छिटो अर्धशतकको प्रतिस्पर्धा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २६, २०७२- मार्टिन गुप्टिल र कोलिन मुनरोले विस्फोटक ब्याटिङ प्रदर्शन गरेपछि न्युजिल्यान्डले आइतबार दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ ।
विजयी छक्का प्रहार गरेका मुनरोले १४ बलमा नटआउट ५० रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा बनाइएको यो दोस्रो छिटो अर्धशतक हो । भारतका युवराज सिंहको नाममा सन् २००७ मा इंग्ल्यान्डविरुद्व १२ बलमा सबैभन्दा छिटो अर्धशतक बनाएको कीर्तिमान छ ।
न्युजिल्यान्डका खेलाडीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो सबैभन्दा छिटो अर्धशतक पनि हो । मुनरोले भन्दा २० मिनेट अगाडिमात्र गुप्टिलले १९ बलमा अर्धशतक बनाएर यो कीर्तिमान राखेका थिए । गुप्टिल आउट हुने एक्लो खेलाडी थिए । उनले २५ बलमा ६ चौका र ५ छक्का प्रहार गरी ६३ रन बनाए ।
गुप्टिल आउट हुँदा न्युजिल्यान्डलाई खेल जित्न ५४ रन आवश्यक थियो । त्यसपछि घरेलु टिमले जोडेको ५८ रनमा मुनरोले एक्लै ५० रन बनाएका हुन् । मुनरोले ७ छक्का र १ चौका प्रहार गरेपछि न्युजिल्यान्डले १ सय ४३ रनको लक्ष्य १० ओभर अगाडि पूरा गर्‍यो । कप्तान केन विलियम्सन २१ बलमा ३ चौका प्रहार गरी ३२ रनमा नटआउट रहे । न्युजिल्यान्डले पहिलो ५० रन २२ बलमा र एक सय रन ४३ बलमा पूरा गरेको थियो ।
विजयसँगै न्युजिल्यान्डले शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ । न्युजिल्यान्डले टेस्ट र एकदिवसीय शृंखला पनि ३–१ ले जितेको थियो । पराजयपछि श्रीलंका ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरीयतामा पहिलोबाट वेस्ट–इन्डिज र अस्ट्रेलियामुनि तेस्रो स्थानमा झरेको छ ।
शृंखलाभरि श्रीलंकाको शीर्ष पंक्तिका ब्याट्सम्यान चल्न नसक्नु एउटै समस्या थियो । आइतबार पनि त्यही दोहोरिएको थियो । एन्जेलो म्याथ्युजले नटआउट ८१ रन बनाए पनि श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४२ रनमात्र बनाउन सक्यो । ट्वान्टी–२० मा म्याथ्युजको यो उच्च स्कोर हो । पाँच वर्षअघि इंग्ल्यान्डविरुद्ध ५८ रन बनाउनु म्याथ्युजको यसअघिको उच्च स्कोर हो ।
श्रीलंकाबाट म्याथ्युजबाहेक दोहोरो अंक बनाउनेमा तिलकरत्ने दिल्सानमात्र थिए । उनले २८ रन बनाए । यी दुई ब्याट्सम्यानको वरिपरि श्रीलंकाको विकेट झरिरह्यो । म्याथ्युजले ४९ बलको सामना गरी ७ चौका र ४ छक्का प्रहार गरे । ‘हामीले धेरै खराब ब्याटिङ गर्‍यौं,’ श्रीलंकाका कप्तान दिनेश चन्डिमलले भने, ‘म्याथ्युजको प्रदर्शनले मात्र हामी सम्मान स्कोरमा पुगेका हौं, तर अन्तमा भन्नुपर्दा हामीले जसरी खेल्यौं, त्यो निराशाजनक थियो ।’
न्युजिल्यान्डका ग्रान्ट इलियटले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिई श्रीलंकालाई धराशायी पारे । इडेन पार्कमा एडम मिल्न र मिचेल सान्टनरले २–२ विकेट लिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment