटिकल/ननएरोनटिकल आम्दानीबाट ३ अर्ब ८७ करोड ७६ लाख गरी ५ अर्ब ४० करोड आम्दानी हुने अनुमान गरेको छ ।

प्राधिकरणले भने गत आर्थिक वर्षभन्दा चालू वर्ष आम्दानी कम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७१/०७२ मा विमानस्थल विकास शुल्कसमेत गरी ६ अर्ब १० करोड ८७ लाख आम्दानी गरेको थियो । त्यस वर्ष ५ अर्ब ५७ करोड ९ लाख आम्दानी प्रक्षेपण गरेको छ ।
प्राधिकरण स्थापना भएपछि पहिलो पटक ०६८/६९ मा खुद सञ्चित नाफा आर्जन गरेको थियो । त्यस पछिका वर्षमा पनि यसले निरन्तर नाफा आर्जन गर्दै आएको छ । ०७१/०७२ सम्म कुल सञ्चित नाफा ४ अर्ब रुपैयाँभन्दा बढी छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment