विख्यात गायक डेभिड वोवीको निधन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



विख्यात गायक डेभिड वोवीको निधन
लन्डन- बेलायतका विख्यात गायक डेभिड वोवीको क्यान्सरबाट सोमबार निधन भएको छ। डेभिडका फिल्म निर्देशक छोरा डंकन जोन्सले सामाजिक सञ्जालमा १८ महिनायता क्यान्सरसँग लड्दै आएका ६९ वर्षीय पिताले परिवारमाझ शान्तिपूर्वक अन्तिम श्वास फेरेको टि्वट गरेका छन्। उनले पिताको निधनबाट परिवार शोकाकुल भएको भन्दै दुःखका बेला निजताको सम्मान गर्न सबैसँग आग्रह गरेका छन्।
जीवनका अन्तिम वर्ष न्युयोर्कमा बिताइरहेका वोवीले जन्मदिनका अवसरमा गत शुक्रबार मात्र नयाँ गीतको एल्बम 'ब्ल्याकस्टार' सार्वजनिक गरेका थिए। सात वटा गीत समावेश 'ब्ल्याकस्टार'को समालोचकले निकै प्रशंसा गरेका थिए। केही वर्षयता उनको स्वास्थ्यस्थितिबारे विभिन्नखाले अनुमान लगाइँदै आएको थियो। सन् २००६ मा न्युयोर्क च्यारिटी कन्सर्टमा उनले अन्तिम लाइभ प्रस्तुति गरेका थिए।

डेभिडको निधनमा विश्वभरका अनेकौं व्यक्तित्वले श्रद्धान्जली व्यक्त गरेका छन्। बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले वोवीप्रति श्रद्धान्जली व्यक्त गर्दै आफू पप जिनियस वोवीका गीत सुन्दै र हेर्दै हुर्केको बताएका छन्। उनले वोवीको निधन गीतसंगीतका लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।

प्रसिद्ध पप गायीका म्याडोनाले आफ्नो जीवन नै परिवर्तन गरिदिने वोवीको निधनबाट आफू स्तब्ध भएको टि्वट गरेकी छन्। टि्वटरमा उनले वोवीलाई प्रतिभावान, अद्वितीय, जिनियस व्यक्तित्वका रुपमा उल्लेख गरेकी छन्।

बेलायतको विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले बिबिसीसँग वोवी महान संगीतकार भएको बताए। उनले वोवीको निधन अत्यन्त दुःखद रहेको भन्दै वोवीलाई सम्झनासाथ उनको गीत लाइफ अन मार्स आँखामा झल्झली आउने बताए।

६ दशक लामो सांगीतिक यात्रा गरेका वोवीको जन्म सन् १९४७ जनवरी ८ मा बेलायतको दक्षिणी लन्डनस्थित ब्रिक्सटनमा डेभिड जोन्सका रुपमा भएको थियो। उनले सन् १९६६ मा 'द मंकीज' हिट भएपछि नाम फेरेका थिए।

डेभिड सन् १९७२ मा 'द राइज एन्ड फल अफ जिग्गी स्टारडस्ट' 'द स्पाइडर फ्रम मार्स'बाट उनी सफलताको सगरमाथा उक्लेका थिए। उनका अनेकौं हिटमध्ये 'लेट्स डान्स', 'स्पेस अडिटी', 'हिरोज', 'अन्डरप्रेसर', 'लाइफ अन मार्स', 'स्टारम्यान', 'मोडर्न लभ', 'रिबेल' 'सफ्राजेट सिटी' केही हुन्।

बहुमुखि प्रतिभाशाली बोवीले ब्रोडवेमा नाटकमा समेत चरित्र निर्वाह गरेका थिए। उनले ब्रोडवेमा 'द एलिफेन्ट म्यान'मा अभिनय गर्नुका साथै विभिन्न फिल्ममा पनि अभिनय गरेका थिए। उनले 'मेरी क्रिसमस, मिस्टर लरेन्स', 'द स्नोम्यान', 'एब्सोल्युट बेगिनर्स' फिल्मका साथै विख्यात निर्देशक मार्टिन स्कोर्सिसको फिल्म 'द लास्ट टेम्टेसन अफ क्राइस्ट'मा पनि अभिनय गरेका थिए।

बोवीको प्रेमबारे अखबारमा निकै चर्चा हुने गरेको थियो। उनले सन् १९९२ मा सोमालियाकी मोडल इमानसँग लगनगाँठो कसेका थिए। सन् २००४ मा मुटुको आकस्मिक सल्यक्रिया गरेपछि उनी सार्वजनिक जीवनबाट टाढा बस्न थालेका थिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment