प्यारो पात्रबाट कवितासम्म

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १९, २०७२- आख्यानका पात्रहरूमध्ये ‘प्यारो पात्र’ को चर्चाबाट सुरु भएको योपल्टको नेपाल लिटरेचर फेस्टिभलले कवि उपेन्द्र सुब्बाको कविताबाट बिट मारेको छ ।

पत्रकार नारायण वाग्लेका सोधाइमा नयनराज पाण्डे, बुद्धिसागर र सुविन भट्टराईले आफ्ना कृतिमा पात्रको चयन र त्यसको व्यक्तित्वबारे बताए । ‘मेरा पात्र नयाँ होइनन्, समाजबाटै टिपिएका हुन्,’ बुद्धिसागरले भने, ‘म पात्रसँगै कुरा गर्छु ।’ स्रष्टा पाण्डेले सुरुआतका केही कृतिमा खास खालको पात्र नराखे पनि पछि त्यसलाई आकार दिँदै ल्याएको बताए भने भट्टराईले लेखनका क्रममा पात्रको चयन कुनै खास चरित्रबाट प्रभावित भएरै गरिने भनाइ राखे । लेखकहरूले आफ्ना कृतिका पात्रको चयन, वर्णन र कथामा भूमिकामाथि आफ्ना कालिगडीका कुरा गरे ।

दोस्रो सेसनमा अंग्रेजी र नेपाली लेखनमा प्रस्तुतिको सन्तुलनसँगै पाठकका अपेक्षाबारे सगुना शाहले लेखकहरू रवि थापा, प्रवीण अधिकारी र प्रणय राणालाई बहस गराइन् । छोटो अवधिका दुई भिन्न सेसनमा युग पाठकले ‘के लेख्ने, कसरी लेख्ने’ र खगेन्द्र संग्रौलाले ‘संस्मरणमा राष्ट्रवाद’ बारे आफ्ना भनाइ राखे ।

सिनेमाका नायक–नायिका र दु:खबारेका दुई भिन्न सेसनहरू कार्यक्रममा सहभागीले निकै रुचि माने । ‘हिरो हुनुको अर्थ’ सेसनमा पत्रकार यज्ञशले राजेश हमाल र दयाहाङ राईलाई आफ्ना कुरा राख्न लगाए भने किशोर नेपालले गौरी मल्ल, रेखा थापा र ऋचा शर्मालाई बहस गराए ।

राजेश हमालको चलचित्र हेरेर नाटक हुँदै सिनेमासम्म आइपुगेको बताएका राईले समाज रूपान्तरणसँगै फेरिएका चरित्र चित्रणमा आफूले अभिनय यात्रा गर्न सकेको बताए । नेपाली चलचित्रमा २५ वर्षदेखि नायक भएर खेल्दै आएका हमालले ‘सकारात्मक चरित्रको अपेक्षा समाजले राख्ने भएकाले हिरो हुनुको अर्थ सकारात्मक सोच राख्नु’ भएको बताए ।

‘सिनेमाका सुखदु:ख’ बारेको सेसनका कलाकार रेखा शाहले नेपाली चलचित्रमा नायिकालाई पारिश्रमिकमा गरिने विभेद हटाउन आफैं सक्षम भएमात्रै सजिलो हुने भनाइ राखिन् भने गौरी मल्लले विस्तारै फेरिएको निर्माण क्रमबाट आशावादी हुन सकिने बताइन् । पछिल्लो समय प्रभावशाली भूमिकामा देखा पर्ने ऋचा शर्माले स्क्रिप्ट लेखनमा आएको परिवर्तनले अब भूमिकाबारे पहिल्यै कुरा गरेरमात्रै खेल्न पाइने समय आएको भनाइ राखिन् ।

‘महाभारतका प्रमुख पात्र’ बारे राजनीतिकर्मी प्रदीप गिरीले आफ्नो भनाइ राखेपछि अन्तिम सेसनमा कार्यक्रम शक्तिशाली कविका लागि सुरु भयो । सरस्वती प्रतीक्षाले पालैपालो कविहरू सीमा आभास, ईश्वरमणि अधिकारी, सरिता तिवारी, रवीन्द्र मिश्र, गौरी मल्ल, संगीतश्रोता र सरस्वती श्रेष्ठ सरुलाई मञ्चमा उभ्याइन् ।

पालो पाएमध्ये मनु मञ्जिललाई दर्शकले एउटामात्रै कविता सुनाएर जान नदिएपछि उनी फेरि मञ्च उक्लिए र, ‘दुश्मन’ कविता सुनाए । बिट मार्ने पालोमा परेका कवि उपेन्द्र सुब्बाले दर्शक/श्रोतालाई आफ्नो कविताबाट धरानको भानुचोकस्थित भानुभक्तको सालिकलाई विम्ब बनाएर भेंडेटारसम्म घुमाए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment