भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
सेयरको प्रमाणपत्र लिँदा घन्टौंसम्म लाइमा बस्नुपर्ने बाध्यात्मक अवस्था अब अन्त्य हुने भएको छ। नेपाल धितोपत्र बोर्डले डिम्याट खाता खोलेका लगानीकर्तालाई खातामै सेयर जम्मा गरिदिन कम्पनीहरुलाई निर्देशन गरेको छ।
बोर्डले सेयर फारम भर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्ने प्रावधान पनि ल्याउने तयारी गरेको छ। यो प्रावधानपछि सम्पूर्ण लगानीकर्ताहरुले डिम्याट खाता खोली खाताको बीओ आईडी नम्वर सेयर फारममा भर्ने छन्।
लगानीकर्ताले डिम्याट खाताको बीओ आईडी भरेपछि सोही नम्वरमा सेयर जम्मा हुने छ। यो व्यवस्थापछि कम्पनीको सेयर प्रमाणपत्र छपाईमा लाग्ने खर्च जोगिने छ भने लगानीकर्ताले बाँडफाँड भइसकेपछि सेयर चाँडो खातामा पाउने छन्।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार बाहिरी जिल्लाहरुमा डिपी (डिम्याट खाता खोल्ने संस्था)को पहुँच नभएकाले अहिले आईपीओ तथा एफपीओ सेयर आवेदकका लागि डिम्याट खाता अनिवार्य गर्न नसकिएको हो। यद्यपी खाता भएकाहरुका लागि भने खातामै सेयर जम्मा हुने छ।
बाहिरी जिल्लाहरुमा डिपीको पहुँच पुगेपछि आईपीओ वा एफपीओ सेयरका लागि अनिवार्य रुपमा डिम्याट खाता हुनुपर्ने प्रावधान ल्याउने तयारी भएको गिरीले जानकारी दिए। ‘काठमाडौंमा डिपीको पहुँच भएकाले यहाँ अनिवार्य गर्ने कि भन्ने सम्वन्धमा छलफल भइरहेको छ’ उनले भने।
फागुनको पहिलो साता एफपीओ सेयर खुल्ने तयारी भएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा पनि लगानीकर्ताहरुले यो अवसर पाउने भएका छन्। डिम्याट खाता हुने लगानीकर्ताले फारममा बिओ आईडी नम्वर भर्नुपर्ने व्यवस्था गरिने प्रबद्र्धक नागरिक लगानी कोषले जनाएको छ। कोषका उपव्यवस्थापक रोशनजंग कार्की भन्छन् ‘डिम्याट खाता हुनेहरुले प्रमाणपत्र लिन आउनुपर्दैन, खातामै जम्मा गरिदिन्छौँ।’
त्यस्तै खाता हुनेहरुको सेयर पनि चाँडो खातामा जाने उनले जानकारी दिए। यसबाट प्रमाणपत्र छपाईमा लाग्ने कम्पनीको लागत खर्च समेत घट्ने छ। कार्कीका अनुसार एउटा प्रमाणपत्र छपाई पुरा गर्दा करिब ४ रुपैयाँ लागत खर्च लाग्ने गर्दछ। यद्यपी डिम्याट खाता नहुनेहरु भने सेयर प्रमाणपत्र लिनका लागि लाइनमा बस्नुपर्नेछ। लिएको प्रमाणपत्रलाई डिम्याटमा जम्मा नगरेसम्म कारोवार भने हुन सक्दैन।
के हो डिम्याट खाता ?
कागजी सेयरलाई कम्प्युटराइज्ड गर्ने प्रणालीलाई डिमेट्रियलाइजेसन अर्थात अभौतिकरण भनिन्छ। यसैलाई छोटकरीमा डिम्याट भन्ने गरिएको छ। बोर्डबाट स्वीकृतप्राप्त डिपी (निक्षेप सदस्य)कोमा लगानीकर्ताले खाता खोली आफ्ना सेयरलाई कम्प्युटराइज्ड गर्नुपर्दछ।
सेयर कम्प्युटराइज्ड गरिसकेपछि एउटा विशेष चेक प्राप्त हुन्छ। सो चेकबाटै सेयरको खरिदविक्री हुन्छ। खरिद गर्नेको खातामा सेयर थपिन्छ भने बेच्नेको खाताबाट घट्छ। यसबाट कागजी सेयरको प्रचलन अन्त्य हुनेछ।
धितोपत्र बोर्डबाट हालसम्म ४९ वटा संस्थाले निक्षेप सदस्यता लिएका छन्। यीमध्ये नजिकमा रहेको वा सहजता मिल्ने सदस्यकोमा पुगेर लगानीकर्ताले डिम्याट खाता खोल्न सक्छन्। एउटा फोटो, नागरिकताको फोटोकपी लगेपछि खाता खोल्न सकिन्छ। खाता खोल्ने शुल्क १ सय ५० रुपैयाँ तोकिएको छ भने फारमको शुल्क लाग्दैन।
निक्षेप सदस्यका रुपमा लाइसेन्स पाएका कम्पनीहरुको सूची यस्तो छ
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment