१७ वर्षदेखि चरेसमा फसेको दिलबहादुरको दिल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

किताबको गातामा चरेस-धन्दा

२० माघ, काठमाडौं । किताबको हार्ड कभरमा चरेस ! तस्करीको नयाँ तरिका न पर्यो । झट्ट हेर्दा निमन्त्रणा-कार्डहरुको बन्डलजस्तो देखिन्छ । खोलेर हेर्दा बौद्ध धर्मसम्बन्धी किताब देखिन्छ । तर, किताबको हार्ड कभर च्यातेर हेर्दा कालो पदार्थ अर्थात् लागुऔषध चरेस भेटिन्छ ।
लागुऔषध नियन्त्रण ब्युरोले सोमबार काठमाडौंको कपनस्थित एक घरमा छापा मारी ९० किलो चरेस बरामद गर्‍यो । जो, केही बौद्ध धर्मसम्बन्धी पुस्तकका हार्डकभरमा लपेटिएको थियो भने केही जुत्ताको सोलमा ।
ब्युरो टोली छापा मार्न पुग्दा धादिङ सेर्तुङका ३७ वर्षीय हेरमान तामाङ र नुवाकोट बुङताङका ३५ वर्षीय अक्कलबहादुर तामाङ चरेस प्याक गर्दै थिए ।
अनुसन्धानपछि खुल्यो, चरेस क्यानडा पठाउने तयारी भइरहेको रहेछ, जसका मालिक थिए-तनहुँ बन्दीपुरका डिबी भन्ने दिलबहादुर तामाङ ।
दिलबहादुरको १७ वर्षे धन्दा
५८ वर्षीय दिलबहादुरलाई पनि प्रहरीले पक्राउ गर्न सफल भयो । हत्कडी लगाइएका दिलबहादुरको अनुहारमा कुनै पश्चाताप देखिँदैनथ्यो । उनका लागि हत्कडी र जेल सामान्यजस्तै बनिसकेको छ । उनी चरेस कारोबारीको आरोपमा चौथोपटक पक्राउ परेको ब्युरो प्रमुख डिआइजी केशरीराज घिमिरेले बताए ।
०५४ सालमा लागुऔषध ब्युरोले थानकोट बसपार्कबाट ५० किलो चरेससहित दीपेन्द्र मगर र रामबहादुर हमाललाई पक्राउ गरेको थियो । उनीहरूले उक्त चरेस दिलबहादुरको भएको बयान दिएपछि प्रहरीले दिलबहादुलाई फरारको सूचीमा राखेर खोजी गरिरहेको थियो ।
तर, उनको चरेस धन्दा रोकिएको थिएन । ०५९ सालमा फेरि ब्युरो टोलीले दिलबहादुरलाई धापासीस्थित घरबाट १० किलो चरेससहित पक्राउ गर्यो । उक्त मुद्दामा ३० हजार धरौटी तिरेर उन्मुक्ति पाए ।
प्रहरीले ०६० चैतमा कुमार सुवेदीको नाममा कार्गाेमार्फत क्यानडा पठाउन लागेको माटाको कप, कचौरा, गमलालगायत सामान बरामद गर्‍यो, जसमा चरेस राखिएको थियो ।
यसमा पनि मुख्य योजनाकार दिलबहादुर नै थिए । यसपालि उनी आठ वर्ष जेल बसेर रिहा भए, नौ लाख धरौटीमा ।
पटकपटक पक्राउ परेर सजाय भुक्तान गरे पनि दिलबहादुरको दिलबाट चरेसमोह हटेन । यसपालि उनी ९० किलो चरेससहित पक्राउ परेका छन् ।
क्यानडा मुख्य बजार
नेपालबाट क्यानडा चरेस पठाउने गिरोहको मुख्य योजनाकार दिलबहादुर भएको ब्युरो प्रमुख डिआइजी घिमिरे बताउँछन् ।
‘पटकपटक पक्राउ परे पनि उनको क्यानडा सम्पर्क-सूत्र भने भेटिएको छैन,’ घिमिरे भन्छन्, ‘सुरुमा कार्गोबाट सामान पठाउने बक्समा फल्सबटम बनाएर चरेस पठाउने दिलबहादुरको शैली थियो । तर, त्यो तरिका उदांगो भएपछि उसले कप, कचौरालगायत सामानमा चरेस भरेर पठाउन खोजेको देखिन्छ ।’
क्यानडालाई आफ्नो मुख्य बजार बनाएका दिलबहादुरले पहिले नेपालकै कार्गोहरू प्रयोग गरे पनि पछिल्लो समय भने भारतको बाटो प्रयोग गर्न थालेका थिए । उनले सडक यातायातबाट चरेस भारतसम्म पुर्‍याउने र त्यसपछि पानी जहाजबाट कार्गो गरेर चरेस क्यानडा पठाउने गरेको खुलेको छ ।
नेपालबाट भारतसम्म चरेस लैजाने गरेको आरोपमा पक्राउ परेका धनबहादुर र नरबहादुर गुरुङले एकपटक चरेस लगेबापत ६० देखि ७० हजार पाउने बताएका थिए ।
क्यानडाबाट बजार विस्तार गरी उनले इटाली, चीन, हङकङसम्म पुर्‍याउने गरेको पनि खुलेको छ ।  दिलबहादुर विदेशका आफ्ना एजेन्टसँग भारतमा मिटिङ राख्ने गर्थे । उनको चरेसको कारोबार यति फस्टाएको थियो कि, आफ्नो समूहमा कति सदस्य भन्ने उनैलाई थाहा थिएन । उनको निकट भएर काम गरेका अक्कलबहादुरले सबै कारोबार सम्हालेका थिए ।
अक्कलले प्याक गरेबापत प्रतिकेजी पाँच हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महको डिब्बामा चरेस
चरेस पठाउन कारोबारीले नयाँ-नयाँ शैली प्रयोग गर्ने गरेको भेटिएका छन् । ब्युरोले कार्गोमार्फत पठाउन लागिएका चरेस पटकपटक बरामद गरेको छ । २३ मंसिर ०७१ मा ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महको डिब्बामा राखिएको १६ चरेस बरामद गरेको थियो, जुन ठमेलस्थित ब्लुस्टार कार्गोले हङकङ पठाउन लागेको थियो ।
१० असोज ०७१ मा जर्जियाका नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परे । उनले च्यवनप्रासको तीनवटा बट्टामा राखेर एक किलो पाँच सय २० ग्राम चरेस लैजान लागेका थिए ।
८ भदौ ०७२ मा गौशालामा रहेको आइएसइ कुरिअर कम्पनीमार्फत भारत पठाउन लागिएको चरेस बरामद भएको थियो । डायरीको गातामा राखेर लैजान लागिएको पाँच किलो चरेससहित तीनजनालाई पक्राउ परेका थिए ।
त्यस्तै, केही महिनाअघि हस्तकलाका सामग्रीभित्र राखेर लैजान लागिएको पाँच किलो चरेस बरामद भएको थियो । ब्लुस्टार कार्गो हुँदै डिएचएलमार्फत पठाउन लागिएको उक्त चरेस विमानस्थलमा चेकजाँचका क्रममा भेटिएको थियो ।
कारोबारमा कार्गो
नेपालमा उत्पादित चरेसको मुख्य बजार क्यानडा तथा युरोपियन देश हुन् । ती देशमा चरेस पठाउन कारोबारीले कार्गो तथा कुरिअरको प्रयोग गर्ने गरेको प्रहरी बताउँछ । नेपालीदेखि विदेशी नागरिकसम्मले नेपालबाट चरेस कारोबारमा सक्रिय हुने गरेका छन् ।
कार्गो कुरिअरले निश्चित मापदण्ड भए पनि पालना भए/नभएको अनुगमन नहुँदा चरेस कारोबारीलाई सघाउ पुगेको अनुसन्धानले देखाएको छ ।
ब्युरोका एसपी धीरजप्रताप सिंहका अनुसार कार्गोमार्फत सामान पठाउनेको नागरिकताको प्रतिलिपिलगायत परिचयपत्र राखिनुपर्ने भए पनि त्यसो भएको छैन ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment