धनगढीलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १९, २०७२- सुदूरपश्चिमको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने तयारी सुरु भएको छ। उक्त विमानस्थललाई विस्तार गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको अध्ययनले समेत देखाएको छ। प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागका अधिकारीहरूले सम्भाव्यता सहितको अध्ययन प्रतिवेदन तयार पारेको हो। 
‘सुदूरपश्चिमका सांसदहरूले त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थलको माग राखेपछि हामीले अध्ययन गरेका थियौं,’ विभागका एक इन्जिनियरले भने, ‘कैलाली र कञ्चनपुरका दुइटा विमानस्थलमा प्राविधिक अध्ययन गर्दा धनगढीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने सम्भावना देखियो।’ 
अध्ययनले हाल महेन्द्रनगरमा बन्द अवस्थामा रहेको विमानस्थललाई भने अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न नसकिने देखाएको छ। ‘विमानस्थलका लागि चाहिने सबैभन्दा पहिलो स्रोत जग्गा हो,’ ती प्राविधिकले भने, ‘त्यहाँ अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि चाहिने योग्य जग्गा पर्याप्त छ।’ हाल धनगढीको विमानस्थल ६३ बिघा जमिनमा फैलिएको छ। यसको धावनमार्ग २ हजार १ सय मिटर लम्बाइको छ। तर, यहाँ १ हजार ८ सय मिटर मात्रै कालोपत्रे गरिएको छ भने बाँकी चौर हो। यसभित्र हाल जहाज पार्किङ गर्ने दुइटा मात्रै एप्रोन रहेका छन्। काठमाडौं पछि लामो धावनमार्ग भएको विमानस्थल धनगढी हो। 
अन्तर्राष्ट्रिय स्तरको बनाउन थप २ सय ५६ बिघा आवश्यक पर्छ। जग्गा अधिकरणका लागि मात्रै अहिलेको चलनचल्तीको सरकारी मूल्यअनुसार सरकारले २ अर्ब ३१ करोड लगानी गर्नुपर्ने प्राविधिकहरूले अध्ययनमा भनेका छन्। अहिलेको अध्ययनले बढीमा ९० लाख रुपैयाँ बिघाका दरले अधिकरण गर्नुपर्ने भनेको छ। 
प्राविधिकहरूले पोखराको दाँजोमा धनगढीको विमानस्थलको उत्तरी भागको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको भनेका छन्। अहिलेको संविधानले ७ नम्बर प्रदेशमा राखेको सुदूरपश्चिम छुट्टै प्रदेश भएपछि यहाँको निजी क्षेत्र, व्यवसायी, जनप्रतिनिधिले धनगढीलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनुपर्ने सरकारसँग माग राख्दै आएका छन्। उनीहरूले गरेको मागका आधारमा प्राधिकरणलाई सरकारले अध्ययन गर्न लगाएको थियो। ‘हामीले धेरै पहिलेदेखि माग राख्दै आएका थियौं,’ कैलालीका सांसद पुष्करनाथ ओझाले भने, ‘प्राविधिकहरूले पनि यहाँ गरेको अध्ययनले सकारात्मक संकेत देखाएको छ हामी धावनमार्गलाई चाँडै ३ हजार मिटर बनाउन लागिरहेका छौं।’ अध्ययनअनुसार धनगढीदेखि उत्तरमा २२ किलोमिटर क्षेत्रफलसम्म जहाजका लागि उड्न सक्ने खुला क्षेत्र छ। 
हाल दैनिक एउटा उडान मात्र भइरहेको धनगढी कन्ट्रोल जोनको सूचीमा पर्दैन। यहाँ एयरट्राफिक कट्रोलर (एटीसी) को कमान्डमा नभई पाइलटको कमान्डमा जहाज अवतरण गर्छ। कन्ट्रोल जोनमा काठमाडौंसहित विराटनगर, जनकपुर, सिमरा, भैरहवा, पोखरा, नेपालगन्ज विमानस्थल पर्छन्। यी विमानस्थलमा प्राधिकरणले रेटेड एटीसी खटाउने गरेको छ। कन्ट्रोल जोनमा एयर ट्राफिकको कन्ट्रोलमा जहाजले उडान/अवतरण गर्छन् तर धनगढी यो सूचीमा पर्दैन। धनगढीमा पाइलट कमान्डले धावनमार्ग हेरेर जहाजलाई अवतरण गराउँदै एटीसीलाई जानकारी गराउँछन्।
धनगढीमा भेरी ओम्नी डिरेक्सनल रेडिएसन/डिस्ट्यान्स मिजरिङ इक्विपमेन्ट ( भीओआर–डीएमई) यन्त्र छैन। प्राधिकरणले चालू वर्ष धनगढीमा जहाजलाई दिशानिर्देश गराउने भीओआर र विमानस्थलदेखि जहाजसम्मको दूरी देखाउने डीएमई यन्त्र जडान गर्दै छ। यसका लागि हालै ९ बिघा जग्गा अधिकरण गरिएको सांसद ओझाले बताए। यो उपकरण जडानपछि यो क्षेत्र पनि कन्ट्रोल जोनको सूचीमा रहने छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment