'तेल नपाउँदा' एम्बुलेन्समै शिशुको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मृतक नातिलाई समातेर एम्बुलेन्समा बसेका घनश्याम। तस्बिर : देवेन्द्र
मृतक नातिलाई समातेर एम्बुलेन्समा बसेका घनश्याम। तस्बिर : देवेन्द्र
दाङ- रामपुर–६, बुकाकी लीला घर्तीको ६ दिनको नवजात शिशु एकाएक बिरामी परे। श्वासप्रश्वासमा समस्या देखिएपछि बिरामीलाई सोमबार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल पुर्याोइयो। बालरोग विशेषज्ञ छैनन् भन्दै अस्पतालले घोराहीकै निजी गोर्खा अस्पताल रेफर गरिदियो। गोर्खा अस्पतालका बालरोग विशेषज्ञ डा. कुवेरकुमार रेग्मीले उपचार असम्भव भन्दै बाहिर लैजान सल्लाह दिए।
नाबालकका बाजे हतारिँदै एम्बुलेन्स खोज्न राप्ती उपक्षेत्रीय अस्पताल पुगे। अस्पतालले बुटवलका लागि रेफर लेखिदियो। शिशुलाई एम्बुलेन्स चढाइयो तर डिजेल अभावमा एम्बुलेन्स गुड्न सकेन। झन्डै दुई घन्टासम्म तेलका लागि चालक भौंतारिए तर जोहो हुन सकेन।

नवजात शिशुको एम्बुलेन्समै मृत्यु भयो।

'तेल खोज्दाखोज्दै पाइएन,' मृतकका बाजे घनश्याम घर्तीले भने, 'दुई घन्टासम्म तेल खोज्न दौडिँदादौडिँदै नाति बित्यो।'

१२ बजे एम्बुलेन्स चढाइएका नाबालकको दुई बजेतिर मृत्यु भएको थियो।

एम्बुलेन्स चालकका अनुसार जिल्ला प्रशासनले पेट्रोलपम्प तोकेर कुपन दिए पनि त्यहाँ तेल छैन भन्दै फकाइयो। प्रशासनले गोग्लीस्थित बबी पेट्रोलपम्पलाई सरकारी कोटाको तेल दिन तोकेको थियो।

'सुरुमा कुपन लगेर पम्प गएँ,' रा१च ५८७ नम्बर एम्बुलेन्स चालक पोषण भण्डारीले भने, 'त्यहाँ पालो आएको छैन, तेल पनि छैन भनेर फिर्ता पठाइयो।' पम्पले तेल नदिएपछि बिरामी नाबालक बोकेको एम्बुलेन्स फेरि ट्राफिक प्रहरी कार्यालय फर्कियो। भनसुनका आधारमा प्रशासनले घोराहीस्थित अरुणोदय पेट्रोलपम्पमा गएर तेल हाल्न भन्यो तर त्यहाँ पनि तेल पाइएन।

'त्यहाँ गएको पनि पालो छैन, तेल छैन भनियो,' चालक भण्डारीले भने, 'बिरामी सिरियस छ भन्दा पनि कसैले सुनेनन्।'

प्रशासनले सिफारिस गरेका दुईवटै पम्पमा तेल नपाएपछि एम्बुलेन्स चालक तेलका लागि अनुरोध गर्न पुनः ट्राफिक प्रहरीसमक्ष पुगे। बिरामी नाबालकको त्यहीँ मृत्यु भयो।

'तेल नपाएपछि दिक्क भएर फेरि ट्राफिक प्रहरीलाई बिन्ती गर्न गएका थियौँ,' मृतकका बाजे घर्तीले भने, 'तेल पनि पाइएन, नाति पनि बचेन।' इन्धन अभाव देखाएर मानव जीवनमाथि खेलबाड गरिएको उनले गुनासो गरे।

'तेल पाएको भए मेरो नातिले उपचार देख्न पाउँथ्यो होला,' उनले भने, 'न यहाँ उपचार पायो, न तेल दिइयो।'

एम्बुलेन्सका लागि इन्धन व्यवस्थापन जिम्मा पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि एम्बुलेन्सले इन्धन नपाएका कारण बिरामी बालकको ज्यान गएको बताउँछ।

'तेल नपाएरै बिरामी बालकको ज्यान गएको भन्ने बुझिएको छ,' जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुणकुमार सिंहले नागरिकसँग भने, 'हामीले इन्धनको व्यवस्था गर्न पेट्रोलपम्पलाई अनुरोध गर्दा पनि नपाएको अवस्था भयो।'

यता, कोटाको तेल वितरणको अख्तियारी पाएको बबी पेट्रोलपम्पले आफूकहाँ तेल नभएकै कारण दिन नसकेको बताएको छ। कोटाको तेल वितरणको जिम्मा आफ्नो रहे पनि कोटाको तेल सबै सकिएकाले दिन नसकेको पम्पका बबी धितालले बताए।

'मेरोमा आएको चार हजार लिटर तेल पूरै सकिएको थियो,' धितालले भने, 'तेल नभएपछि मैले कसरी दिनू?' उनले आफ्नो पम्पमा तेल सकिएको भनेर सहायक प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको पनि बताए।

'मैले तेल सकियो भनेर आजै बिहान सहायक प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको हुँ,' उनले भने, 'तपाईं पनि आएर हेर्न सक्नुहुन्छ, पम्पमा तेल भए/नभएको।'

नेपाल आयल निगम तुलसीपुर भने इन्धन अभावका कारण बिरामीको ज्यानै जानु अति लापरबाही भएको बताउँछ। जिल्लामा हाल इन्धनको मात्रा अपुग अवस्थामा नरहेको भन्दै डिपोका प्रमुख विपीनकुमार श्रेष्ठले भने, 'यो त अति लाजमर्दो कुरा हो र चरम लापरबाही हो।' नाका सहज भएपछि जिल्लामा पर्याप्त इन्धन भित्रिइरहेको छ। उनका अनुसार गत २२ गते मात्रै ७२ हजार लिटर इन्धन भित्रिएको दाङमा २३ गते पुनः २० हजार लिटर भित्रिएको थियो। उनले सोमबार थप ९२ हजार लिटर इन्धन दाङ भित्रिएको पनि बताए। 'अहिलेको इन्धन आयातको परिमाण हेर्ने हो भने जिल्लामा अपुग नहुनुपर्ने हो,' उनले भने, 'तर वितरण व्यवस्थापन राम्रो नहुँदा मनपरी भयो।'

यता, जिल्ला प्रशासन कार्यालयले भने बिरामी बालकको मृत्युलाई तेल अभावसँग जोड्न नमिल्ने बताएको छ। तेल खोज्न एम्बुलेन्स दौडधुप भए पनि एम्बुलेन्स चढाइएको १० मिनटमै बालकको मृत्यु भएको आफूले खबर पाएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए। 'तेल खोज्न दुइटा पेट्रोलपम्पमा धाएको साँचो कुरा हो,' उनले भने, 'तर तेल नपाएर मृत्यु भएको भनेर यसलाई व्याख्या गरिनु हुँदैन।' उनले इन्धन सकिएको भनेर बताएको बबी पेट्रोलपम्पमा अनुगमनमा गएको र त्यहाँ इन्धन नभएको पाइएको बताए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment