कसैले होहल्ला गर्दैमा सीमांकन चलाउन मिल्दैनः नेपाल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'महेन्द्रको प्रशंसा गर्न किन अप्ठेरो मान्ने ?'

१९ माघ, काठमाडौं । एमाले नेता माधवकुमार नेपालले जनताको भावना विपरित सीमांकन संशोधन गर्न नसकिने बताएका छन् । आन्दोलनका नाममा केहि मान्छेले होहल्ला र तोडफोड गर्दैमा त्यसको पछाडि कुद्न नहुने उनको भनाइ छ ।
मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले स्थानीय जनताको भावना बुझेर मात्रै सीमा हेरफेर गर्न सकिने धारणा राखे । चुनावमा जनताबाट तिरस्कृत दलहरुले जे माग्यो त्यहि दिन नसकिने पनि उनले प्रष्ट पारे ।
जनादेश ठूलो कि मतादेश ठूलो भन्ने खालका बहसहरु आफूले सुनेको र पढेको उल्लेख गर्दै एमाले नेता नेपालले भने-‘जनादेशलाई मतादेशले स्थापित गर्नैपर्छ । मतादेश नभएकाहरुले जनादेशका नाममा लाठी उठाए वा होहल्ला गरे भन्दैमा उनीहरुका सबै माग पुरा गर्न सकिदैन । हामीले मतादेशलाई नै मान्ने हो ।’ चुनावमा मत ल्याउन नसक्नेले धेरै फुर्ति नदेखाउन पनि नेता नेपालले आग्रह गरे ।
विखण्डनकारीप्रति सचेत बन्न आग्रह
देशका विभिन्न कुनामा राष्ट्रियता र अखण्डताविरोधी क्रियाकलापहरु भइरहेको उल्लेख गर्दै उनले यसप्रति चनाखो रहन आग्रह गरे । अखण्डताविरोधीहरुले नेपालको इतिहासका विषयमा जनतामा भ्रम छर्दै हिँडेकाले जनतालाई बहकिन नदिन इतिहास बुझाउनुपर्ने आवश्यक उनले औंल्याए ।
‘उनीहरुले कस्ता किताब र डिभिडी बाँडेर युवाहरुलाई भड्काइरहेका छन्, खोजी गरौं’ नेपालेले भने-‘इतिहासको अपब्याख्या गर्ने र देशप्रति दुर्भावना फैलाउन खोज्नेहरुलाई पाठ सिकाऔं ।’ उनले इतिहासलाई माइनस गर्ने वा इतिहासमै रुमल्लिएर बस्ने प्रवृत्ति वेठिक भएको औंल्याए ।
‘तराई सँधै अभिन्न अंग हो । यो कहिल्यै नेपालबाट अलग छैन’ उनले भने, ‘तर अहिले दुई राष्ट्रको कुरा आएको छ । तराई र पहाडलाई अलग देशका रुपमा व्याख्या गर्ने कुरा आएको छ । यो चिन्ताको विषय हो ।’
नेपालले नेपालमा कुनै जातिविशेषको प्रभूत्व नरहेको पनि बताए । यद्यपि ठूलो जात र सानो जातका नाममा जातीय शोषणका अवशेषहरु अझै विद्यमान रहेको उनको भनाइ थियो । ‘तर, त्यसका नाममा कतिपयले खस जातिको मानमर्दन गर्न खोजेका छन् । त्यसको हामीले जबरजस्त खण्डन गर्नुपर्छ,’ उनले भने ।
पछिल्लो समय देशका कम्युनिस्टहरु पनि वर्गीय मुद्दा छाडेर जातीय मुद्दाका पछि कुद्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । नेता नेपालले संविधान कार्यान्वयनको सिलसिलामा सबैभन्दा पहिलो काम स्थानीय चुनाव सम्पन्न गर्नु रहेको बताए ।
पृथ्वीनारायण शाह र महेन्द्रको प्रशंसा
नेता नेपालले पृथ्वीनारायण शाह र महेन्द्रको उचित मूल्यांकन हुन नसकेको औंल्याए । उनले भने-‘हजारौं वर्ष पहिले नेपाल राष्ट्रको आकार यस्तै थियो । तर, विभिन्न कारणले छिन्नभिन्न भयो । त्यसलाई एकतावद्ध बनाउने काम पृथ्वीनारायण शाहबाट भएको हो । तर, उनले खेलेको यस्तो भूमिकालाई स्वीकार गर्न हामी मानिरहेका छैनौं ।’
उनले अघि भने-‘पृथ्वीनारायण शाहको विषयमा भ्रमको खेति गर्ने काम भएको छ । उनले कीर्तिपुरवासीको नाक काटेर तराजुमा जोख्दा यति धार्नी भयो भनेर एक जना ब्रिटिश इतिहासकारले लेखिदिए र कतिपय मानिसहरु त्यसैका पछि कुदेका छन् । यस्ता दुष्प्रचारहरुबारे जनतालाई प्रष्ट पार्नु पनि हाम्रो दायित्व हो ।’
राजा महेन्द्रको पनि नेपालले सकारात्मक चर्चा गरे । उनले भने-‘हो, प्रजातन्त्रको सबालमा महेन्द्रले गलत कदम उठाएका हुन् । तर, राष्ट्रियताको विषयमा उनको योगदानको उचित मूल्यांकन हुनुपर्छ । नेपालको राष्ट्रियतालाई संरक्षण र संवर्द्धन गर्न उनले खेलेको भूमिकालाई अवमूल्यन गर्नु हुँदैन । म मरे पनि मेरो देश बाँचिरहोस… भन्ने अभिव्यक्तिबाटै उनको राष्ट्रभक्ति झल्किन्छ । राम्रो कुरालाई राम्रो भन्ने आँट हामीले गर्नुपर्छ ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment