२० लाख पर्यटक भित्र्याए २५ लाखलाई रोजगारीः खतिवडा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले वार्षिक २० लाख पर्यटक नेपालमा भित्र्याउन सके २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताएका छन् ।
हाल ४० लाख नेपाली युवाहरु कामको शिलशिलामा विदेशमा रहेकाले त्यो जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको बताए । यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती जरुरी रहेको उनको भनाई छ ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेलाको मंगलबार समापन गर्दै उपाध्यक्ष डा. खतिवडाले यी दुई विमानस्थलको काम छिटो सम्पन्न गर्न सके आफूले सोंचेको योजना पूरा हुने दावी गरे ।
समयमै विमानस्थलको काम सकिए वार्षिक १० लाख पर्यटक चाइनाबाट, ५ लाख भारतबाट र बांकी ५ लाख तेस्रो मुलुकबाट भित्र्याउन सकिने र नेपाल आएका २० लाख पर्यटकबाट २० देखि २५ लाख नेपाली युवाले स्वदेशमै पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर पाउने उनको भनाई थियो ।
मुलुकको आर्थिक विकास र उन्नतीका लागि प्रविधिलाई उन्नत बनाउँदै उद्यमशीलताको विकास गर्नुपर्नेमा डा. खतिवडाले जोड दिए ।‘पुंजी, प्रविधि र बजारलाई परिचालन गर्न उद्यमशीलता चाहिन्छ र वर्षेनी आयोजना गरिने यस्ता मेलाबाट उद्यमी तयार गर्न सक्नुपर्छ’, उनले भने ।
उपाध्यक्ष खतिवडाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि ग्रेटर लुम्बिनीको परिकल्पना गरिएको र बुद्धसंग सम्बन्धित क्षेत्रलाई यहि सर्किटभित्र राखेर विकास गर्ने योजना सुनाउँदै यसका लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा आउनुपर्ने धारणा राखे।
उनले बृहत्तर लुम्बिनीको विकासले एकीकृत पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै सार्वजनिक निजी साझेदारीको अवधारणामा अगाडि बढे सरकारी र निजी क्षेत्रले परिकल्पना गरेको आर्थिक विकासको सपना पूरा गर्न सकिने बताए।
बुटवलमा स्थायी मेलास्थलका लागि व्यवसायीक योजना पेश गर्न आग्रह गर्दै ठोस योजनाका साथ आए आफू त्यसमा सहयोग गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य नजीर मिया, एमाओवादीका केन्द्रीय सदस्य माधव शर्मा, राष्ट्रिय जनमोर्चाका कृष्णबम मल्ल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख ध्रुवबहादुर खडका, पूर्वमेयर पुनाराम पोखरेललगायतले कठीन परिस्थितिका बीच मेला आयोजना गरेर आर्थिक विकासमा टेवा पुर्‍याएकोमा आयोजकलाई धन्यवाद दिए।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी लगायतले बुटवल मण्डपमा स्थायी संरचना नहुँदा मेला महोत्सवका लागि अस्थायी संरचनाहरू बनाउन र भत्काउनमा  वर्षेनी करिब ५० लाख रूपैयाँका दरले  खर्च भैरहेकाले यथाशीघ्र बुटवल मण्डपको गुरुयोजना बनाएर स्थायी संरचनाहरू बनाउनुपर्ने माग गरे। स्थायी संरचना बनेपछि मेला महोत्सवहरुलाई विशिष्टीकृत बनाउन सकिने, अन्तरराष्ट्रिय स्टलहरुको सहभागिता बढ्ने र दर्शकहरूले सुविधा पाउनेमा जोड दिए।
त्यस अवसरमा मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल, महासचिव डिल्लीराज भण्डारी, संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, निवर्तमान अध्यक्ष टंक पोखरेल, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, अन्य उद्योगी व्यवसायीहरु महादेव पोखरेल, खिमनारायण श्रेष्ठ, खिमबहादुर हमाल, दिनेशराज रेग्मी लगायतले आर्थिक क्षेत्रका विभिन्न विषयहरु राखेका थिए।
लुम्बिनी एक्स्पोमा ३६ करोडको आर्थिक कारोबार
रुपन्देही व्यापार संघको मुख्यि आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेला ३६ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै मंगलबार समापन भएको छ। 
मुलुकका विभिन्न स्थानका मेला/महोत्सवहरु स्थगित भएको अवस्थामा १४ दिनसम्म सञ्चालन भएको यो मेलामा लक्ष्य भन्दा बढी ३६ करोड रुपैयाँको आर्थिक कारोबार भएको र ६ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाए ।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने नाराका साथ पुस ८ गतेदेखि सञ्चालन भएको मेलामा भारत, चीन, पाकिस्तान र बंगलादेशका ३० विदेशी सहित नेपालका औद्योगिक उत्पादन, कृषिजन्य, रेष्टुरां, गार्मेन्ट, जुत्ता÷चप्पल, अटो मोबाइल्स, सूचना प्रविधि, बैंक लगायतका ६ सय स्टल सहभागि भएका थिए ।
मेला समापनका अवसरमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिएको छ । स्वदेशी उद्योगतर्फ बुटवल स्टील फर्निचर उद्योग, घरेलु उद्योगतर्फ पाल्पा मदनपोखरा ढाका उद्योग, हस्तकलातर्फ नेपाल फर्निसिङ क्राफ्ट, अटोमोबाइल्सतर्फ लोक शुशिला अटो कन्सर्न बुटवल, कृषितर्फ बिजी ग्रुप गुल्मी, महिला उद्यमीतर्फ उपहार सामाजिक उद्यमी महिला सहकारी रुपन्देही तथा अन्तर्राष्ट्रियतर्फ बुद्ध पावर बुटवल र पार्ट किचन वेयर पाकिस्तान उत्कृष्ट स्टलका रुपमा पुरस्कृत भएका छन् ।
उनीहरुलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले प्रसंशापत्र प्रदान गरेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment