ईश्वरले फिर्ता गरे आर्यनको आइफोन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एक लाखको आइफोन फर्काउने युवकसित आफ्नो मोबाइल छैन
aaryan
चिरञ्जीवी पौडेल
२५ माघ, काठमाडौं । गत शुक्रबार राति भुकम्प आउँदा नायक आर्यन सिग्देल आफ्नी पत्नी सपनाको हात समाएर राइजिङ मलमा सिनेमा हेरिरहेका थिए । उनको अर्को हातमा थियो आइफोन- ६ एस ।
फिल्म क्लाइमेक्समा पुग्दै गर्दा १० बजेर ५ मिनेटमा ‘सेकिङ मल’ मा परिणत भयो राइजिङ मल । ‘आयो…आयो’ भन्दै दर्शकहरु उफ्रिन थाले । एकैछिनमा भूईंचालो थामिएपछि आर्यन आईफोन र श्रीमतीलाई च्यापेर गेटबाट बाहिर दगुरे । क्लाइमेक्स न स्लाइमेक्स !
बाहिर निस्कँदा कोलाहलको वातावरण थियो । सबैजना हा-हातमा मोबाइल समातेर फोन ट्राइ गरिरहेका थिए । आर्यन गाडीमा चढ्न आँट्दा उनको दोस्रो सेट (जून सपनाको पर्समा थियो) भाइब्रेट भयो । आर्यनले कुरा गरे ।
‘अर्को फोनमा कुरा गर्दा पहिले हातमा बोकेको आइफोन गाडीको छतमा राखेछु,’ आर्यनले अनलाइनखबरसित भने, ‘कुरा गरिसकेर गाडीभित्र बस्यौं, फोन त्यहिँ रह्यो ।’
राइजिङ मलको गेटबाट स्वाट्ट गाडी मोड्नासाथ छतमा रहेको आइफोनले सडकमा हाम्फाल्यो । भित्र आफ्नै सुरमा गाडी हाकेर आर्यनका दम्पत्ति घर पुगे । घर पुग्नासाथ आर्यनले झल्यास्स सम्झे ।
‘खोइ त मोबाइल ?’ उनले सपनालाई सोधे ।
‘कोनी त ।’ सपनाले अनभिज्ञता दर्शाइन् ।
त्यसपछि उनी हतारिँदै गाडीको छतमा हेर्न गए । छत चुपचाप थियो । उनले आइफोन गाडीबाट खसेको ठहर गरि यसलाई आफ्नो १३ औं ‘मोबाइल सहिद’ को सुचीमा राखेर मनमनै श्रद्धान्जली दिए ।
‘एकचोटी फोन गरि हेरौं न ?’ सपनाले सुझाइन् ।
‘ह्या अफ गरिसको होला,’ उनले रुची दिएनन् ।
सपना आफैंले नम्बर डायल गरिन् । फोन उठ्यो । ‘उठ्यो उठ्यो’ भन्दै उनले फोन आर्यनलाई दिइन् । आर्यनले बोलेको उनले एकतर्फीरुपमा सुनिन् ।
‘हेलो’
….
‘को बोलेको ?
……
‘त्यो मोबाइल मेरो होनी । तपाईंले कहाँ भेट्नुभयो ?’
……
ल, म पाँच मिनेटमा आइपुग्छु । तपाईं कहाँ नेर हुनुहुन्छ ?
…..
ईश्वरको हातमा मोबाइल
ईश्वर श्रेष्ठ (२५) दरबारमार्गस्थित शेर्पा मलमा रहेको रेड कार्पेट रेस्टुरेन्टमा काम सकेर डेरामा फर्किने सुरसार गर्दै थिए । एक्कासी भुकम्प आएर भागदौड मच्चियो । अरुसँगै उनी हाँपझाँप गर्दै सडकमा ओर्ले । सडकमा सबैजना मोबाइलबाट आ-आफ्ना घरमा फोन ट्राइ गरिरहेका थिए । ईश्वरकी श्रीमती डेरामा एक्लै थिइन् । तर, उनी फोन गर्नतिर नलागी हतारहतार बाटो नाप्न थाले ।
राइजिङ मलको गेट अगाडि पुग्दा एउटा कारले उत्ताउलिदै बाटो काट्यो । उनले देखे, कारबाट खसेर एउटा मोबाइल सडकमा उत्तानो परेको छ । दायाबाया हेर्दै उनले टिपे । उत्ताउलो गाडी बत्तिदै कुदिसकेको थियो । उनले नम्बर नोट गर्नसम्म भ्याएनन् ।
ईश्वरले मोबाइल ओल्टाइपल्टाई गरे । आइफोन ६ एस थियो । स्त्रिmन अन गर्दा झ्याप्प दाह्री पालेको तर चिरपरिचित जस्तो अनुहार देखियो ।
‘आर्यन सिग्देल जस्तै रैछ,’ उनले मनमनै भने ।
Ishor Shrestha
राइजिङ मलको गेटमा एक अधवैसे गार्ड गोजीमा हात हालेर उभिएका थिए । ईश्वरले उनी नजिक पुगेर भने, ‘दाई हलबाट निस्केको मान्छेेले आइफोन खसायो । खोज्दै आउला, तपाईंले दिनु है ।’
गार्डका आँखा चम्किए । ‘ल ठिक छ, ठिक छ तिमी जाउ,’ भन्दै उनले मोबाइल आफ्नो भित्री गोजीमा हाले ।
गार्डको ‘बडिल्याङ्वेज’ देखेर युवक शशंकित बने । उनले मोबाइल फिर्ता मागे । गार्डले गाह्रो मान्दै फिर्ता दिए । यत्तिकैमा फोन भाइब्रेट भयो । ईश्वरले उठाए । उनले एकतर्फी बोलेको गार्डले यस्तो सुने ।
हेलो
….
म ईश्वर श्रेष्ठ ।
….
‘मैले भेटाएको छु । म सित सुरक्षित छ । तुरुन्तै लिन आउनुस ।’
….
राइजिङ मलको गेट अगाडि ।
अघि मोबाइल फ्याक्दै बत्तिएको गाडी १० मिनेटभित्रै फर्कियो । गाडीबाट निस्किए आर्यन र सपना ।
‘अहो, आर्यन नै पो,’ ईश्वरले जिभ्रो टोके ।
आर्यनले उनीसित हात मिलाए । उनले ‘लिनुस, तपाईंको मोबाइल’ भन्दै आर्यनको नासाे उनको जिम्मा लगाए ।
आर्यन दंग परे । अचम्भित भए ।
‘सच अ गुड ह्यूमन विइङ’ भन्दै ईश्वरलाई ‘हग’ गर्दै भने, ‘फर्स्ट टाइम आइ गट माई मोबाइल ब्याक ।’
‘एउटा सेल्फी खिचौं है’ आर्यनले नै आग्रह गरे ।
ईश्वरले नमान्ने कुरै थिएन ।
‘सेल्फी’ पश्चात आर्यन र सपना गाडी चढेर बाटो लागे । ईश्वर लख्रक-लख्रक गर्दै डेरातिर हिँडे ।
डेरामा पुग्दा श्रीमती अत्तालिएर बसिरहेकी थिइन् । भुईंचालोको कुरा हुँदै थियो । घरबेटी आन्टी चिच्याउँदै आइन् ।
‘ओई ईश्वर’, उनले भनिन्, ‘आर्यन सिग्देलको फेसबुकमा तेरो फोटो आको छ त ।’
मोबाइल हराउन पारंगत आर्यन
आर्यनले दुई महिना अगाडि मात्रै किनका थिए यो सेट । खनखनी एक लाख १० हजार तिरेका थिए ।
‘फेरि नयाँ ?’ सपनाले सोधेकी थिइन्, ‘फेरि हराउने त होला नी ।’ सपनालाई थाहा थियो, आर्यनले आजसम्म एक दर्जन मोबाइल सेट हराएको ।
‘मोबाइल हराउनमा मलाई कसैले जित्न सक्दैन,’ आर्यन छाति पिट्दै भन्छन्, ‘आजसम्म १२ वटा सेट हराइसकेँ ।’ उनले अहिलेसम्म आइफोन मात्रै चारवटा हराइसकेको बताए । त्यसवाहेक नोकियाको एन ९३, ९५, ब्ल्याकबेरी दुईवटा तथा थुप्रै साना सेटहरु उनले हराइसकेका छन् ।
प्रायः ठूला सेट बोक्ने भएकाले आर्यन मोबाइल खल्तिमा हाल्दैनन् । हातमै बोकेर हिँड्ने मोबाइल जहाँ बस्यो त्यहिँ थपक्क राखिदिन्छन् । रेस्टुरेन्टमा बस्यो भने टेबलमा, ट्याक्सीमा बस्यो भने सिटमा, पसलमा सामान किन्दा त्यसैका र्‍याकमा, साथीकहाँ गयो भने उसैको घरमा । अनि आर्यनको मोबाइल नहराएर कसको हराओस १
आर्यनको मोबाइलमा फोन ट्राइ गर्नेहरुलाई थाहा हुनुपर्छ, उनको मोबाइल हत्पत्ति उठ्दैन । किन हो भनेर सोध्दा उनले जवाफ दिए, ‘म सँधै मोबाइललाई रिङ अफ गरेर राख्छु । सेभ भएको नम्बरबाट मिस कल आएको देखेँ भने उसलाई कल ब्याक गर्छु ।
अन सेभ्ड नम्बरलाई रेस्पोन्स गर्दिन । त्यहि भएर कसैसित नम्बर आदानप्रदान हुनासाथ तुरुन्तै सेभ गरिहाल्छु ।’
मोबाइल लगातार हराउन थालेपछि उनले फोन डायरी प्रचलनमा ल्याए, जसमा मोबाइलमा सेभ गरेका नम्बर तुरुन्त उतार्थे । पछि त्यो डायरी पनि हराए ।
‘मोबाइल हराउँदा कतिको तनाव हुन्छ ?’
‘पहिले-पहिले त तनावै हुन्थ्यो । सारा नम्बरहरु त्यसैमा हुन्थे । पर्सनल फोटो भिडियोहरु पनि हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले सबै कम्युटररमा ब्याकअप हुन्छ । मोबाइल हराए पनि रिकभर गर्न मिल्छ ।’
‘हराउँदा सबैभन्दा थकथकी लागेको मोबाइल कुन ?’
‘मलाई कतारबाट विष्णु भन्ने साथीले आइफोन-४ एस पठाइदिएका थिए । लन्च हुनासाथ उनले मेरो जन्मदिनको उपहारस्वरुप पठाएको मोबाइल रहरै नपुगि एक महिनामै हरायो । त्यतिबेला साह्रै दिक्क लागेको थियो ।’
रेडकार्पेटमा भेटिएका ईश्वर
आइतबार  दिउसो ३ बजे दरवारमार्गस्थित रेड कार्पेट रेस्टुरेन्टमा छिर्दा ईश्वर बेसिनमा टालो पखालिरहेका थिए । मैले आफ्नो परिचय दिएर कुराकानीका लागि आग्रह गरेँ ।
‘खोई, कुरा त के छ र,’ भन्दै उनी टालो थन्क्याएर आए र सोफामा बसे ।
‘आइफोन भेटाउने तपाईं नै होइन त ?’ मैले सोधेँ ।
उनले घटनाको बेलिबिस्तार लाए, जून माथि वर्णन गरियो ।
‘सेलिब्रिटी हो भन्ने थाहा पाएर पो फिर्ता दिनुभएको हो कि ?’
‘मैले गाडीबाट मोबाइल खसेको देखेँ तर गाडीभित्र को छन् भनेर देखिनँ सर । मोबाइलको स्क्रिनसेभरमा रहेको झ्याप्प दाह्री पालेको मान्छेको फोटो थियो । चिनेको अनुहार थियो, तर आर्यन नै होला भन्ने गेसै भएन ।’
तपाईंले फिर्ता गरेको मोबाइल कति मूल्यको हो थाहा छ ?
आइफोनको मूल्य कसलाई थाहा हुँदैन र सर । मेरो विचारमा एक लाखको अराउण्डमा होला ।
आइफोन भेटेपछि सम्वन्धित व्यक्तिलाई फिर्ता नदिइकन आफैं राखौं भन्ने सोच तपाईंलाई मनको कुनै कुनामा आएन ?
अहँ । किन हो त्यो सोचाई नै आएन । बरु यति मूल्यवान चिज हराउने व्यक्ति कति दुखित भएको होला र यो फिर्ता पाउँदा कति खुशी होला भन्ने मात्रै सोचेँ ।
तपाइर्ंले बोक्ने मोबाइल चैं कस्तो छ ? देखाउन मिल्छ ?
एक्चुअल्ली सर । आइ डन्ट ह्याभ सर ।
तपाईंको मोबाइल नै छैन ?
अहँ छैन ।
अहिलेको जमानामा तपाईं जस्तो टाठोवाठो युवासित मोबाइल छैन भन्दा पत्याउन गाह्रो पर्‍यो नी ?
मसित एउटा नोकियाको सेट थियो ७ वर्ष अगाडि किनेको । विहेपछि त्यो श्रीमतीलाई चलाउन दिएको छु । म बोक्दिनँ सर । यत्तिकै चलेको छ ।
अर्को मोबाइल किन्ने सोचाइ त होला । कुन किन्ने विचारमा हुनुहुन्छ ?
अहिले त पैसा छैन । बिस्तारै पैसा कमाइयो भने किन्नुपर्ला । कुन किन्ने भन्ने प्लान गरेको छैन सर ।
(उनी यसरी सरका सर लगाईरहेका छन्, मानौं म चक डस्टर बोकेर उनीसित अन्तरवार्ता लिँदै छु)
यस्तो छ ईश्वरको कथा-व्यथा
झापाको दमकमा घर भएका ईश्वर करिब ६ महिना अगाडि मात्रै काठमाडौं आएका हुन् । झापाकै शीतललाई भगाएर काठमाडौं ल्याएपछि उनी गुजाराका लागि रेडकार्पेट रेस्टुरेन्टमा बारटेन्डरको काम गर्न थालेका छन् ।
ईश्वरले प्लस टुसम्म मात्रै पढेका छन् भने पत्नीले स्नातक पास गरेकी छिन् । केटीका परिवारले मञ्जुरी नदिएपछि भगाएर मन्दिरमा बिहे गरेको ईश्वरले बताए । यद्यपि, केही दिन अगाडि ससुरालीले बोलाएर उनलाई ज्वाईं स्वीकार गर्दै टिकाटालो गरेर पठाइदिए ।
ईश्वर र शीतल अहिले काठमाडौंमा जीवन धान्न संघर्ष गरिरहेका छन् । काठमाडौं आएलगत्तै उनीहरुले केहि समय शीतलकी साथीको घरमा केहि समय शरण जागीर खोज्न भौतारिए । धेरैतिर फाराम भरे । शीतलले बल्लतल्ल एउटा जागीर पाइन्, काठमाडौं ट्रेड टावरमा । ईश्वरले पाएनन् ।
‘लामोसमय सम्म काम नपाएपछि म त घरै फर्किने कि भन्ने सोचमा पुगेको थिएँ,’ उनले सुनाए, ‘पछि भिनाजुले रेस्टुरेन्टमा काम गर्दै गर भनेर यहाँ लगाइदिनुभयो ।’
आफ्नो पढाईले ‘गतिलो’ जागीर पाउन नसक्ने महसुस गरेका उनले रेस्टुरेन्टमा काम गर्दा कुनै हिनतावोध गरेका छैनन् । रेड कार्पेटमा अहिले उनी मदिराका प्याला सर्भ गरिरहेका भेटिन्छन् । यद्यपि, उनको यहाँ तलव फिक्स भएको छैन । ‘अहिले त काम सिक्दै छु, पछि ५-६ हजार तलव दिने कुरा भएको छ,’ ईश्वरले भने ।
श्रीमतीको जागीर लागेपछि उनीहरुले मैतिदेवीमा डेरा लिएका छन् । एउटा कोठा छ । उनीहरुलाई अहिले यहि पर्याप्त छ । ईश्वरको एउटा धोको छ, गायक बन्ने । यद्यपि आफ्नो यो धोकोलाई दवाएर राखेका छन् उनले ।
‘सानैदेखि गायक बन्ने रहर थियो, तर जीवन धान्न नै गाह्रो भएको बेलामा त्यतातिर लाग्ने अवस्था नै भएन,’ उनले दुखेसो पोखे । यद्यपि, आफ्नो आर्थिक अवस्था सुधार भएको खण्डमा यो धोको पुर्‍याएरै छाड्ने बताउँछन् । ईश्वरको धोको पूरा गर्न पक्कै ‘ईश्वर’ले साथ देलान् त ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment