भुवन केसी, नीर शाह र रेखा थापा राजनीतिमा सुनसान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सरोज खनाल, करिश्मा र अशोक शर्माले के गर्लान् ?
 
यसैसाता तीन चलचित्रकर्मीहरु डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेपछि फेरि एकपटक कलाकार र राजनीतिको चर्चा-परिचर्चा सुरु भएको छ । कलाकारत्रय करिश्मा मानन्धर, सरोज खनाल र अशोक शर्मा  नयाँ पार्टीमा लागेका छन् ।
यसअघि विशेषतः दोस्रो संविधानसभाको चुनावमा केही कलाकारहरु कांग्रेस, एमाले र एमाओवादीमा घोषित रुपमै प्रवेश गरेका थिए । तर, उनीहरुलाई पार्टीले प्रयोग मात्रै गर्‍यो, संविधानसभामा भित्र्याएन । अहिले ती कलाकारहरु राजनीतिमा कम र कलाकारितामै बढी सक्रिय देखिन्छन् ।
भूवन केसीः समाज सेवाका लागि एमाले
संविधानसभाको चुनावका बेला एमालेमा प्रवेश गरेका नायक भूवन केसीले दोस्रो संविधानसभा निर्वाचनमा एक दिनका लागि मात्रै उम्मेदवारकोे टिकट पाए, पछि उनको टिकट खोसियो ।
एमाले बरिष्ठ नेता झलनाथ खनालसँग नजिक मानिने केसीको भनाइ छ-म समाज सेवाका लागि एमाले पार्टीमा प्रवेश गरेको हुँ ।
राजनीतिमा लागेपनि अभिनयलाई मूल पेशा बनाउने भूवन बताउँछन् । उनले पछिल्लो समय चलचित्रको निर्देशनसमेत गरेका छन् । उनी भन्छन् म राजनीति गर्छु तर, आफूले गर्दै आएको काम जारी पनि राख्छु ।कलाकार राजनीतिमा लागेपछि क्रेज खस्किन्छ भन्ने भनाइप्रति केसी सहमत छैनन् ।
नीर शाहः पहिले माओवादी, पछि कांग्रेस
एक सयभन्दा बढी कलाकारहरु एमाओवादी प्रवेश गरेका बेला बरिष्ठ कलाकार नीर शाहको नाम अग्रपंक्तिमा थियो । एमाओवादीले नै मुलुकका लागि केही गर्छ भन्ने अभिव्यक्ति दिएका शाह अरु कलाकारझै टीका लगाएरै पार्टी प्रवेश गरेनन् । तर, आफ्नो समर्थन एमाओवादीलाई भएको अभिव्यक्ति दिए ।
केही महिना एमाओवादी नेताहरुसँग नजिक रहेका शाह दोस्रो संविधान सभा निर्वाचमा भने नेपाली कांग्रेसमा प्रवेश गरे । त्यसपछि शाह चुनावमा काठमाडौ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहका लागि भोट माग्दै हिँडे ।
रेखा थापादेखि युवराज लामासम्म
एमाओवादी अध्यक्ष प्रचण्डवाट प्रभावित भएर पार्टी प्रवेश गरेकी रेखा थापाले पनि झण्डै सांसदको टिकट पाएकी थिइन् । तर, उनलाई भाग्यले साथ दिएन । एमाओवादी अध्यक्ष प्रचण्डले टिकट दिए पनि मतदाता सूचीमा नाम नभएका कारण रेखा उम्मेदवार बन्न पाइनन् ।
एमाओवादीले आयोजना गर्ने कार्यक्रममा यदाकदा सहभागी हुँदै आएकी रेखाले पार्टी प्रवेश गरेपछि पनि चलचित्र निर्देशन गरिन् । अहिले उनी अभिनय र निर्माणमै बढी सक्रिय छिन् ।
विगतमा ७ राजनीतिक दल र माओवादीवीच १२ बुँदे सहमति भएलगत्तै माओवादीप्रति नजिक भएका थिए कलाकर्मी युवराज लामा । एमाओवादी अध्यक्ष प्रचण्डको राष्ट्रवादी विचारले प्रभावित भएको भन्दै टीका लगाएर उनी एमाओवादी प्रवेश गरे । र, माओवादी सरकारका पालामा खेलकुद परिषद्को सदस्य-सचिब समेत भए ।
आफूमा भएको कार्यायोजना लागू गर्न पनि पार्टी राजनीतिमा संलग्न हुनुपर्छ भन्ने धारणा राख्ने लामा अहिले पनि पार्टीको काममा सक्रिय रहेको बताउँछन् । तर, चलचित्र निर्माणलाई चटक्कै नबिर्सने उनको दाबी छ ।
राजाका मेयररवीन्द्र खड्का
अहिले पनि आफूलाई राजाको समर्थकका रुपमा चिनाउन हिच्किचाउँदैनन् कलाकार रवीन्द्र खड्का । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काभ्रेको मेयरमा मनोनित भएका खड्काले पछि प्रत्यक्ष चुनाव लड्दा भने दुई सय भोट पनि कटाउन सकेनन् ।
राजनीतिमा प्रत्यक्ष संलग्न नभए पनि पछिल्लो समय पार्टीप्रति खुलेर लाग्ने गरेका छन् । निर्माता संघ, निर्देशक समाज, कलाकार संघ लगायतका संघ-संस्थामा चुनाब हुँदा पार्टीकै निर्देशनमा उम्मेदवार उठाउने र पार्टीकै लबिङअनुसार भोटिङमा उनी सक्रिय छन् ।
नयाँ शक्तिमा लाग्नेहरु के भन्छन् ?
नयाँ शक्तिमा लागेका निर्देशक/निर्माता अशोक शर्मालाई कसैले अवसरवादीका रुपमा टिप्पणी गरेका छन् त कसैले कलाकारितामा मिति पुगेको ब्यक्ति भनेर टिप्पणी गरेका छन् ।
तर, शर्मा भने आफ्नो योजनामा अडिग छन् । म कसैको बहकाउमा नयाँ शक्तिमा लागेको हैन, सिनेमा क्षेत्रकै लागि केही नयाँ काम गर्ने योजना छ,’ उनले अनलाइनखबरसँग भने ।
उनीमात्रै यस्ता निर्माता हुन्, जसले चलचित्र बनाएर कहिल्यै घाटा खाएनन् । दर्जन बढी चलचित्र बनाएका शर्मा पछिल्लो समय फिल्म वितरण र प्रदर्शनको व्यवसायमा संलग्न छन् । राजनीतिमा लागे पनि आफ्नो व्यापार व्यवसायलाई सुचारु राख्ने योजनामा रहेका शर्मा आगामी दिनमा व्यापारसँगै समाज सेवामा पनि सक्रिय हुने धारणा राख्छन् ।
त्यसैगरि सरोज खनाल नेपाली चलचित्र व्यवसायिक रुपमा सफल हुँदै गर्दा अभिनयमा प्रवेश गरेका थिए, अहिले उनी नयाँ शक्तिमा लागेका छन् । प्रारम्भकै कुशल नायकको छवि बनाएका खनाल परिवारको सुन्दर भविष्यका लागि भन्दै अमेरिका गएका थिए । अमेरिका गएपछि पनि उनले नेपालमा केही सामाजिक कामहरु गरे ।
बैशाख १२ मा आएको विनाशकारी भूकम्पमा नेपाल आएका खनाल त्यसपछि नेपालमै छन् । भूकम्प पीडितलाई सहयोग गर्ने अभियानमा पनि उनी सक्रिय भएर लागेका छन् ।
खनालका बारेमा आलोचना गर्नेहरुले भन्ने गरेका छन्-उर्जावान समय अमेरिकामा खर्च गरेर बुढ्यौली बिताउन नेपाल आए ।तर, खनाल यो भनाइमा सहमत छैनन् । आफुमा अझै उर्जा बाँकी रहेको धारणा राख्ने खनाल अबको समय समाजसेवामा सक्रिय हुने बताउँछन् ।
अभिनयमै दुई दशक बिताएकी करिश्मा मानन्धर अहिले पनि नयाँ पुस्ताका नायिकासँग प्रतिस्पर्धा गर्ने हैसियत राख्छिन् । एक सय बढी चलचित्रमा अभिनय गरेकी करिश्मा पनि केही वर्ष अमेरिका बसिन् ।
अमेरिका भन्दा नेपालकै जीवनशैलि प्यारो भन्दै नेपाल फर्किएकी करिश्मा अहिले चलचित्र निर्माण र अभिनयमा सक्रिय छिन् । आफुमा समाज सेवा गर्ने सोच रहेको र नयाँ शक्तिलाई समाज सेवाको एउटा फोरम बनाउन लागेको उनको भनाइ छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment