कहाँ छिन् काइँली तामाङ ? प्रहरीले खोजेको २० वर्ष भयो !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

लागूऔषध धन्दामा महिलाः चार वर्षमा ७५५ पक्राउ
१३ माघ, काठमाडौं । धेरै वर्षअघिदेखि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग काइँली तामाङको एउटा पासपोर्ट साइजको तस्वीर छ । त्यही तस्वीरका आधारमा काइँली भनिने गोपी तामाङलाई पक्राउ गर्न प्रहरीले जाल फिँजाएर बसेको करिब २० वर्ष हुन लाग्यो, तर उनी अझैसम्म पक्राउ परेकी छैनन् ।
प्रहरीको दाबीअनुसार काइँली तामाङ एउटी यस्ती नेपाली पात्र हुन्, जसले करिब २० वर्षदेखि पाकिस्तानमा बसेर लागूऔषधको र्‍याकेट चलाइरहेकी छिन् ।
काइँली नाइजेरियाबाट कसरी पाकिस्तान पुगिन् भन्ने प्रहरीले स्पष्ट पार्न सकेको छैन । तर, पक्राउ गरिएका व्यक्तिहरुले काइँली पाकिस्तानमा रहेको बताउने गरेका छन् ।
धाङङिदेखि नाइजेरियासम्म
धादिङ घर भएकी काइँली करिब ०५२ सालतिर काठमाडौं आएको प्रहरीको अनुमान छ । लेखपढ खासै नभएकी काइँली ठमेलको बाटोमा हस्तकलाका समानहरु बेच्ने गर्थिन् । त्यही क्रममा उनको ‘मुसा’ नाम गरेको नाइजेरियन नागरिकसँग भेट भयो र उसैसँग विवाह गरेर काइँली पनि नाइजेरिया पुगिन् ।
मुसा नेपालको बाटोबाट लागूऔषध सेतो हेरोइनको कारोवार गर्ने गिरोहमा आवद्ध थिए । उनैले सामान्य परिवारकी काइँलीलाई पनि सुरुमा पैसाका लागि ठमेलमै लागूऔषध विक्री गर्ने एजेन्ट बनाए । तर, पछि काइँली मुसासँगै नाइजेरिया पुगिन् र उतैबाट लागूऔषधको धन्दा सुरु गरिन् ।
यसरी खुल्यो काइँलीको धन्दा
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ०५८ सालतिर सेतो हेरोइनसहित नुवाकोटका याङ लामा नाम गरेको व्यक्तिलाई पक्राउ गर्‍यो । उनैले काइँली तामाङको नाम प्रहरीलाई दिए ।
सेतो हेरोइनसहित पक्राउ परेका अन्यले पनि सेतो हेरोइन काइँली मार्फत नै आउने गरेको बताउन थालेपछि प्रहरीले काइँलीको खोजी सुरु गर्न थाल्यो । तर, प्रहरीले खोजी सुरु गर्दा काइँली पाकिस्तान पुगेकी थिइन् ।
पाकिस्तानमा बसेर गाउँका महिला तथा युवाहरुलाई सम्पर्कमा ल्याउने र सेतो हेरोइन ओसार-पोसार गर्न लगाउने धन्दा सुरु गरेकी काइँलीलाई पक्राउ गर्न प्रहरीले पटक-पटक प्रयास गर्दा पनि सकिरहेको छैन ।
काइँलीले कतिपय नेपालीहरुलाई सिधै पाकिस्तान बोलाउने र सेतो हेरोइन बोकाएर नेपाल पठाउने गरेको प्रहरीको दाबी छ । कतिपयलाई भने श्रीलंका र थाइल्याण्ड हुँदै पाकिस्तानसम्म बोलाउने र सेतो हेरोइन बोकाएर पठाउने गरेको प्रहरीको दाबी छ ।
काइँलीको नेटवर्क
प्रहरीका अनुसार सेतो हेरोइन आफगानिस्तानबाट पाकिस्तान पुग्ने गरेको छ । नेपालबाट भारत र अन्य तेस्रो मुलुकसम्म लैजाने धन्दामा नेपालीलाई प्रयोग गरिरहेकी छिन् काइँलीले । काइँली तामाङको खोजी सुरु गरेपछि सेतो हेरोइनसहित पक्राउ परेका अधिकांश व्यक्तिहरु उनकै सदस्य भएको खुलेको छ ।
काइँलीसँग नेटवर्क जोडिएका ०५८ सालयता १२ जनाभन्दा बढी व्यक्ति सेतो हेरोइनसहित पक्राउ परिसकेका छन् ।
काइँलीले सेतो हेरोइनको भरिया बनाएका नुवाकोटका शेरबहादुर तामाङ, कञ्चनपुरकी शर्मिला तामाङ, धादिङका कुलबहादुर तामाङ, सुपारोङ तामाङ, पुरन गुरुङ, चुनबहादुर घले र टेकबहादुर तामाङ अहिलेसम्म पक्राउ परिसकेका छन् ।
काइँलीको निकट रहेर काम गरेका याङ लामा जेलबाट छुटेर पनि भारत पुगेर धन्दा चलाइरहेको लागूऔषध नियन्त्रण ब्युरोले सूचना पाएको छ ।
काइँली ०६८ सालमा एकपटक नेपाल आएको सूचना ब्युरोले पाएको थियो । तर, माछापोखरीस्थित छोराछोरी बस्ने घरमा प्रहरीले छापा मार्दा उनी फरार भैसकेकी थिइन् । त्यतिबेला प्रहरीले उनका छोरा नरेश तामाङलाई पक्राउ गरेको थियो ।
प्रहरीले काइँलीसँग नेटवर्क जोडिएका अधिकांश व्यक्तिलाई पक्राउ गरेसँगै पछिल्लो डेढ वर्षदेखि नेपालमा सेतो हेरोइन कारोबारी भेटिएका छैनन् । यसले नेपालमा सेतो हेरोइनको कारोवार गर्ने मुख्य गिरोह काइँली नै भएको पुष्टि हुने लागूऔषध ब्युरोका प्रहरी अधिकृतको दाबी छ ।
लागूऔषध तस्करीमा महिलाको प्रयोग
Marina-Binti-Jamaluddin
सेतो हेरोइनको धन्दा चलाउने काइँलीलाई जालमा पार्न नसके पनि लागूऔषध नियन्त्रण ब्युरोले केही महिलाहरुलाई पक्राउ गरेको छ, जो विश्वकै सबैभन्दा महंगो लागूऔषध बोकेर नेपालको बाटो आएका थिए ।
गत मार्च २८ तारिखमा मलेसियन महिला मरिना विन्त जमालुद्धिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरिन् । केही दिनको नेपाल बसाइपछि त्रिभुवन विमानस्थलबाटै इटालीको रोम जाने क्रममा लागूऔषधसहित पक्राउ परिन् । उनको झोलामा ११ किलो विश्वकै महंगोमध्येको लागूऔषध कोकिन थियो ।
मरिनाभन्दा अगाडि अर्थात ४ वर्ष पहिले नै एक थाई महिला पनि एक किलो कोकिनसहित पक्राउ परेकी थिइन् ।
लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा मात्रै ७ सय ४१ जना नेपाली र १५ जना विदेशी महिलाहरु लागुऔषध कारोवारको अभियोगमा पक्राउ परिसकेका छन् ।
प्रहरी भन्छ -अब विमानस्थलबाट लागूऔषध बोक्न सजिलो छैन
नेपाली देखि अन्तराष्ट्रिय माफियासम्मले लागूऔषध तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गर्न थालेपछि लागूऔषध नियन्त्रण ब्युरोले आफ्नो सक्रियता बढाएको छ । अहिले विमानस्थलमा लागूऔषध जाँच गर्ने उपकरणसहित ब्युरोको टोली सक्रिय छ ।
ब्युरोका एसएसपी गणेश केसी भन्छन्- ‘ब्युरोकै सक्रियताले विमानस्थलबाट लागूऔषध बाहिरिन सकिरहेको छैन । कतिपय विमानबाट आउने यात्रुहरु प्रहरीको विषेश निगरानीमा पर्ने गरेका छन् भने लागूऔषधको सानो-सानो परिमाण पनि फुत्किन सकेको छैन ।
केही माफियाहरुले महिलाको प्रयोग गरेर कोकिन, सेतो हेरोइन जस्ता लागूऔषध तस्करीका लागि नेपालको रुट प्रयोग गर्ने प्रयास गरे पनि उनीहरु असफल भएको एसएसपी केसीको तर्क छ ।
अहिलेसम्म नेपालबाट बाहिरिने क्रममा मात्रै लागूऔषध बोक्नेहरु पक्राउ परेका छन् । पाँच किलो सेतो हेरोइनसहित पाँचजना पाकिस्तानी पक्राउ परेको घटना होस या ११ किलो र १ किलो कोकिनसहित पक्राउ परेका विदेशीहरु नै किन नहुन्, सबै विमानस्थलमा फर्किने क्रममा प्रहरीको फन्दामा परेका हुन् ।
तर, सुरक्षा जाँचमा ‘लुपहोल’
विदेशबाट नेपाल प्रवेश गर्नेहरुको लगेज तथा अन्य सामान जाँच गर्ने अधिकार प्रहरीलाई नहुँदा सहजै लागूऔषध नेपाल प्रवेश गर्ने गरेको ब्युरोका एक अधिकृतले बताए ।
विदेशबाट नेपाल आउँदा चेक गर्ने अधिकार प्रहरीलाई नहुँदा यदि कसैले हवाइ मार्गबाट लागूऔषध ल्यायो भने स्थलमार्गबाट सहजै भारत पुग्न सक्ने प्रहरीको गुनासो छ । यदि विमानस्थलमा आउने-जाने सबैलाई सुरक्षा चेकजाँचभित्र राख्न सके हरेक तस्करी नियन्त्रण गर्न सकिने प्रहरीको भनाइ छ ।
तस्करहरुले नेपालमा उत्पादन हुने चरेस युरोप अमेरिकालगायतका देश पुर्‍याउने गरेका छन् भने विदेशमा उत्पादित सेतो हेरोइन तथा कोकिन जस्तो लागूऔषध तस्करीका लागि नेपाललाई रुट बनाउने गरेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment