०४१ सालमै हावाबाट बिजुली

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १९, २०७२- प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने योजना सुनाउँदा धेरैले अचम्म माने । आलोचना मात्र भएन, ‘हास्य पात्र’ पनि बनाउन खोजियो । तर, मुस्ताङवासीका लागि भने ‘हावाबाट बिजुली’ नौलो विषय होइन ।

‘प्रधानमन्त्रीको योजनालाई विश्वास नगर्नेहरू मूर्ख हुन्,’ कागबेनी–७ का धारा गुरुङले भने, ‘सरकारले संरक्षण मात्र गरेको भए मुस्ताङमा सधैं हावाबाट बिजुली बल्ने थियो ।’ मुस्ताङमा ०४१ सालमै हावाबाट बिजुली निकालिएको थियो ।
हावाले घुमाउने पंखाबाट ४० किलोवाट उत्पादन हुन्थ्यो । तर, संरक्षण र मर्मत नहुँदा बन्द भयो । ‘बन्द हुनुमा तत्कालीन सरकारको चरम लापरबाही थियो,’ जोमसोमका चन्द्रबहादुर थकालीले भने, ‘निरन्तरता पाएको भए विभिन्न स्थानमा हावाबाट बिजुली निकाल्ने वातावरण बन्थ्यो ।’ त्यतिबेला हावाको जोडले पंखाको सन्तुलन नमिलेर भाँचियो । पछि कसैले मर्मत गर्न चासो दिएनन् । मर्मत गरेको भए उक्त योजना देशकै नमुना बन्ने थकालीले बताए ।

३१ वर्षदेखि भाँचिएका पंखा मात्र कुरेर कर्मचारी बसेका छन् । विद्युत् सञ्चित गर्ने मूल्यवान ब्याट्री अलपत्र छ । पंखाका भाग कार्यालयमै मिल्किएका छन् । ‘हाम्रो काम कुर्ने मात्र भएको छ,’ कर्मचारी सानुबाबु श्रेष्ठले भने । पछि स्थानीय केही व्यक्ति मिलेर हावाबाट अर्को योजना ल्याउने तयारी गरे ।

०५१ मा डेनमार्कको सौर्य परियोजना हेर्ने निकायका इन्जिनियर आएर सर्वे गरेपछि २ सय मेगावाट विद्युत् निकाल्ने तयारी पनि भयो । ‘त्यसका लागि १३ लाख रुपैयाँ खर्च भयो,’ स्वत भैरव पावर प्रालिका प्रमुख सनप्रसाद थकालीले भने, ‘तर विद्युत् प्राधिकरणको अवरोधले योजना बीचमै रोकियो ।’ सबै बिजुली जिल्लामा खपत हुँदैनथ्यो । प्राधिकरणले हावाबाट उत्पादित बिजुली खरिद गर्न नमानेपछि डेनमार्कबाट आएको सहयोग फिर्ता भयो ।

०५१ सालको अन्त्यतिर जिविसले हावाबाट बिजुली उत्पादन गर्ने योजना नै पारित गरेको थियो । केही सामग्रीसमेत झिकाइयो । पछि सरकारले योजना रोक्यो । ‘सरकारले साथ दिएको भए दुई सय मेगावाट बिजुली त्यतिबेलै निस्किसक्थ्यो,’ तत्कालीन जिविस सभापति आनन्द शेरचनले भने ।

युरोपका विभिन्न विद्युत् अनुसन्धानकर्ता आएर मुस्ताङको हावाको वेगलाई तारिफ गरेको उनले बताए । ‘नरोकेको भए मुस्ताङबाट निस्कने हावाको बिजुलीले धेरै जिल्ला उज्यालो हुन्थ्यो’, उनले भने ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment