भुवापर्वको चहलपहल सुरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

<b>Bhuwa</b> <b>Naach</b> Farwestern Nepal
 सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने भुवापर्व बाजुरामा सुरु भएको छ । 
 
पुसको औँसीको अघिल्लो रातिदेखि गाउँघरमा समुदायका व्यक्तिले एकै ठाउँमा भैलीभात खाँदै यो पर्व सुरु हुन्छ। भुवापर्व बाजुरा, बझाङ, अछामलगायत सुदूरपश्चिम र मध्यपश्चिमका साथै भारतको उत्तराखण्डमा भव्यरुपमा मनाउने गरिन्छ। 
 
त्रेतायुगमा पाण्डुका छोरा पाण्डव र धृतराष्ट्रका छोरा कौरवबीच कुरुक्षेत्रको लडाइँ पाण्डवले जितेपछि त्यस पक्षले खुसियाली मनाएको दिनको सम्झनामा यो पर्व मनाउने प्रचलन छ। भुवापर्वमा विशेषगरी विभिन्न धार्मिक आस्था समेटिएका मागल गाउनुका साथै जीवनचक्र, मायाप्रेम र पेसासँग सम्बन्धित विभिन्न मागल गाउँदै मनाउने र ती मागलको आफ्नै मौलिकता हुने ज्योतिष कुश्मराज पण्डितको भनाइ छ। 
 
बाजुराका बडिमालिका नगरपालिकाका साथै पाण्डुसैन, बह्रमतोला, आटिचौर, कुलदेवमाडौँ, कैलाशमाडौँलगायत सबैजसो गाविसमा यो पर्व विशेषरुपमा तीनदेखि पाँच दिनसम्म मनाइने श्री पण्डितले बताए। भुवापर्वमा रातभरि मुढामा आगो सल्काएर देउडा, भारीखेल, राँका बनाएर भोस्सोलगायत विभिन्न खेल खेलिन्छ। 
 
विशिष्ट मौलिकता रहेको भुवापर्व संरक्षणको अभावमा बिस्तारै लोप हुने अवस्थामा रहेको बडिमालिका नगरपालिका–९ का दले लवारले गुनासो गरे। 
 
लवार भन्छन्, “पहिला गाउँभरिका सबै एकै ठाउँमा जम्मा हुन्थ्यौँ दुःखसुख साटासाट गरिन्थ्यो। गाउँँमा गर्नुपर्ने महत्वपूर्ण निर्णय पनि सबै भेला भएको अवसरमा गरिन्थ्यो। स्थानीय संस्कृति झल्किने लाखेनाच प्रस्तुत गरिन्थ्यो, तर बिस्तारै आधुनिकता भित्रिन थालेपछि युवाले बेवास्ता गरेकाले यो भुवापर्व लोप हुने अवस्थामा पुगेको हो।” 
 
त्यस्तै वडा नम्बर ९ कै नन्दराम पण्डित भन्छन्, “सबै एकै ठाँउमा जम्मा भएर रमाइलो गर्दा अपनत्व हुन्थ्यो। सबैले यसलाई भुल्दै गए कुनै दिन इतिहासमा मात्र सीमित होला कि भन्ने चिन्ता लागेको छ।” रासस 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment