भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
माघ ३, २०७२- हरियाणाको गुढगाउँस्थित एक निजी निवासमा घरेलु कामदार रहेका गुल्मी, नयाँगाउँ–६ घर भएका केशव गमाल मगरले छिमेकीको गमला फुटाएको बहानामा पिटाइ खाएपछि आफू सुत्ने कोठामा गएर आत्महत्या गरेका छन् ।
२० वर्षीय केशवले घर मालिकको गाडी बाहिर निकाल्ने हुँदा ब्याक गर्ने क्रममा छिमेकीको दुइटा गमला फुटेका थिए । उच्च न्यायालयका वकिल रहेका छिमेकीले गमला फोरेको निहुँमा कुटपिट गरेलगत्तै शनिबार अपरान्ह साढे ३ बजे केशव आफ्नो कोठामा गएर छानोसँगैको बिममा गलबन्दीको पासो बनाएर झुन्डिएका थिए ।
डिएलएफ, फेज–१ मा सञ्चालित एक गेष्ट हाउसका प्रबन्धक जीवनाथ बिकका अनुसार डेढ महिनायता घरेलु काममा खटएका केशवले मासिक ६ हजार भारु तलब पाउँथे । बिकका अनुसार, केशवले काम गर्ने घर मालिकले पनि छिमेकीले आफ्नो कामदारलाई कुटपिट गरेकोमा तत्कालै आपत्ती जनाएका थिए ।
मृतक केशवका दाइले पनि केही महिनाअघि सडक दुर्घटनामा परेर हरियाणामा ज्यान गुमाएका थिए । उनकी आमा र भाइबहिनी गुल्मी गाउँमा ज्यालादारी काम गरेर जीवकोपार्जन गरिरहेका छन् ।
यो घटनाबारे नेपाली दुतावासमा पनि जानकारी गराइएको छ । नेपाली कामदारको अनाहकको मृत्यु घटनामा सरोकार राख्दै आवश्यक अनुसन्धान एवं कानूनी प्रकृयाको तदारुकताका लागि स्थानीय प्रहरी/प्रशासनमा दवाव दिन नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली संघ, प्रवासी नेपाली जनसमाजसहितका राजनीतिक भातृसंगठनका प्रतिनिधि गुढगाउँ पुगेका छन् ।
0 comments:
Post a Comment