चीनले अनुदानमा दिएका इन्डक्सन चुलोको मूल्य ११ हजार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको इन्डक्सन चुलोको मूल्य सरदर ११ हजार रुपैयाँ पर्ने भएको छ। नेपाली बजारमै चारदेखि पाँच हजार रुपैयाँमा राम्रै खालको इन्डक्सन चुलो पाइन थालेपछि चीनबाट अनुदानमा ल्याइएका चुलोलाई कति मूल्यमा बेच्ने भन्नेबारेमा सरकार समस्यामा परेको छ।
सरकारले तोकेको भन्दा झन्डै आधा कम मूल्यमा बजारमा चुलो उपलब्ध हुन थालेपछि चीनबाट ल्याइएका इन्डक्सन चुलो बिक्री नहुने देखिएपछि सरकार समस्यामा परेको हो।  चीन सरकाले दोस्रो पटक उपलब्ध गराएका १० हजारवटा इन्डक्सन चुलो अहिले नेशनल साल्ट टेड्रिङमा खिया नै लाग्ने गरी थन्किएका छन्।
चीनले ५ हजार मिलियन अर्थात ५० लाख आरएबीमा १० हजारवटा इन्डक्सन चुलो नेपाल सरकारलाई उपलब्ध गराएको हो। ५० लाख आरएमबीको करिव नेपाली सरदर ८ करोड ५० लाख हुन आउँछ। चीनले अनुदानमा उपलब्ध गराएका इन्डक्सन चुलाको मूल्य नेपाल सरकारको भन्सार शुल्क र भ्याट बाहेक नै सरदर प्रतिगोटा ८ हजार ५ रुपैयाँ पर्न आउँछ। चीनबाट आएका इन्डक्सन चुलोमा १५ प्रतिशत भन्सार कर र भ्याटसहितको मूल्य जोड्ने हो भने प्रति इन्डक्सन चुलोको मूल्य ११ हजार रुपैयाँ पर्न आउँछ।
तर बाहिर बजारमा भने भन्सार र भ्याटसहित नै ल्याइएका इन्डक्सन चुलो ४ देखि ५ हजार रुपैयाँमा पाइन्छ। भारतीय नाकाबन्दीपछि नेपालमा ग्यासको चरम अभाव भएको भन्दै आपूर्ति मन्त्रालयले चीन सरकारसँग इन्डक्सन चुलो पठाइदिन आग्रह थियो।
नेपाल सरकारको आग्रहपछि चीनले नेपाललाई वर्षेनी उपलब्ध गराउँदै आएको अनुदान रकमबाटै कटौती हुने गरी १० हजार इन्डक्सन चुलो नेपाल पठाइदिएको थियो। मन्त्रालयले चीनले पठाएको इन्डक्सन चुलो त्रिभुवन विमानस्थल आइपुगेपछि नेशनल साल्ट टेड्रिङलाई रिसिभ गर्न लगाएको थियो।
चीनबाट आएका इन्डक्सन चुलोको मूल्य नेपाली बजारमा उपलब्ध भएको भन्दा महंगो परेकाले चुलो बेच्न सक्ने अवस्थामा नरहेको भन्दै मन्त्रालयले  अर्थ मन्त्रालयलाई रकम कसरी मूल्य समायोजन गर्न सकिन्छ भन्नेबारे राय माग्दै पत्रचार गरको छ। अहिले मन्त्रालय अर्थ मन्त्रालयको पत्रको पर्खाइमा छ।
तर मन्त्रालयको उच्च स्रोतका अनुसार ११ हजार रुपैयाँमा  कुनै पनि हालतमा चुलो बिक्री हुन नसक्ने भएकाले सरकारले ५० प्रतिशतभन्दा बढी अनुदानमा बेच्ने स्वीकृति दिए बिक्री हुने सक्नेछ। मन्त्रालयले अनुदान रकममा कटौती नहुने गरी सहयोग मागेको भएपनि चीनले अनुदान रकमबाटै कटौती हुने गरी इन्डक्सन चुलो उपलब्ध गराएपछि समस्या उत्पन्न भएको स्रोतको भनाई छ। पछिल्लो समय खाना पकाउने एलपी ग्यास विस्तारै सहज हुँदै गएपछि चीनबाट ल्याइएका इन्डक्सन चुलो कति मूल्यमा कसरी बेच्ने भन्ने समस्यामा आपूर्ति मन्त्रालय परेको स्रोतको भनाई छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment