भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
केही समय अगाडि मात्र अर्थमन्त्रालयका एक सचिवले सचिव पदको जागिर छोडेर अमेरिका हानिएको प्रसंगले नेपाल तातेको थियो।
तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीलाई अरू
देशको पिआर लिन कडाई गरेपछि राम्रै सरकारी ओहदामा रहेका धेरैले नेपालको
सरकारी जागिर छोडेर अमेरिका हानिए।
मन्त्री पण्डितले राम्रै नाम कमाए पनि तर यसैले नेपालको सचिवजस्तो उच्च
तहको जागिर समेत छोड्न तयार हुने तर ग्रिन कार्ड (स्थायी बसोबास अनुमतिपत्र
मात्र) छोड्न तयार नहुनेले नेपालको सरकारी जागिरप्रतिको विश्वनियताको
विषयमा पनि केही प्रश्न उठायो।
जे भएपनि यसले सन्देश भने धेरै दियो। कानूनी रुपमा सहज बाटो भएकालाई त
अमेरिका आउन कुनै ठूलो कुरा भएन तर केही दिन अगाडि करिब २५ लाख तिरेर २५
दिनमा अमेरिका आइपुगेकी एक नेपाली चेलीको कारुणीक समाचार आयो । यो समाचारले
हामी अमेरिकामा रहेका धेरै नेपालीको ध्यान तान्यो । उनीहरुले बाटोमा पाउने
दुःखको विषयमा हामीले नेपालमा भन्दा धेरै यहाँ सुनेका छौं ।
यसरी गैर कानूनी तरिकाबाट अमेरिका आउने एक प्रतिनिधि पात्र मात्र हुन् ती
नारी, आज पनि सयौं नेपाली दलाललाई लाखौं पैसा खुवाएर ज्यान जोखिममा राखेर
यहाँ आउन हतारिरहेका छन्। अमेरिकाको नाम सुन्ने वित्तिकै यहाँ आउन जे पनि
गर्न तम्सिने जमात नेपालमा अहिले प्रसस्त छन्। अझ देशको वर्तमान
परिस्थितिले त नेपालमा राम्रो ओहदामा रहेकाहरु पनि अमेरिकाको नाम सुन्ने
वित्तीकै यहाँ आउन हतारिन्छन् र जे पनि गर्न तैयार हुन्छन्।
हुन त विश्वकै ध्यान तान्ने शक्ति रहेको अमेरिकाको नाम सुन्ने वित्तिकै
लालायित हुनु हामी नेपालीको लागि खासै ठूलो आश्चर्यजन कुरा होईन। त्यसमाथि
डिभी बाहेक अमेरिका बस्न र काम गर्नैको लागि आउने अरू कुनै बाटो नहुँदा
नेपालीहरु लाखौं खर्च गरेर यहाँ आउने कोशिश गर्न बाध्य छन्। यसैको लागि
नेपालको गाउँ गाउँमा दलालहरु पुगेका छन् । नेपालीलाई निकै मिठो सपना बाडेर
सजिल्यै उनीहरुबाट पैसा असुलेर मान्छेको व्यापार गरिरहेका छन्।
यो जालमा पसेका नेपालीहरु दलालको कुरा विश्वास गर्नेबाहेक अरु सोच्दैनन्।
तर उनीहरुको लागि यहाँ आउने बाटो सजिलो छैन। पाइला पाइलामा ज्यान हत्केलामा
राखेर हिड्नुपर्छ। गाडीमा कोचिने, जंगलमा दौडिने, समुद्रमा डुंगामा
खाँदिने त गैरकानूनी रुपमा अमेरिका आउने बाटोमा भोगिने सामान्य नियती नै
हो। सबै पर्खाल पार गरेर अमेरिका छिर्ने बेलामा पनि ज्यान बच्छ नै भन्ने
कुने ग्यारेन्टी हुँदैन किनभने अमेरिका सरकारले अर्बौं डलर खर्च गरेर यसरी
आउने गैरकानूनी आप्रावासी रोख्ने अभियान नै चलाएको छ।
त्यहाँ रहेका कोस्ट गार्डले समाउन सके त ज्यान बच्छ तर उनीहरु सकेसम्म
समाउने भन्दा गोली हान्ने अवसरको खोजीमा हुन्छन्। हामी यहाँको स्थानीय
मिडियामा दैनिक यस्ता व्यक्ति मरेको समाचार सुनिरहेका हुन्छौं तर कागजपत्र
नहुँने हुँदा तिनीहरू नेपाली हुन् कि अरु कूनै पहिचान पाउन सकिँदैन ।
केही गरी यी सबै बाटो पार गरेर अमेरिका छिरेपनि गैर कानूनी रुपमा यहाँ आएका
व्यक्तिलाई अमेरिका भित्रको बसाइ सोचेको जस्तो सहज हुँदैन। एक त कागजपत्र
नभएका व्यक्तिलाई यहाँका अधिकांश कम्पनी, उद्योगले काम दिँदैनन् । अर्को
यहाँको बसाई निकै महंगो र खर्चिलो छ । केही गरी ग्यास स्टेशन तथा सामान्य
काम पाईयो भने पनि त्यो कामले खान र बसेको भाडा तिर्नै समस्या हुन्छ।
हामीले चार महिनाको अवधिमा यसरी लुकेर आएको र काम नपाएर छटपटिएका धेरै
नेपालीको विषयमा सुनेका छौं।
नेपालबाट आएर यहाँ गर्ने भनेकै होटल तथा ग्यास स्टेशन(नेपालको प्रेटोल
पम्प), साना फास्ट फुड पसललगायतमा हो। त्यसमा काम गरेर कमाएको महिनाको १
हजार, पन्ध्र सय डलरले यहाँ खान बस्नै पुग्दैन अनि अमेरिका भनेर नेपालमा ऋण
गरेर आउनेहरु लाखौं ऋणको गोलचक्करमा फस्छन् त्यहाँमाथि यहाँको कागजपत्र
बनाउनको लागि वकिल राखेर गर्ने कामको महंगी हामीले अनुमान नै गर्न
सक्दैनौं।
यति धेरै चूनौतीको बीचमा पनि दिनप्रतिदिन नेपालबाट मानव तस्करी नरोकिएको
समाचार सुन्दा दुःख लाग्छ। नेपालमा सबैभन्दा सजिलो व्यापारको रूपमा मानव
व्यापार फैलिँदै गएको छ। गरिब र बेरोजगारी नेपालीहरू किन्नको लागि सयौं
दलालहरु सक्रिय छन्। उनीहरुको उद्धेश्य पैसा लिने मात्र भएकोले कसैको
जिन्दगीको महत्वको कुरा पनि नआउन सक्छ।
यस्तो चक्करमा फसेर नेपालबाट आएका नेपालीहरुका कारूणीक कुरा सुन्दा सबै
नेपालीको मन दुख्नु कुनै ठूलो कुरा होईन। त्यसमाथि हामी यही बसेर यहीको
अवस्थाको विषयमा साक्षत नेपालीलाई यस्तो समाचारले धेरै नै दुःखि बनाउँछ।
गैर कानूनी रुपमा यहाँ आएर पाउने दुःख त छँदै छ तर कानूनी रुपमा आएका
हामीजस्ता नेपालीहरुको लागि अमेरिका सपनाको मात्र देश हो अर्थात जे सपनामा
देखिन्छ त्यो विपनामा कहिल्यै पुरा हुँदैन। अर्को अर्थमा भन्दा अमेरिका एक
दलदल नै हो । यहाँ फसेपछि उम्कनको लागि धेरै गाह्रो छ। धेरै नेपालीहरुले
अमेरिका आउने डिभी भरेर पर्यो भने संसारनै जितेजस्तो गर्छन् तर यहाँ
आएपछिको भोगाई एक हिसाबले निल्नु न ओकल्नुको छ। डिभी पर्नेहरुको लागि
सरकारले दिने स्थायी बसोबासको अनुमतिबाहेक अरू केही हुँदैन। यहाँ आउने, काम
खोज्ने, बस्ने ठाउँ खोज्ने सबै जिम्मा आफैंको हुन्छ। अझ अमेरिकामा भरपर्दो
आफन्त नहुनेहरूको लागि यो सबै काम महाभारत पर्वत उठाउनु बराबरको
चुनौतीपूर्ण कुरा हुन्छ। यि सबै चूनौती उठाउनुसँगै भाषाको कारण हुने
समस्याको विषयमा त यस अगाडि पनि धेरै कुराहरु सार्वजनिक भएकै छन्।
पढेलेखेका व्यक्तिबाहेक सामान्य व्यक्तिले अमेरिकामा आएर असामान्य काम
गर्नु भनेको एउटा पर्वत हत्केलाले उठाउनु नै हो । हातमा सीप भएकाहरुलाई पनि
भाषाको कारण भएको समस्याका उदाहरणहरु यहाँ धेरै छन् ।
अमेरिकामा के छ?
खासगरी भोग्दा भन्दा सुन्दा आनन्द आउने धेरै कुरा अमेरिकामा छ । यहाँको
सुन्दरता र सबै कार्य सम्पादन गर्ने राष्टिय प्रणाली अरु देशमा विरलै होला ।
यहाँका बासीन्दाले कुनै झन्झट विना समस्या तुरुन्तै समाधान गर्न सक्छन् ।
आधारभूत आवश्यकता राज्यको पहिलो प्राथमिकता हो । कुनै पनि जनता काम नपाएर
भोकै मर्नुपर्ने अवस्था आउँदैन तर काम गरेन भने खान पनि पाउँदैन अर्थात सबै
खर्चको बोझ उठाउन कुनै न कुनै काम गर्न यहाँ मानिसहरु बाध्य हुन्छन् जसले
धेरै अवसरहरुको सृजना गरेको छ । नेपालमा मानिसहरु एक जनाले कमाएर
पाँचजनासम्म पाल्नुपर्ने हुन्छ।
यहाँ प्रत्येकले आफ्नो लागि आफैं कमाउँछन् । २१ वर्ष (कतै १८ वर्ष) माथिका
सबैलाई काम गर्ने ढोका खुल्ला हुन्छ । यहाँ कुनै रोस्टुराँमा श्रीमान
श्रीमती, बाबु छोरासँगै खान गए भने पनि आ आफ्नो विल आफैं तिर्नेहरु धेरै
हुँछन् । करिब चार महिनाको अमेरिका बसाईमा हामीले अमेरिका नेपालमा नभएको
धेरै कुरा पाएका छौं तर यहाँ नभएका लाखौं कुराहरु नेपालमा छन् ।
यहाँ कानूनभन्दा ठूलो केही छैन । प्रत्येक व्यक्ति कानूनको दायरामा बस्नै
पर्छ। हुन त नेपालमा पनि कानून भन्दा ठूलो केही छैन तर नेपालको कानून
पालनाको विषयमा हामी सबै विज्ञ नै छौं । कानूनले नछुने जुनकुनै काम गर्न
यहाँ छुट छ अर्थात कानूनको अधिनमा सबै व्यक्ति स्वतन्त्र छन् । यो
स्वतन्त्रतालाई यहाँका बासिन्दाले भरपुर उपभोग गर्न सक्छन् । यहाँ पाईने
क्रेडिट सुविधा र अरु सुविधाले गर्दा पाएसम्मको जतिपनि क्रेडिट लिने
नेपालीहरु धेरै छन् जसले दिनभरी कमाएर साँझ क्रेडिटकार्ड र अरु विल तिर्दा
ठिक्क हुँने हुँदा यहाँ धेरै उधारोका सुविधाहरुले धेरैको निद्रा हराउने
हुन्छ।
ढोकैमा पाईने धेरै सुविधाले यहाँ कमाएको जतिपनि पैसा यहाँ खर्च गर्न
प्रर्याप्त हुन्छ। जसले कमाएर बचाउने कुरा आकाशको फल टिप्नु बराबरको हुन्छ।
तर पनि यहाँको विकास, यहाँको सुविधाले सबैलाई लोभ लगाउँछ। यो सबै जनताको
सहनशिलता र सरकारले विकासे नीतिले मात्र संभव भएको हो।
नेपालमै छ धेरै कुरा
अमेरिका नभएका धेरै कुराहरु नेपालमा छन् । खासगरी अमेरिकामा परिवार बाहेक
समाज हुँदैन। सँगै घरमा बस्ने एक व्यक्ति अर्को छिमेकीसँग बोल्न डराउँछ।
नेपालमा छिनभरमा टोलभरका व्यक्ति छिमेकी हुन्छन्, सुःख दुःखमा काँधमा काँध
मिलाएर सहयोगमा तम्सिन्छन्।
भुकम्पको बेला यस्तो धेरै उदाहरणीय छिमेकीहरु हामीले भोगेका छौं जसको जति
प्रशंसा गरेपनि थोरै हुन्छ। यहाँ दुःखमा छिमेकीभन्दा पहिले प्रहरी आइपुग्छ ।
नेपालमा जस्तो व्यस्थित परिवारको आनन्द पनि नेपालमा मात्र हुन्छ। कसै
कसैले त परिवारलाई पनि महिनौंसम्म समय दिन सक्दैनन्। दिनभरी काम गरेर
रातभरी, विहानभरी परिवारसँग विताउन पाउने लोभलाग्दो जिन्दगी नेपालमा मात्रै
हुन्छ। यहाँ एकले दिनमा काम गर्दा अर्कोको काम रातिमा हुनसक्छ जसले परिवार
भित्रमै अपरिचित बनाउँदै लगिरहेको हुन्छ।
काममा दिनभरी जोतिने र त्यसले खानपनि नपुग्ने अमेरिकाको बसाई एक हिसाबले
खाडीको भन्दा पनि खत्तम भन्दा पनि फरक पर्दैन। दुःख विराम जे भएपनि काममा
जानै पर्ने र काम नगरेर खान नपुग्ने बाध्यताले नयाँ आउने नयाँ व्यक्तिलाई
क्षण क्षणमा बिझाईरहेको हुन्छ, तर यहाँको सबैमा सबै कामप्रतिको सम्मानजनक
व्यवहारले जे काम गरेपनि गर्व महसुस हुन्छ।
नेपालमा पढेलेखेकोले सामान्य काम गर्दा समाजभरी गिज्याउने बढी हुन्छन्, काम
भन्दा कुरा काट्ने धेरै हुन्छ जसले वेरोजगारी बढाउन प्रोत्साहन दिईरहेको छ
। यहाँको कामप्रतिको सम्मान भने लोभलाग्दो नै छ । अर्को कुरा कामलाई
सबैभन्दा पहिलो स्थानमा राख्ने अमेरिकी संस्कारको विकास नेपालमा गर्न सकियो
भने नेपालमै सबै रोजगारीको सृजना हुनसक्छ। जे गरेपनि काम गर भन्ने
मान्यताको मात्र विकास नेपालमा गरियो भने नेपालमा अहिले भएको धेरै समस्या
समाधान सम्भव छ।
जब व्यक्ति व्यस्त हुन्छ उसले राजनीति, आन्दोलन र अरु अपराधिक काममा समय
दिन सक्दैन यसले धेरै राज्यको समस्याको हल हुनसक्छ। राज्यले पनि जनताबाट कर
लिएर तलब खाने र मन्त्री, पूर्वमन्त्री, सरकारी अधिकारीहरुलाई सुविधा दिने
बाहेक करको उदेश्य अनुसार काम गर्न सकेको छैन। जसले जनतामा कर
भन्नेवित्तीकै साँधुलाई दिने दान हो भन्ने भावना पैदा भएको छ। यहाँ कर
भनेपछि मानिस गर्वको साथ पैसा तिर्न तयार हुन्छन्। अमेरिका कुनै व्यक्तिले १
सय डलरको सामान किन्दा कम्तिमा ६ डलर सरकारलाई कर तिर्छ, नेपालमा १ सय
डलरको सामान किनियो भने सामान अनुसार कम्तीमा १३ देखि ३५ डलरसम्म कर तिरेको
हुन्छ तर पनि अमेरिका ६ डलर तिर्दाको विकास र नेपालमा १३ डलर तिर्दाको
विकास दाज्न पनि नसकिने छ।
सरकारले जुन उदेश्यको लागि कर लिएको हो त्यो त्यही उदेश्यमा खर्च गर्यो भने
जनताको पैसाबाटै विकास सम्भव छ। यसले नेपालमै अमेरिका देख्नेहरुको विकास
गर्न सकिन्छ । जसले अमेरिका भनेपछि जिउ धनको माया मार्नेहरुलाई केही हदसम्म
भनेपनि रोक्न सकिन्थ्यो कि ?
0 comments:
Post a Comment